पहिलो फ्रेन्चाइज नेपाल टी–२० लिगमा सहभागी ६ टोलीले नेपाली खेलाडीको टुंगो लगाएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार ड्राफ्टबाट मार्कीसहित नेपाली ११ खेलाडी पाएका हुन् । क्यानले पहिलोपटक गर्न लागेको प्रतियोगितामा खेलाडीलाई ‘ए’ ‘बी’ र ‘सी’ श्रेणीमा वर्गीकरण गरेको छ । ‘ए’ श्रेणीका खेलाडीको मूल्य १५ लाख, ‘बी’ श्रेणीकाले १० लाख र ‘सी’ श्रेणीकाले ५ लाख पाउनेछन् । अक्सनमा आठ सय ५७ खेलाडीले फारम भरेका थिए । क्यानले ९२ खेलाडीलाई अन्तिम सूची तयार पारेको थियो । जसमध्येबाट नेपाली ६६ खेलाडी बिक्री भए । हरेक टोलीले पाँच विदेशी खेलाडी भिœयाउनुपर्ने प्रावधान छ । प्रतियोगिता ८ असोजबाट ५ कात्तिकसम्म चल्नेछ ।
काठमाडौं गोर्खाज– काठमाडौं टोली सन्तुलित देखिन्छ । बलिङभन्दा ब्याटिङमा काठमाडौं बलियो छ । अनुभवी मार्की खेलाडी ज्ञानेन्द्र मल्ल, लोकेशबहादुर बम, बसिर अहमद, कमलसिंह ऐरी, अभिनाश बोहराजस्ता खेलाडी रहेका कारण काठमाडौं सन्तुलित देखिएको हो । बलिङमा समेत यो टोली राम्रै छ । अस्टे«लियामा खेल्दै आएका सुनम गौतम हुनु टोलीका लागि अर्काे बलियो पक्ष हो ।
पोखरा एभेन्जर्स– ड्राफ्टअनुसार पोखरा पनि बलियो देखिएको छ । घरेलु तथा अन्तर्राष्ट्रिय खेलमा राम्रो प्रदर्शन गरेका खेलाडी पोखरामा छन् । मार्की खेलाडी आसिफ शेखसँगै ‘ए’ श्रेणीका शरद भेषवाकर टोलीमै छन् । यस्तै, कुशल मल्ल, आरिफ शेख, सिद्धान्त लोहनीजस्ता खेलाडी रहँदा पोखराको ब्याटिङ लाइन बलियो देखिन्छ । बलिङमा पोखरा कमजोर देखिएको छ ।
विराटनगर सुपर किंग्स– रोहितकुमार पौडेल मार्की खेलाडी रहेको विराटनगर सन्तुलित टोली हो । विराटनगर औसत टोली देखिन्छ । विवेक यादव, अर्जुन साउद, पृथु बास्कोटा, प्रदीपसिंह ऐरी, नन्दन यादवजस्ता खेलाडी हुनु विराटनगरका लागि राम्रो पक्ष हो । बलिङतर्फ समेत यो टिम औसत रहेको छ ।
लुम्बिनी अल स्टार्स– लुम्बिनीले लयबाहिर रहेका खेलाडीलाई अनुबन्ध गरेको छ । प्रतिस्पर्धामा लुम्बिनीले अन्य टोलीलाई चुनौती दिन मिहिनेत गर्नुपर्छ । दीपेन्द्रसिंह ऐरी मार्की रहेको लुम्बिनीमा कुशल भुर्तेल, अनिलकुमार शाह, गुल्सन झा, सागर ढकाल, ईशान पाण्डेजस्ता खेलाडी छन् । खेलाडीको लय फर्किए लुम्बिनीले बलियो उपस्थिति देखाउनेछ ।
जनकपुर रोयल्स – मार्की खेलाडीका रूपमा नेपालका सिमर बलर सोमपाल कामी जनकपुरमा छन् । बलिङतर्फ जनकपुरको दबदबा रहने सम्भावना छ । सोमपालसँगै आदिल अन्सारी, दिलीप नाथ, ललितनाथ राजवंशी, पवन सराफ, जितेन्द्र मुखिया जनकपुरमा छन् । सागर ढकालसमेत धेरै पछि कमब्याक गर्दैछन् । ब्याटिङतर्फ भने जनकपुरले मिहिनेत गर्नुपर्ने देखिन्छ ।
फारवेस्टर्न युनाइटेड– करण केसी मार्की रहेको टोलीमा देव खनाल र अनुभवी विनोद भण्डारी हुनु राम्रो पक्ष हो । बलिङमा भने करणसँगै दुर्गेश गुप्ता, भुवन कार्की र भीम सार्की छन् । विशेषतः देव र करणमै निर्भर देखिएको फारवेस्टर्नले अन्य खेलाडीको लय फर्काउन मिहिनेत गर्नुपर्नेछ ।