पत्रकारितासँगै व्यावसायिक तरकारी खेती

बिहिबार, २३ भदौ, २०७९
डिजिटल संस्करण
पत्रकारितासँगै व्यावसायिक तरकारी खेती

तस्बिर : इन्द्रबहादुर थापा/नयाँ पत्रिका

बेथानचोक गाउँपालिका वडा नं. ३ का मोहनकृष्ण तिमल्सिना पेसाले पत्रकार हुन्। उनी नेपाल पत्रकार महासंघ काभ्रे शाखाको कार्यसमिति सदस्य पनि हुन्। उनकाे परिचय त्यसमा मात्र सीमित छैन। उनी नमुना किसानका रूपमा पनि चिनिन्छन्। पत्रकारितासँगै कृषि कर्मलाई पनि सँगसँगै लगेका उनी बनेपामा भेटिएनन् भने बेथानचोक- ३ स्थित आफ्नै मुला तथा काउलीबारीमा भेटिन्छन्।

पछिल्लो समय बेथानचोक ढुंखर्कका कृषकले आधुनिक खेती प्रणाली अपनाउन थालेका छन्। तिनैमध्येका बेथानचोक ३ दमारका मोहनकृष्ण र रञ्जनाको जोडी सफल कृषकको परिचय बनाउन सफल भएकाे छ। 

सम्म परेको उनको बारी बाह्रैै महिना हरियाली हुन्छ। उनले बारीमा लगाएको तरकारी खेतीले धेरैलाई लोभ्याउँछ। उनले १६ रोपनी बारीमध्ये करिब ५ रोपनीमा अन्नबाली लगाएका छन्। बाँकी सबैमा तरकारी नै उमार्छन्। 

‘अन्न बालीमा भन्दा तरकारी खेतीमै फाइदा छ, त्यसैले मकै तोरीभन्दा पनि अन्य तरकारी बालीमा नै जोड दिन्छु,’ तिमल्सिना भन्छन्। पत्रकारितामा पनि उत्तिकै सक्रिय तिमल्सिना पत्रकारिताले जीवन धान्न कठिन हुने भएकाले जहान पाल्नलाई कृषि पेसा पनि सँगै गरेको बताउँछन् । 

‘पत्रकारिता र कृषिलाई सँगै लगेको छु,’ उनी भन्छन्, ‘पत्रकारिताबाट परिवारको सबै इच्छा र आकांक्षा पूरा गर्न सकिँदैन त्यसकारण कृषि पनि सँगै गरिरहेको हुँ।’ दुई छोरी र श्रीमतीसहितको चारजनाको परिवारका आवश्यकता पूरा गर्न निकै सहज भएको उनी बताउँछन्। 

आधुनिक तथा मौसमअनुसार खेती गर्न सक्दा राम्रो आम्दानी हुने उनको भनाइ छ। उनले वर्षेनी बन्दा, काउली, मुलालगायतका तरकारी उत्पादन गरी बिक्री गर्दै आएका छन्। मौसमी बेमौसमी खेती गर्दै आएका तिमल्सिनाले बाह्रै महिना तरकारी बिक्री गरेर आम्दानी गर्ने गर्छन्। 

‘अहिले ढुंखर्कमा धेरैले तरकारी खेती गर्छन्। ढुंखर्कको फाँटै हरियो बनेको छ,’ तिमल्सिना सुनाउँछन्, ‘धन कमाउन युवा बिदेसिने क्रम बढेको छ, मेहनत गरे आफ्नै ठाउँमा सुन फलाउन सकिन्छ।’

खेतीका लागि आवश्यक व्यवस्थापन मिलाउने मोहनलाई उनकी श्रीमती रञ्जना दाहाल तिमल्सिनाले राम्रो साथ दिएकी छिन्। छोरीहरूले पनि सघाउने गरेका छन्। अध्ययनबाट बचेको समयमा छोरीहरू खेतबारीमै भेटिन्छन्। 

आफ्नो खेतबारीमा थरीथरीका तरकारी लगाउनु, गोडमेल गर्नु, समयमै सिँचाइ र मलजलको प्रबन्ध मिलाउनु, दिनभर खेतबारीकै काममा व्यस्त हुनु तिमल्सिना दम्पतीको दैनिकी हो। आफ्नो भएको जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेती गरेका यी दम्पतीलाई अहिले तरकारी खेतीको स्याहारसुसार गर्न भ्याइनभ्याई छ। 

बारीभरि लगाइएको तरकारीले मनै आनन्दित बनाउने गरेको उनको भनाइ छ। उनी बारीमा लागाएको तरकारी एक दिन बिराएर बजारसम्म पठाउने गरेको बताउँछन्। ‘मलाई श्रीमती र छोरीहरूले राम्रो साथ दिएका छन्,’ उनी भन्छन्, ‘उनीहरू नभएको भए त एक्लैले यो सबै गर्न सम्भव नै थिएन।

बारीसम्म तरकारी ढुवानी गर्ने गाडी पुग्ने र व्यापारीहरूले तँछाडमछाड गर्दै तरकारी खरिद गर्ने हुँदा बजारको खासै समस्या नरहेको उनी बताउँछन्। व्यापारीले तरकारी काठमाडौं कालिमाटीस्थित तरकारी संकलन केन्द्रमा लैजाने गर्छन्। गाउँमै गाडी पुग्ने भएका कारण पनि टिपेका तरकारी संकलन केन्द्रसम्म लैजान सजिलो भएको तिमल्सिनाको अनुभव छ।

तिमल्सिना काभ्रेबाट हरेक सोमबार प्रकाशित हुने हाम्रो इन्द्रावती साप्ताहिकका व्यवस्थापकसमेत हु्न्।  उनी बिहान, बेलुकाको समयमा तरकारी खेतीलाई समय दिन्छन् भने हप्तामा २-३ दिन पत्रिकालाई समय दिने गरेको उनी बताउँछन्। 

उनले तरकारी खेतीबाट मासिक ४० देखि ५० हजार रुपैयाँ कमाउने गरेका छन्। पुस्तौंदेखि कृषि पेसा अँगालिरहेका उनको परिवारले कृषिलाई नै मुख्य पेसा बनाएर अँगालिरहेको छ। सुरुसुरुमा दैनिक छाक टार्न मात्रै तरकारी लगाउने गर्थे। ०७२ सालदेखि उनले व्यावसायिक रूपमा तरकारी खेती गर्न थालेका हुन्। 

तरकारी खेतीसँगै उनले पशुपालन पनि गरिरहेका छन्। दुईवटा गाई पालेका उनी दैनिक ३० लिटर दूध बिक्री गर्छन्। 

सुझावित समाचार