संवेदनशील आणविक दस्ताबेजमाथि ट्रम्पको खेलबाड

ट्रम्पले अति गोप्य दस्ताबेज घरमा राखेर आणविक गोपनीयतामाथि गरेको लापरबाही अमेरिका र विश्वव्यापी सुरक्षाप्रतिको गम्भीर खोलबाड हो

शुक्रबार, ३१ भदौ, २०७९
डिजिटल संस्करण

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको लापरबाहीपूर्ण व्यवहारले विश्वमा कतिको खतरा सिर्जना गरेको छ ? उनले अमेरिका वा विश्वको सुरक्षामा के–कस्तो क्षति पु¥याएका हुन सक्छन् भन्ने महत्वपूर्ण विषय हो । यसको सम्भावित दुष्परिणाम ठूलो हुन सक्छ । गत महिना एफबिआईका एजेन्टहरूले ट्रम्पको फ्लोरिडास्थित घर मार–ए–लागोमा खानतलासी गर्दा ११ थान गोप्य सामग्री फेला पारेका समाचार सार्वजनिक भएपछि अधिकांश ध्यान ट्रम्पले अब सामना गर्नुपर्ने कानुनी झमेलामा केन्द्रित भएको छ ।

वासिंगटन पोस्टको पछिल्लो रिपोर्टअनुसार ट्रम्पले अन्य देशको आणविक क्षमताबारे उल्लिखित अति गोग्य दस्ताबेज अनधिकृत रूपमा आफैँसँग राखेका थिए । ट्रम्पले गरेको गोप्य दस्ताबेजको दुरुपयोगले अमेरिकाका लागि मात्र नभई अन्य देश र सम्भवतः विश्वकै लागि समेत जोखिम सिर्जना गरेको छ । सबैखाले हतियार प्रणालीमा आणविक कार्यक्रम सबैभन्दा संवेदनशील मानिन्छन् । यस्तो सूचना अमेरिकाको मित्रशक्तिको होस् वा शत्रुराष्ट्रको, ट्रम्पले आणविक गोपनीयताको सुरक्षामाथि गरेको यस खेलबाडले अमेरिकी र विश्वव्यापी सुरक्षाप्रतिको सबैभन्दा लापरबाहपूर्ण उपेक्षालाई नै देखाउँछ । हामीलाई थाहा छैन, मार–ए–लागोबाट एफबिआईले जफत गरेका ती संवेदनशील दस्ताबेज अरू कसैले हेर्यो कि हेरेन । तर, गोप्य आणविक दस्ताबेज आफ्नो फ्लोरिडास्थित आवासमा राखेर उनले अरूलाई यो जानकारीमा पहुँच सजिलो बनाइदिएका थिए । उनले विश्वकै सबैभन्दा शक्तिशाली हतियार प्रणालीसँग सम्बन्धित अमेरिकी सुरक्षा जोखिमलाई खतरामा पार्ने काम गरेका छन् ।

त्यो दस्ताबेजले कुन देशको आणविक कार्यक्रमलाई उल्लेख गरेको थियो भन्ने पनि अज्ञात छ । यदि यो जानकारी अमेरिकाका सहयोगी मुलुकसँग सम्बन्धित रहेछ भने त्यसले उनीहरूको सुरक्षालाई पनि खतरामा पार्न सक्छ । यो अमेरिकाको शत्रुबारेको दस्ताबेज हो भने पनि त्यसले अमेरिकी रणनीतिलाई खुलासा गर्नेछ र अमेरिकाका शत्रुहरूलाई उपयोगी जानकारी उपलब्ध गराउनेछ । ट्रम्पले महिनौँसम्म अनुरोधलाई अटेर गरेर पछि कानुनअनुसार राष्ट्रिय अभिलेखालयमा पठाउनुपर्ने सबै कागजात पठाएको भनेका थिए । सबैभन्दा नाटकीय क्षण तब आयो, जब ८ अगस्टमा एफबिआईका एजेन्टहरू मार–ए–लागोबाट फाइलाका बाक्साहरू बोकेर बाहिरिँदै गरेको देखा परे । एफबिआईले फेला पारेका सामग्रीमध्ये एउटा विदेशी सरकारको आणविक क्षमतालगायत सैन्य प्रतिरक्षाको वर्णन गर्ने दस्ताबेज पनि भएको पोस्टले लेखेको छ ।

यसबाहेक, पोस्टका अनुसार एफबिआईले मार–ए–लागोबाट‘अति गोप्य अमेरिकी अपरेसन्स’ उल्लेख अति संवेदनशील दस्ताबेजहरू बरामद गरेको छ । यी सामग्रीलाई अति नै गोपनीयतासाथ मात्रै हेर्न सकिन्छ । जानकारीहरूलाई सुरक्षित राख्न विशेष रूपले डिजाइन गरिएको सेन्सेटिभ कम्पार्टमेन्ट इन्फर्मेसन फ्यासिलिटी (एससिआइएपी) ले यसको संवेदनशीलतालाई देखाउँछ । अत्यन्त गोप्य कागजात हेर्नेसम्बन्धी व्यवस्था स्पेसल–एक्सेस कार्यक्रमअन्तर्गत त्यस्ता दस्ताबेज अमेरिकी राष्ट्रपति र केही शीर्ष सैन्य तथा गुप्तचर अधिकारीले मात्र हेर्न सक्छन् । 

