नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने पहिलो फ्रेन्चाइज नेपाल टी–२० लिगका लागि ६ टोलीले मार्की खेलाडी सार्वजनिक गरेका छन् । जसअनुसार पोखरा एभेन्जर्सले आसिफ शेख, लुम्बिनी अल स्टारले दीपेन्द्रसिंह ऐरी, काठमाडौं कान्तिपुरले ज्ञानेन्द्र मल्ल, फार वेस्टर्न युनाइटेडले करण केसी, विराटनगर सुपर किंग्सले रोहितकुमार पौडेल र जनकपुर रोयल्सले सोमपाल कामीलाई मार्की खेलाडीका रूपमा खरिद गरेका हुन् । त्यसैगरी, अनुभवी ब्याट्सम्यान शरद भेषवाकर ‘ए’ श्रेणी खेलाडीको हैसियतमा पोखरामा अनुबन्धित भएका छन् । ६ जना मार्की खेलाडी र ‘ए’ श्रेणीमा बिकेका शरदले अब आफ्नो टिमबाट १५ लाख पारिश्रमिक पाउनेछन् ।
यी सात खेलाडीबाहेक अन्य कुनै पनि खेलाडी अक्सनको पहिलो दिन बिकेनन् । जबकि, अक्सनमा १२ जना खेलाडीलाई ‘ए’ श्रेणीमा राखिएको थियो । ‘ए’ श्रेणीमा राखिएकामध्ये आरिफ शेख, अभिनाश बोहरा, विनोद भण्डारी, कुशल भुर्तेल र सुवास खकुरेल बिकेनन् ।
१५ लाख मूल्यका खेलाडी आसिफ शेख : पोखरा एभेन्जर्स
ओपनर तथा विकेटकिपर आसिफलाई पहिलो संस्करणको नेपाल टी–२० लिगमा पोखरा एभेन्जर्सले मार्की खेलाडी घोषणा गरेको छ । २१ वर्षीय दायाँहाते ब्याट्सम्यान आसिफले टी–२० प्रतियोगितामा आफूलाई प्रमाणित गरिसकेका छन् । सन् २०२१ मा टी–२० आई नेदरल्यान्डविरुद्ध डेब्यु गरेयता आसिफ टिममा निरन्तर छन् । आसिफले टी–२० आईमा २० खेल खेल्दै ५ सय ८२ रन बनाएका छन् । उनको स्ट्राइक रेट ७८.६४ छ ।
दीपेन्द्रसिंह ऐरी : लुम्बिनी अल स्टार
अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई लुम्बिनी अल स्टारले मार्की खेलाडी बनाएको छ । मध्यक्रममा २२ वर्षीय ब्याट्सम्यान दीपेन्द्र सिंहबाट लुम्बिनीले ठूलो आशा गरेको छ । घरेलु तथा अन्तर्राट्रिय क्रिकेटको दीपेन्द्रको अनुभवबाट लुम्बिनी फाइदा लिन चाहन्छ । दीपेन्द्रले टी–२० आईमा ४४ खेल खेल्दै एक हजार एक सय तीन रन बनाएका छन् । उनको स्ट्राइक रेट १३२.२५ छ । दीपेन्द्रको कप्तानीमा सिवाइसी अत्तरियाले डिपिएलको उपाधि जितेको थियो । दीपेन्द्रसँग इपिएल र डिपिएल खेलेको राम्रो अनुभव छ । दीपेन्द्र टी–२० आईमा हजार रन बनाउने पहिलो खेलाडी हुन् ।
ज्ञानेन्द्र मल्ल : काठमाडौं कान्तिपुर
नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तानसमेत रहेका ज्ञानेन्द्र घरेलु तथा अन्तर्राष्ट्रिय खेलमा सफल खेलाडी हुन् । पछिल्लो ५ महिना राष्ट्रिय टिमबाहिर रहेर पनि ज्ञानेन्द्रले केन्या भ्रमणमा कमब्याक गर्दै आफूलाई प्रमाणित गरेका थिए । ३१ वर्षीय दायाँहाते ब्याट्सम्यान ज्ञानेन्द्रलाई काठमाडौं कान्तिपुरले मार्की खेलाडी बनाएको छ । ज्ञानेन्द्रले सन् २०१९ देखि २०२१ सम्म नेपाली टिमको कप्तानी गरेका थिए । सन् २०१८ मा ज्ञानेन्द्रकै कप्तानीमा ललितपुर प्याट्रियटर्सले इपिएल उपाधि जितेको थियो । त्यस्तै, काठमाडौं गोल्डेनबाट डिपिएल र काठमाडौंबाट नै पिपिएल खेलेका छन् । ज्ञानेन्द्रले नेपालको यू–१५ र यू–१९ टिमबाट खेलिसकेका छन् ।
करण केसी : फार वेस्टर्न युनाइटेड
अलराउन्डर करण केसीलाई फार वेस्टर्न युनाइटेडले मार्की खेलाडी बनाएको छ । बाग्लुङका ३० वर्षीय खेलाडीले घरेलु तथा अन्तर्राष्ट्रिय खेलमा राम्रो प्रभाव जमाउँदै आएका छन् । करणले ४३ टी–२० आईमा २ सय ८९ रन बनाएका छन् । त्यस्तै, बलिङमा भने समान खेलमा ६० विकेट लिएका छन् । करणले इपिएलमा विराटनगर वारियर्सको कप्तानी गरेका थिए । त्यस्तै, डिपिएलमा भने विराटनगर किंग्सको कप्तानी गरेका थिए । करणले टी–२० आईमा नेदरल्यान्डविरुद्ध सन् २०१५ मा डेब्यु गरेका थिए ।
