पोखरामा आधुनिक मेसिन तथा उपकरणका माध्यमबाट खेलाइने दुईवटा ‘मिनी क्यासिनो’ सञ्चालनमा आउने भएका छन् । दुईवटा पाँचतारे पोखरा ग्रान्ड र फूलबारी रिसोर्टमा सञ्चालित क्यासिनो बन्द भएपछि देशकै पर्यटकीय राजधानी घोषणाका लागि सिफारिस गरिएको सहर क्यासिनोविहीन छ । अहिले ह्याप्पी आवर र भेन्टेन इन्टरटेनमेन्टले मिनी क्यासिनो सञ्चालन गर्न लागेका हुन् ।
ह्याप्पी आवरले लेकसाइडमा रहेको स्विस इन्टरनेसनल होटेल सरोबरमा क्यासिनोको पूर्वाधार निर्माण सुरु गरेको छ । त्यस्तै, भेन्टेनले पोखरा महानगरपालिका–६ मा रहेको हेरिटेज होटेल स्विट्स एन्ड स्पामा क्यासिनो सञ्चालन गर्नेछ । पोखरामा क्यासिनो सञ्चालन गर्ने गरी भेन्टेनले ९ भदौ ०७९ मा २० करोड पुँजीको कम्पनी दर्ता गरेको हो । ह्याप्पी आवरले महेन्द्रनगरको होटेल स्विट ड्रिम, भैरहवाको होटेल लाकौल, काँकडभिट्टाको होटेल ढाका र नेपालगन्जमा क्यासिनो सञ्चालन गर्न स्वीकृति लिइसकेको छ । दुवै कम्पनीले पोखरामा क्यासिनो सञ्चालनका लागि अहिलेसम्म स्वीकृति भने नलिएको पर्यटन विभाग होटेल शाखाका अधिकृत उमेश दाहालले बताए ।
हेप्पी आवरले दसैँसम्म क्यासिनो सञ्चालनमा ल्याउने गरी पूर्वाधार निर्माण गरिरहेको होटेल स्विस इन्टरनेसनलका निर्देशक प्रतीकराज पहारीले बताए । ‘अहिले पोखरा क्यासिनोविहीन बनेको छ, देशकै प्रमुख पर्यटकीय सहरमा धेरैभन्दा धेरै पर्यटक आकर्षित गर्न क्यासिनो पनि हुनुपर्छ,’ उनले भने, ‘हामीले पोखरामा क्यासिनोको अभाव महसुस गरेर सञ्चालन गर्न कस्सिएका हौँ ।’ ९६ कोठाहरू रहेको स्विस इन्टरनेसनलमा हालै मात्र ट्रयांकुलिटी स्पाको एक्सक्लुसिभ आउटलेट (सेवा) पनि सञ्चालनमा ल्याइएको छ ।
पोखरामा होटेल तथा रिसोर्टमा लगानी ओइरिए पनि क्यासिनो सञ्चालनमा कसैले पनि चासो देखाएका छैनन् । त्यसो त बाँके, भैरहवा, मोरङ, सुनसरी र झापाका पाँचतारे होटेलमा ठूलो लगानी हुँदा पोखरामा पछिल्लो समय पाँचतारे खुलेका छैनन् । पोखराका दुईवटा पाँचतारेमध्ये फूलबारी रिसोर्ट बन्द अवस्थामा छ भने पोखरा ग्रान्ड मात्र सञ्चालनमा छ । पोखरालाई लक्जरी पर्यटकीय गन्तव्य बनाउन कम्तीमा पाँचवटा नयाँ पाँचतारे होटेल खुल्नुपर्ने पोखरा महानगरका मेयर धनराज आचार्यको ठहर छ ।
गण्डकी प्रदेश र पोखरा महानगरपालिकाले पोखरालाई देशको पर्यटकीय राजधानी घोषणा गर्ने निर्णय गरी पटक–पटक केन्द्र सरकारलाई सिफारिस गरेका छन् । तर, केन्द्र सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न चासो देखाइरहेको छैन । यस्तै, पोखरामा निर्माण भइरहेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि १ जनवरी २०२३ देखि सञ्चालनमा ल्याउने तयारी छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पर्यटक ओइरिने अपेक्षा पर्यटन व्यवसायीले गरेका छन् । त्यसैले पोखरामा पाँचतारे ठूला होटेल र पूर्ण क्षमताका क्यासिनो सञ्चालन जरुरी देखिन्छ ।
क्यासिनो नियमावली, २०७० अनुसार पूर्ण क्षमताको ठूलो क्यासिनो सञ्चालनका लागि कम्तीमा पाँचतारे होटेल वा सोसरहको डिलक्स रिसोर्टका सञ्चालकको लिखित सहमति चाहिन्छ । तर, आधुनिक मेसिन वा उपकरणका माध्यमबाट मात्र खेलाइने खेल (मिनी क्यासिनो)को हकमा कम्तीमा चारतारे होटेल सञ्चालकको लिखित सहमति चाहिने उल्लेख छ । पछिल्लो समय पोखरामा सोल्टी होटेल र पोखराकै बाराही ग्रुपले पाँचतारे होटेल निर्माण सुरु गरेका छन् । यी होटेलमा पूर्ण क्षमताको ठूलो क्यासिनो सञ्चालन गर्ने लगानीकर्ताको योजना छ ।