ट्रम्पले अति गोप्य दस्ताबेज घरमा राखेर आणविक गोपनीयतामाथि गरेको लापरबाही अमेरिका र विश्वव्यापी सुरक्षाप्रतिको गम्भीर खोलबाड हो
 

हामीले थाहा पाइसकेका छौँ, ट्रम्पले तीन सयभन्दा बढी गोप्य कागजात धेरै आगन्तुक र परिवारका सदस्यहरू आइरहने निजी घरमा राखेका थिए । आवासका अतिरिक्त रिसोर्ट पनि रहेको मार–ए–लागोमा विदशी घुसपैठिया पनि पक्राउ परेका थिए । केहीले घुसपैठको प्रयास गरेका थिए । कुनै पनि सामान्य क्षमताको विदेशी गुप्तचर सेवाले मार–ए–लागोमा पहुँच प्राप्त गरेको हुन सक्ने विश्वास गर्नु गलत छैन ।

मार–ए–लागो अनुसन्धानबारे जानकार अज्ञात व्यक्तिहरूलाई उद्धृत गरेको पोस्टको रिपोर्ट सही साबित भयो भने यी आणविक दस्ताबेजमा गरिएको लापरबाहीले अथाह जोखिम बढाउनेछ । जब द वासिंगटन पोस्टले एक महिनाअघि एफबिआईले आणविक हतियारसम्बन्धी दस्ताबेजबारे जानकारी खोजिरहेको समाचार लेख्यो, ट्रम्पले त्यो दाबीको खिल्ली उडाएका थिए । त्यसलाई फर्जी भन्दै एफबिआईले उनलाई दोषी देखाउन प्रमाणहरू खडा गर्न खोजेको हुन सक्ने टिप्पणी गरेका थिए । 

अदालतको आदेशअन्तर्गत ट्रम्पले जनवरीमा १५ बाकस दस्ताबेज फिर्ता गरेका थिए भने जुनमा ३८ बाकस फिर्ता गरे । तर, यो आणविक क्षमतासम्बन्धी दस्ताबेज भने एफबिआईले पछि अगस्टमा ट्रम्पको आवास मार–ए–लागोको भण्डार कोठाको छापामारीका क्रममा फेला पारेको हो । यी दस्ताबेजले कुन देशको आणविक क्षमताबारे उल्लेख गरेको छ, त्यो हामीलाई थाहा छैन । विश्वमा अहिले आणविक हतियारसम्पन्न नौ देश मात्रै छन् । तीमध्ये फ्रान्स, बेलायत, इजरायल र भारत अमेरिकाका सहयोगी मुलुक हुन् । आणविक हतियार भएका अन्य मुलुक चीन, पाकिस्तान, रुस र उत्तर कोरियासँग अमेरिकाको सम्बन्ध प्रतिद्वन्द्वीतादेखि निकै खराबसम्मको छ । अर्को मुलुक इरानसँग आणविक कार्यक्रम त छ, तर उसले अझै पारमाणविक हतियार प्राप्त गरेको जानकारी छैन । १८ महिनापहिले ट्रम्पले ह्वाइट हाउसबाट कागजपत्र लगेपछि त्यसलाई के गरियो भन्नेबारे हामीलाई केही थाहा छैन । यसलाई अरू कसैले हे¥यो कि हेरेन भन्ने पनि हामीलाई थाहा छैन । वास्तवमा, ट्रम्पले यी कागजपत्र किन लगे र फिर्ता गर्न किन अटेरी गरे भन्नेबारे पनि हामीलाई केही थाहा छैन । 

फ्लोरिडाका रिपब्लिकन सिनेटर मार्को रुबियोले भनेजस्तो यो भण्डारणको विषय मात्र होइन भन्ने प्रस्टै छ । ट्रम्पका महान्यायाधिवक्ता क्रिस्टोफर किसे संवेदनशील जानकारीको चुहावटले ‘प्रणालीको अखण्डताप्रतिको जनविश्वासलाई क्षति पुर्याउने’ तर्क गर्छन् । तर, अखण्डतामाथि जुन प्रश्न आइलागेको छ, त्यो ट्रम्प र उनका रक्षकहरूको निष्ठामाथिको प्रश्न हो । किसे अदालतले अगाडि बढ्नका लागि मार्ग उपलब्ध गराएको ठान्छन् । वास्तवमा, जब न्यायाधीश एइलिन क्याननले यसै साता ट्रम्पको अनुरोधमा मार–ए–लागोबाट जफत १३ हजार रेकर्डको समीक्षा गर्न विशेष व्यक्ति नियुक्त गर्ने पक्षमा फैसला गरिन्, त्यसले सम्भावित खतरालाई थप बढाएको छ । 
(घाइटिस सिएनएनकी स्तम्भकार हुन्) सिएनएनबाट

सुझावित समाचार