रोहितकुमार पौडेल : विराटनगर सुपर किंग्स
युवा ब्याटर रोहितकुमार पौडेललाई विराटनगर सुपर किंग्सले मार्की खेलाडीमा अनुबन्ध गरेको छ । राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानसमेत रहेका २० वर्षीय रोहितले केन्याविरुद्धको एकदिवसीय खेलमा भने कप्तानी नै गरेका थिए । रोहितले टी–२० आईमा २१ खेल खेल्दै ३ सय ७६ रन बनाएका छन् । उनको स्ट्राइक रेट ११६.७७ छ । रोहित एकदिवसीय खेलमा १५ वर्षमै डेब्यु गर्ने कीर्तिमानी खेलाडी हुन् । रोहितले इपिएल भैरहवा ग्ल्याडियटर्सबाट खेलेका थिए । दायाँहाते ब्याट्सम्यान रोहितले नेपालको यू–१९ टिमबाट समेत खेलेका छन् ।
सोमपाल कामी : जनकपुर रोयल्स
घरेलु तथा अन्तर्राष्ट्रिय खेलमा स्थापित बलर सोमपाल कामीलाई जनकपुर रोयल्सले मार्की खेलाडी बनाएको छ । गुल्मीका २६ वर्षीय खेलाडी सोमपालले नेपालको यू–१९ टिमबाट समेत खेलेका छन् । सोमपालको कप्तानीमा चितवन टाइगर्सले गत सिजनको इपिएल उपाधि उचालेको थियो । त्यस्तै, डिपिएलमा टिम चौराहलाई च्याम्पियन बनाएका थिए । सोमपालले टी–२० आईमा ४२ खेल खेल्दै ३८ विकेट लिएका छन् । यता, समान खेलमा २ सय २४ रन बनाएका छन् । सोमपालले टी–२० आईमा नेदल्यान्डविरुद्ध डेब्यु गरेका थिए ।
शरद भेषवाकर : पोखरा एभेन्जर्स
घरेलु प्रतियोगितामा शरद भेषवाकर भाग्यमानी खेलाडी हुन् । उनले आफ्नो कप्तानीमा सधैँ उपाधि जिताउँदै आएका छन् । त्यसैले पनि पोखरा एभेन्जर्सले मार्की खेलाडी आसिफबराबरकै मूल्य तिरेर र शरदलाई भित्र्यायो । पहिलो दिनको अक्सनमा अन्य टिमले १ खेलाडी खरिद गर्दा पोखराले जनही १५–१५ लाख खर्च गर्दै दुई खेलाडी किनेको हो । ३७ वर्षीय शरद अलराउन्डर हुन् । उनले इपिएलमा भैरहवालाई उपाधि दिलाएका छन् । त्यस्तै, पोखरा पल्टनको कप्तानी गर्दै पिपिएल खेलेका थिए ।
यस्तो छ नियम
अक्सनका लागि ८ सय ५७ खेलाडीले फारम भरेका थिए । त्यसमध्येबाट छानिएका ९२ खेलाडीलाई क्यानले ए, बी र सी श्रेणीमा वर्गीकरण गरेको थियो । अक्सनको नियमअनुसार पहिलो दिन ‘ए’ श्रेणीमा परेका खेलाडीको किनबेच भएको हो । क्लबहरूले यही श्रेणीबाटै मार्की खेलाडी चयन गरेका हुन् । दोस्रो दिन ‘बी’ र ‘सी’ श्रेणीका खेलाडीको किनबेच हुनेछ । पहिलो दिन नबिकेका ‘ए’ श्रेणीका खेलाडीको बोलकबोल दोस्रो दिन ‘बी’ श्रेणीमा हुनेछ । त्यहाँ पनि बिक्न नसके उनीहरू अनसोल्ड नै रहनेछन् । तर, पहिल्यै ‘बी’ श्रेणीमै राखिएका खेलाडीहरूका हकमा ‘बी’ श्रेणीमा नबिके पनि ‘सी’ श्रेणीमा बोली लगाउन पाइनेछ । क्यानले प्रारम्भिक रूपमा ‘ए’ श्रेणीमा १२, ‘बी’ श्रेणीमा ३२ र ‘सी’ श्रेणीमा ४८ खेलाडीको नाम समावेश गरेको हो । अब आइतबार प्रारम्भिक ड्राफ्टका ३२ खेलाडीसँगै ‘ए’ श्रेणीबाट झरेका ५ खेलाडीसमेत गरेर कुल ३७ खेलाडीमाथि ‘बी’ श्रेणीमा बोली लाग्नेछ । ‘बी’ श्रेणीमा छानिनेहरूको तलब १० लाख हुनेछ ।
त्यसपछि आइतबारै ‘सी’ श्रेणीको बोलकबोल हुनेछ । जहाँ प्रारम्भिक रूपमा ४८ खेलाडीको नाम समावेश छ । प्रारम्भिक ड्राफ्टमा ‘बी’ श्रेणीमा परेर नबिकेका खेलाडीको संख्या पनि यसमा थपिनेछ । ‘सी’ श्रेणीबाट छानिएका खेलाडीले न्यूनतम ५ लाख रुपैयाँ लिएर विभिन्न टिममार्फत प्रतियोगिता खेल्नेछन् । यस प्रक्रियाबाट कुल ६६ जना नेपाली खेलाडी छानिनेछन् । यसबाहेक हरेक टोलीले ५ जना विदेशी खेलाडीलाई टिममा राख्न पाउँछन् । यसअघि क्यानले एभरेस्ट प्रिमियर लिग (इपिएल), धनगढी प्रिमियर लिग (डिपिएल) र पोखरा प्रिमियर लिग (पिपिएल)को राष्ट्रिय मान्यता खोस्दै पहिलोपटक नेपाल टी–२० लिग आयोजना गर्ने निर्णय गरेको थियो ।