प्रदेश १ साक्षर घोषणा

बिहिबार, २३ भदौ, २०७९
डिजिटल संस्करण
प्रदेश १ साक्षर घोषणा

विराटनगरमा आयोजित ‘साक्षर प्रदेश घोषणा’ समारोह समितिले निकालेको प्रभातफेरीमा सहभागी प्रहरी व्याण्ड । तस्बिर : मनोज दाहाल/रासस

प्रदेश १ लाई साक्षर प्रदेश घोषणा गरिएको छ। प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले सामाजिक विकास मन्त्रालयद्वारा बिहीबार मोरङमा आयोजित कार्यक्रममा साक्षर प्रदेश घोषणा गरेका हुन्।

उनले साक्षरतासहित अब प्रदेशलाई आर्थिक समृद्धिका रूपमा परिवर्तन गर्न सबैले आफ्नो ठाउँबाट जिम्मेवार भई भूमिका निर्वाह गर्नुपर्नमा जोड दिए। प्रदेशका सामाजिक विकासमन्त्री राजन राईले मुलुकको समृद्धिका लागि व्यावसायिक, गुणस्तरीय र व्यावहारिक शिक्षा दिनुपर्ने आवश्यकता औँल्याए। स्वास्थ्यमन्त्री जयराम यादवले राष्ट्रियता, मातृभूमि र मातृभाषाप्रति समर्पित रहन विद्यार्थीलाई आग्रह गरे।

खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राईले मुलुकका लागि अबको शिक्षा जागिरे मात्र होइन, व्यावहारिक हुनुपर्नेमा जोड दिए। सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फेले प्रदेशलाई साक्षर घोषणा गर्न सबैको सहयोग प्राप्त भएको बताउँदै यसले मातृभाषाको विकासमा सघाउ पुग्ने धारणा व्यक्त गरे।

सामाजिक विकास समितिका सभापति सरिता थापा खड्का, विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्की, प्रदेश १ का प्रमुख सचिव विनोदप्रकाश सिंह, सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनाली, जिल्ला समन्वय समिति पाँचथरका रामराज आङदम्बेलगायतले शिक्षा मुलुकको समृद्धिको महत्वपूर्ण मेरुदण्ड रहेको र मुलुकलाई आवश्यक पर्ने जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षा सर्वसुलभ गराउनुपर्ने सुझाव दिए।

युनेस्कोले तोकेको १२ वटा मापदण्डलाई आधार बनाई प्रदेशलाई साक्षर घोषणा गरिएको हो। प्रदेशका १४ जिल्लामा रहेका १३७ पालिकामा १५ देखि ६० वर्ष उमेर समूहमा ९६.७४ प्रतिशत साक्षर  छन्।

यसअघि साक्षर घोषणको अवसरमा स्थानीय आदर्श माध्यमिक विद्यालयबाट निस्केको प्रभातफेरीले नगर परिक्रममा गरेको थियो। प्रभातफेरीमा सामाजिक विकासमन्त्री राई, राज्यमन्त्री तुम्वाहाम्फे, प्रदेशका प्रमुख सचिव सिंह, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललगायत निजामती कर्मचारी, प्रहरी, विभिन्न विद्यालयका विद्यार्थी सहभागी थिए।

सुझावित समाचार