यी हुन् कांग्रेसबाट सिफारिस भएका व्यवसायी

शनिबार, २५ भदौ, २०७९
डिजिटल संस्करण

कांग्रेसबाट व्यवसायी उद्योगी पृष्ठभूमिका राज्यमन्त्री उमेश श्रेष्ठदेखि चर्चित उद्योगपति विनोद चौधरीसम्मका व्यक्ति प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन् । 

श्रेष्ठ चितवन– १ र चौधरी नवलपरासी– १ र नवलपुरको १ र २ नम्बरसहित तीनवटा क्षेत्रबाट सिफारिस भएका छन् । ०७० मा एमालेबाट समानुपातिक सांसद बनेका चौधरी ०७४ मा दल फेरेर कांग्रेसबाट समानुपातिकबाट सांसद बनेका थिए । चौधरी नवलपुर– २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने सोचमा रहेको बताउँदै आएका छन् ।  

अघिल्लोपटक समानुपातिक सांसद रहेका लिटिलएन्जल स्कुलका संस्थापक श्रेष्ठ यसपटक भने प्रत्यक्षतर्फ नै उम्मेदवार बन्ने तयारीमा छन् । उनी पनि कांग्रेसका केन्द्रीय सदस्य छन् । चर्चित निर्माण व्यवसायी जिपछिरिङ लामा दोलखाबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन् । उनी दुईपटक समानुपातिकबाट सांसद भइसकेका छन् । लामाले यसपटक आफू प्रत्यक्षतर्फ इच्छुक नरहेको बताउँदै आएका छन् । 

निर्माण व्यवसायसँगै राजनीतिमा उदाएका मकवानपुरका इन्द्र बानियाँ कांग्रेसको बागमती प्रदेश सभापति छन् । अहिले मकवानपुर २ (ख) बाट प्रदेश सभा सांसद रहेका उनी सोही क्षेत्रबाट प्रतिनिधिसभाका लागि सिफारिस भएका छन् ।

त्यस्तै, निर्माण व्यवसायी भीमबहादुर साउद, घरजग्गा व्यवसायी इच्छाबहादुर वाग्ले, मेडिकल कलेज व्यवसायी सुनील शर्मा, शिक्षा व्यवसायी तेजुलाल चौधरी, निर्माण व्यवसायी मोहन आचार्य, वीरगन्जका व्यवसायी अनिल रुंगटा, निर्माण व्यवसायी अमरसिंह पुन, पर्यटन व्यवसायी राजेन्द्र बजगाईंदेखि होटेल व्यवसायी दीपक खड्कालगायत कांग्रेसबाट उम्मेदवारका लागि सिफारिस भएका छन् । होटेल व्यवसायी खड्का संखुवासभाबाट सिफारिस भएका छन् । उनी अघिल्लोपटक पनि उम्मेदवार बनेर पराजित भएका थिए । 

निर्माण व्यवसायी पृष्ठभूमिका भीमबहादुर साउद डडेल्धुराबाट प्रदेश सभामा सिफारिस भएका छन् । होटेल व्यवसायी तथा घरजग्गा व्यवसायी संघका अध्यक्षसमेत रहेका इच्छाबहादुर वाग्ले बारा– ३ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन् । 

म्यानपावर व्यवसायी पृष्ठभूमिका तिलक रानाभाट कास्कीबाट प्रदेश सभाको प्रत्यक्षतर्फ सिफारिस भएका छन् । ‘क’ वर्गको निर्माण व्यवसायी मोहन आचार्य रसुवाबाट पुनः प्रतिनिधिसभाका लागि सिफारिस भएका छन् । उनी अहिले पनि प्रतिनिधिसभाका सांसद हुन् । 

उद्योगपति अनिल रुंगटालाई कांग्रेसले पर्सा– १ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उठाउने तयारी गरेको छ । पर्यटन व्यवसायी राजेन्द्र बजगाईं गोरखा– १ बाट प्रतिनिधिसभाबाट सिफारिस भएका छन् । त्यस्तै, दोलखाको प्रदेश (ख)मा प्रदेश सभाको प्रत्यक्षतर्फ निर्माण व्यवसायी पृष्ठभूमिका युधिष्ठिर खड्का उम्मेदवार बनेका छन् । सिन्धुपाल्चोक– १ को प्रदेश सभा (ख) मा यातायात व्यवसायी पृष्ठभूमिका केदार क्षेत्री कांग्रेसबाट सिफारिस भएका छन् । 

सुझावित समाचार