बोर्डरमा केन्द्रित क्यासिनो
पर्यटकीय नगरी पोखरामा क्यासिनो नभए पनि धनगढी, महेन्द्रनगर, नेपालगन्ज, भैरहवा, वीरगन्ज, झापालगायत भारतीय सीमासँग जोडिएका सहरमा मिनी क्यासिनो बाक्लै खुल्न थालेका छन् । अहिले देशभर १२ वटा पूर्ण क्षमताका ठूला क्यासिनोहरू सञ्चालनमा छन्, जसमध्ये नौवटा क्यासिनो काठमाडौं उपत्यकाका पाँचतारे होटेलमा रहेका छन् भने एउटा नेपालगन्जको सोल्टी वेस्टेन्डमा, एउटा रुपन्देहीको टाइगर वान र एउटा होटेल मेची क्राउनमा सञ्चालनमा छ ।
पर्यटन विभागको अनुमति लिए पनि कतिपय ठूला क्यासिनो बन्द अवस्थामा छन् । अहिलेसम्म महेन्द्रनगरमा दुईवटा, धनगढीमा एउटा, बाँकेमा सातवटा (एक ठूलो), रुपन्देहीमा ६ (एक ठूलो), बारा–पर्सामा चारवटा, विराटनगरमा दुईवटा, काँकडभिट्टामा तीन (एक ठूलो) र काठमाडौंमा होटेल प्लटिनममा मिनी क्यासिनो खोल्न स्वीकृति दिइएको छ । भारतीय पर्यटकलाई लक्षित गरेर बोर्डर क्षेत्रका सहरमा मिनी क्यासिनो केन्द्रित भएको पर्यटन विभागको बुझाइ छ । त्यसो त अहिले निर्माणाधीन अवस्थामा रहेका सबैजसो पाँचतारे होटेलले ठूला–साना क्यासिनो राख्ने बताएका छन् । ०८० भित्र देशका विभिन्न ठाउँमा १८ वटा पाँचतारे सञ्चालनमा आउँदै छन् । अरू निर्माणाधीन तारे होटेलहरूले मिनी क्यासिनो सञ्चालन गर्ने बताएका छन् ।
दुई नयाँ क्यासिनोले पाए स्वीकृति
पर्यटन विभागले चालू आर्थिक वर्षमा विराटनगरको वीर होटेलमा मिनी क्यासिनो सञ्चालन गर्न क्याम्पियनलाई र भैरहवाको मौर्य होटेलमा क्यासिनो सञ्चालन गर्ने गरी अपूर्व गेमिङलाई स्वीकृति दिएको छ । यी दुईसँगै ठूलो र मिनी क्यासिनो सञ्चालनका लागि अनुमति लिने कम्पनीको संख्या २६ पुगेको विभागका होटेल शाखाका अधिकृत दाहालले बताए । एउटै कम्पनीले विभिन्न ठाउँका होटेलमा चार–पाँचवटासम्म मिनी क्यासिनो सञ्चालन गर्ने स्वीकृति लिएका छन् ।
तीन क्यासिनो उद्योग विभागमा दर्ता
चालू आर्थिक वर्षमा ग्रिन ज्याकपट इन्टरटेनमेन्ट प्रालि, भेन्टेन इन्टरटेनमेन्ट प्रालि र किङसवरी इन्टरटेनमेन्ट गरी तीनवटा क्यासिनो उद्योग विभागमा दर्ता भएका छन् । यीमध्ये किङ्सवरी इन्टरटेनमेन्टले झापाको बिर्तामोडमा रहेको पाँचतारे डिलक्स होटेल किङ्सवरीमा पूर्ण क्षमताको क्यासिनो सञ्चालन गर्ने बताएको छ । १३ भदौमा दर्ता भएको २५ करोड कुल लगानी रहने यस क्यासिनोले वर्षमा ९४ हजार ६ सय विदेशीलाई क्यासिनो खेलाउनेछ भने ७९ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएको छ ।
५ भदौमा दर्ता भएको ग्रिन ज्याकपटले कपिलवस्तुको शिवराज नगरपालिका–२ मा रहेको लुम्बिनी ग्रिन रिसोर्टमा मिनी क्यासिनो सञ्चालन गर्ने बताएको छ । कुल २० करोड पुँजी रहेको यस क्यासिनोले वार्षिक ७६ हजार ६ सय ५० विदेशीलाई सेवा दिने र ८१ जनालाई रोजगारी दिने प्रतिबद्धता जाएको छ । यस्तै, पोखराको हेरिटेज होटेल स्विट्स एन्ड स्पामा खुल्ने भेन्टेन इन्टरटेनमेन्टले वर्षमा ९१ हजार दुई सय ५० विदेशीलाई सेवा दिने र ६५ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएको छ । यस क्यासिनोमा २० करोड लगानीको प्रतिबद्धता छ ।