संसदीय दलको अन्तिम बैठकमा ओलीको निर्देशन : ४ मंसिरमा चामत्कारिक उपलब्धि हासिल गर्ने गरी लाग्नुस्

शनिबार, १ असोज, २०७९
डिजिटल संस्करण

एमाले अध्यक्ष केपी ओलीले ४ मंसिरको प्रदेश एवं प्रतिनिधिसभा निर्वाचनमा चामत्कारिक उपलब्धि हासिल गर्ने गरी कार्यक्षेत्रमा खटिन पार्टीका सांसदलाई निर्देशन दिएका छन् । संसद् भनव नयाँ बानेश्वरमा शुक्रबार बसेको संसदीय दलको अन्तिम बैठकमा ओलीले शनिबारबाट संसद्को कार्यकाल सकिने भएकाले आ–आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित हुन निर्देश गरे ।

‘मंसिर ४ को निर्वाचन आइरहेको छ, त्यो निर्वाचनमा एमालेले चमत्कार गर्नुपर्छ,’ ओलीलाई उद्धृत गर्दै राष्ट्रिय सभामा एमालेका प्रमुख सचेतक खिमलाल भट्टराईले भने, ‘चामत्कारिक उपलब्धि हासिल गर्ने गरी पार्टीलाई बहुमतमा पुर्याउन आ–आफ्नो क्षेत्रमा खटिनुस् ।’

२ असोजमा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने अघिल्लो दिनबाट प्रतिनिधिसभाको कार्यकाल सकिने भएपछि एमालेले अन्तिम संसदीय दलको बैठक बोलाएर कार्यकालको समीक्षा गरेको हो । ओलीले पाँचवर्षे कार्यकालमा संसद्मा खेलेको महत्वपूर्ण भूमिकाका लागि सम्पूर्ण सांसदहरूलाई धन्यवाद दिए । 

जनताले एमालेलाई चुनाव जिताएर बहुमतको सरकार बनाउने उत्कट चाहना राखेको हुनाले जनताको आवाजलाई सम्मान गर्दै गाउँगाउँ पुगेर पार्टी निर्माण र निर्वाचन जित्ने योजना बनाउन पनि ओलीले निर्देशन दिए । त्यस्तै, सरकारमा रहँदा गरेका काम, संसद्मा एमालेले खेलेको भूमिका, पार्टीका दृष्टिकोण लिएर जनताका बीचमा जाने र टिकट आफूले पाउँदा जित्ने र अरूले पाउँदा जिताउने काममा क्रियाशील हुन समेत ओलीले निर्देशन दिएका थिए ।

See More On

सुझावित समाचार