सांसद विकास कोषको रकम खर्च गर्न पाउनुपर्ने माग राख्दै निर्वाचन आयोगविरुद्ध सर्वाेच्चमा रिट

बुधबार, २२ भदौ, २०७९
डिजिटल संस्करण

निर्वाचन आयोगले  सांसद विकास कोषको रकम खर्च गर्नबाट रोक लगाउन दिएको निर्देशन विरुद्धमा प्रदेश १ का सांसदहरूले सर्वोच्चमा रिट दर्ता गराएका छन् । २० भदौमा प्रदेश १ का सांसदहरू सरिता थापा, मोहनकुमार खड्का, सावित्री रेग्मी, पदमकुमारी गुरुङले प्रदेश १ सरकारका कानुनी सल्लाहकार अधिवक्ता पेसलकुमार न्यौपानेको सहयोगमा सांसद विकास कोषको रकम खर्च गर्न पाउनुपर्ने उत्प्रेषण आदेश माग गर्दै निर्वाचन आयोगको निर्देशनविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएका हुन् । 

प्रदेश १ सरकारले चालू वर्षमा जनही एक करोड रुपैयाँ विकास कोषमा विनियोजन गरेको थियो ।  तर, निर्वाचन आयोगले चुनावको मिति घोषणा भइसकेकाले उक्त रकम खर्च गर्नु आचारसंहिताविपरीत हुने भन्दै बजेट कार्यान्वयन नगर्न प्रदेश सरकारलाई निर्देशन गरको थियो ।    

प्रदेश १ का सांसदहरूले सरकारले चुनाव घोषणा नभईकन उक्त रकम विनियोजन गरेको र खर्च नपाउँदा जनताको विकासको अधिकार कुण्ठित हुने भन्दै कार्यान्वयनको बाधा फुकाउनुपर्ने जिकिर गरेका छन्  । आर्थिक समानता, सामाजिक न्याय, समावेशी सिद्धान्तअनुसार विकासको अधिकार सुनिश्चित गर्न सरकारले विनियोजन गरेको उक्त रकम सांसदहरूले खर्च गर्न पाउनुपर्ने माग रिट निवेदक सांसदहरूको माग छ ।

२० भदौमा दर्ता भएको उक्त रिटमा सर्वोच्चले २१ भदौमा पहिलो पेसीमा पहिलो सुनुवाइ गरेको छ। उक्त सुनुवाइमा यही २७ भदौमा पुनः छलफल गर्ने गरी निर्वाचन आयोगलाई बोलाउने आदेश गर्दै पेसी तोकेको छ  । 
    
 

सुझावित समाचार