एमाले खोटाङले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार छनोटमा सहमति जुटाउन सकेन। एमाले खोटाङले प्रतिनिधिसभाको एक र प्रदेश सभा (क)को एक सिटका लागि सहमति गरेर एक–एकजनाको मात्र नाम सिफारिस गर्ने गरी छलफल गरे पनि सहमति जुटाउन नसकेको हो।
पार्टी कार्यालय पुष्पलाल स्मृति भवन दिक्तेलमा दुई दिनसम्म चलेको क्षेत्रीय समिति र जिल्ला समितिको बैठकहरूमा सहमतिको प्रयास गरिएको थियो। प्रतिनिधिसभा सदस्यको आकांक्षी उम्मेदवारले आ–आफ्नो अडान कायमै राखेपछि बैठकले सबै आकांक्षीको नाम समेटेर केन्द्रमा पठाएको छ।
प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ पोलिटब्युरो सदस्य एवं एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, केन्द्रीय सदस्यहरू खगेन्द्र राई, उषाकला राई र रमेश पौडेल, प्रदेश सदस्यहरू पाँचकर्ण राई ‘पिके’, राजन ढकाल र देवान राईको नाम सिफरिस गरिएको छ। यस्तै, समानुपातिकतर्फ केन्द्रीय अनुशासन आयोग सदस्य कर्णबहादुर घले, जिल्ला सचिवालय सदस्य रमेश परियार र जिल्ला सदस्य राजकुमारी राईको नाम सिफारिस गरिएको जिल्ला सचिव कुमार आचार्यले जानकारी दिए।
प्रदेश सभा (क)बाट एक सिटका लागि जिल्ला उपाध्यक्ष देवविक्रम राई, प्रदेश समिति सल्लाहकार सर्वधन राई, जिल्ला सचिवालय सदस्य लीलानाथ निरौला र जिल्ला सदस्य अनिसा खनालको नाम प्रत्यक्षमा सिफारिस भएको छ। समानुपातिकमा प्रदेश सदस्य कमल बुढाथोकी, जिल्ला सदस्यहरू अडिराम राई, उमा गुरुङ, दुर्गा पोखरेल, निर्मला आचार्य, मनिशोभा राई ‘मायाँ’ र सुवास राई, लेखा आयोगका संयोजक श्यामकुमार पोखरेल तथा ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्य चन्द्रसिंह बस्नेतको नाम सिफारिस गरिएको छ।
प्रदेशसभा (ख)मा भने जिल्ला अध्यक्ष रामप्रसाद दंगालको एक मात्र नाम सर्वसम्मत सिफारिस भएको छ। प्रदेश सभा (ख)मा अन्य नेताहरू कसैको पनि दाबी नरहेकाले दंगालको एकल नाम सिफारिस भएको सचिव आचार्यले जानकारी दिए।
समानुपातिकतर्फ प्रदेश समिति सदस्य दूधराज तामाङ, सचिवालय सदस्यहरू चर्चबहादुर विश्वकर्मा, दिलचक्र राई र गीतामाया राई तथा जिल्ला सदस्यहरू पूर्णमाया तामाङ र भगवती प्रधानको नाम सिफारिस भएको छ। जिल्लाबाट धेरै आकांक्षीको नाम सिफारिस भए पनि प्रतिनिधिसभामा भट्टराई, प्रदेश सभा (क)मा पाँचकर्ण राई ‘पिके’ र प्रदेश सभा (ख)मा दंगालको टिकट कायम हुने स्रोतको दाबी छ।