माधवको पार्टीले तीन प्रतिशत पनि ल्याउँदैन : ओली

बुधबार, २९ भदौ, २०७९
डिजिटल संस्करण

एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनसम्म माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले ‘थ्रेसहोल्ड’ नकटाउने दाबी गरेका छन् । एमालेनिकट नेपाल लोकतान्त्रिक तमु संघको मंगलबारदेखि पोखरामा सुरु भएको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले एकीकृत समाजवादीमा खास कार्यकर्ता नरहने भन्दै निर्वाचनमा तीन प्रतिशत मतसमेत नकटाउने आफ्नो भविष्यवाणी रहेको भन्दै लेखेर राख्न आग्रहसमेत गरे । 

‘अन्य दलले एमाले फुटाएको पारिश्रमिकस्वरूप माधव नेपालका लागि भनेर एक सिट जिताइदेलान्, तर अरू स्थानमा कतै जित्दैनन्,’ उनले भने, ‘कांग्रेसलाई बलियो बनाउने काममा माधव नेपाल लागेका छन् ।’ ओलीले यसपटकको निर्वाचनमा प्रचण्ड नेतृत्वको माओवादीले भने थ्रेसहोल्ड कटाउने बताए । विगतमा माओवादी लडाकुलाई झिलिमिली सितारा बुनिएको सपना देखाए पनि घाइते, अपांगताको वास्ता नगरी उनीहरूको भविष्यमाथि प्रचण्डले खेलबाड गरेको आरोप लगाए । 

ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ राणा शासनको निमित्त नायक रहेको आरोप पनि लगाए । उनले भने, ‘हिजोको राणा शासन फर्किएजस्तो भएको र कांग्रेस सभापति शेरबहादुर देउवा त्यसको निमित्त नायक बनेका छन्, तर उनी केबाट परिचालित छन् त्यो भने थाहा छैन ।’

‘धाँधली गर्नकै लागि कांग्रेस सरकारमा रहेर चुनाव गर्न चाहन्छ’ 
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले चुनावमा धाँधली गर्नकै लागि कांग्रेस सरकारमा रहन चाहन्छ भन्ने आरोप पनि लगाए । ‘जब निर्वाचन आउँछ तब कांग्रेस सधैँ सत्तामा रहन्छ । यसको मुख्य कारण धाँधली गर्नु हो,’ उनले भने । कांग्रेसले सधैँ अरूले गराएको निर्वाचनमा धाँधली हुने र आफूले गराएको मात्र निष्पक्ष हुने बताएको भन्दै ओलीले यसको मूल कारण चुनावमा हुने धाँधली रहेको ओलीको भनाइ थियो 

वर्तमान सरकारले वृद्धभत्तामा धाँधली गरेको आरोपसमेत ओलीको थियो । हाल नेपालीको औसत आयु ७३ वर्ष रहेकाले ७० वर्षमा भत्ता दिने गरिएकोमा वर्तमान सरकारले यसमा धाँधली गरी ६८ वर्ष बनाएको उनले बताए । सय रुपैयाँबाट सुरु भएको वृद्धभत्ता हाल चार हजार पुगेको भन्दै ओलीले प्रत्येक निर्वाचनपिच्छे उमेर घटाउँदै लाने हो भने भोलि जन्मनेबित्तिकै बच्चाले भत्ता पाउने दिन आउने उनको भनाइ थियो । 

सुझावित समाचार