गठबन्धनका शीर्ष नेताले जुटाउन सकेनन् सिट बाँडफाँडमा सहमति

दुई दिनभित्र निर्वाचन क्षेत्रअनुसार बाँडफाँडमा सहमति खोज्न कार्यदललाई निर्देशन

सोमबार, २० भदौ, २०७९
डिजिटल संस्करण

कार्यदलमै फर्कियो जिम्मेवारी

सत्तारूढ पाँचदलीय गठबन्धनका शीर्ष नेताहरूले सिट बाँडफाँड मिलाउन नसकेपछि पुनः कार्यदललाई नै जिम्मेवारी दिएका छन् । आइतबार कार्यदलका सदस्यसहित बसेको गठबन्धनको बैठकमा दलहरूले आ–आफ्नो दाबी कायमै राखेपछि बाँडफाँड टुंगिन नसकेको हो । अपराह्न ३ बजेदेखि करिब तीन घन्टा चलेको बैठकले अन्ततः कार्यदललाई नै निर्वाचन क्षेत्रअनुसार सहमति खोज्ने जिम्मेवारी तोकेको छ । सहमति जुटाउने समय दुई दिन दिइएको छ । 

‘अब दुई दिन पर्खिनुस् । बैठक जारी छ, भोलि (सोमबार) १ बजे फेरि कार्यदलको बैठक बस्छ,’ आइतबार साँझ बैठकबाट निस्किएपछि कांग्रेसका तर्फबाट कार्यदल सदस्य रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘कार्यदलले दुई दिन लगातार बैठक बसेर सहमति खोज्छ । त्यो निर्णय शीर्ष तहमा छलफल हुन्छ । त्यसपछि सबै प्रश्नको जवाफ पाउनुहुन्छ । अब न्यायोचित, सम्मानजनक र सबैले जितेको भावमा सहमति हुन्छ ।’

कार्यदलका अर्का सदस्य जसपाका रामसहायप्रसाद यादवका अनुसार सबै दलले बढी सिट दाबी गरेपछि शीर्ष तहका नेताहरूको बैठकमा पनि सहमति जुट्न नसकेको हो । ‘सबै बढी खोज्ने, कोही घट्नै नचाहने,’ उनले भने, ‘त्यसैले जिम्मेवारी कार्यदलमै फर्कियो । अब कसले कहाँ जित्छ, त्यो विश्लेषणसहित निर्वाचन क्षेत्रअनुसार सहमति खोज्न भनिएको छ । भोलि (सोमबार)को कार्यदल बैठक त्यसैमा केन्द्रित हुन्छ ।’

सहमतिमा बाधक को ? 

गत शुक्रबार सुर्खेत पुगेर माओवादी अध्यक्ष पुष्कमल दाहाल (प्रचण्ड)ले शनिबारसम्म प्रदेश र प्रतिनिधिसभाको सिट बाँडफाँड प्याकेजमै सक्ने बताएका थिए । तर, आइतबारसम्म पनि सहमति हुन सकेन । आइतबार गठबन्धनको बैठक बस्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीच सिट बाँडफाँडबारे छलफल भएको थियो । स्रोतका अनुसार उनीहरूबीच संख्यामा सहमति हुन सकेन । तर, दुवैबीच ‘को नेता, कुन क्षेत्रबाट उठ्दा जित निकाल्न सहज हुन्छ, त्यसैअनुसार बाँडफाँड गर्ने’ भन्ने समझदारी बन्यो । तर, दिउँसो बसेको गठबन्धनका शीर्ष नेतासहितको बैठकमा भने सबै दलले पुरानै दाबी दोहो¥याए । कांग्रेस ८६ सिट तल झर्न नसकिने अडानमै देखियो भने माओवादी केन्द्रले ६० र एकीकृत समाजवादीले ४०, जसपाले ३० सिटकै दाबी दोहो¥याए । 

शनिबार मात्रै पेसागत महासंघको जिल्लास्तरीय भेला सम्बोधन गर्न विराटनगर पुगेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेसको अहंकारका कारण सहमति हुन नसकेको संकेत गरेका थिए । कांग्रेसभित्रै किचलो हुँदा सिट बाँडफाँडमा कठिनाइ भएको उनको भनाइ थियो । ‘कुन ठाउँमा कुन दललाई दिँदा जित सुनिश्चित हुन्छ, त्यहीअनुसार भागबन्डा गरौँ भन्ने मेरो मान्यता हो,’ उनले भनेका थिए, ‘हामीले छलफल चलाइरहेका छौँ, तर कांग्रेसमा अहंकार देखिएको छ । हामीलाई सय सिट चाहियो, उब्रिएको तिमीहरू बाँड भन्छन् । हामीले उनीहरूलाई जवाफ दिएका छौँ, हैसियतभन्दा बढी माग्ने काम नगर ।’

०७४ को निर्वाचनमा प्रत्यक्षतर्फ २३ सिट ल्याएको कांग्रेसले त्यसको तीन गुणाभन्दा बढी खोज्न नहुने नेपालको भनाइ थियो । ‘२३ को तीन गुणा ६९ सिट, त्यसमा एउटा थपिदिँदा ७० सिट हुन्छ । हामी ७० भन्दै छौँ, उनीहरू सय भन्दै छन् । मिलाउनैे गाह्रो छ । बालुवाटारमा बालुवा पेलेकापेल्यै छौँ, त्यो बालुवाबाट तेल निस्किएको छैन,’ उनको यही आशय आइतबारको बैठकमा पनि प्रस्तुत भएको एक नेताले बताए । 

गत बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कुल एक सय ६५ मा ५० प्रतिशत सिट कांग्रेसले राखेर बाँकी अरूलाई दिनुपर्ने प्रस्ताव गरेका थिए । सोही बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने कांग्रेसले ७० सिट राखेर बाँकी अरूलाई दिनुपर्ने प्रस्ताव गरेको कार्यदलका एक सदस्यले बताए । कांग्रेसका नेताहरू भने न्यूनतम ९० सिटभन्दा तल झर्न नसकिने अडानमा छन् । उनीहरूले यसअघि सय सिटमा दाबी गर्दै आएका थिए । गठबन्धनमा माओवादीले ६० सिट दाबी गर्दै आएको छ भने एकीकृत समाजवादीले २० सिट र जनता समाजवादी पार्टीले १५ सिट दाबी गर्दै आएको छ ।

त्यस्तै, जसपा अध्यक्ष उपेन्द्र यादव पनि आफूहरूलाई कम आँके एक्लै लड्ने भन्दै गठबन्धनमा ‘घुर्की’ लगाइरहेका छन् । गत बिहीबार बसेको शीर्ष नेताहरूको बैठकमा उनले यही आशय प्रकट गरेका थिए । गठबन्धनले १५ सिट मात्रै दिए आफूहरूलाई केही फाइदा नहुने उनले तर्क दिए । ‘गठबन्धनले १५ सिट दिए पनि हाम्रो पार्टीले जित्ने भनेको त्यही नौ सिट हो । त्यो त हामी एक्लै लड्दा पनि जित्छौँ,’ स्रोतका अनुसार गठबन्धनका नेतासामु उनले यस्तै भनेका थिए ।

शीर्ष नेताहरूकै यस्तो अभिव्यक्तिले सिट बाँडफाँड झन् कठिन हुने स्पष्ट संकेत गर्छ । राष्ट्रिय जनमोर्चाबाट कार्यदल सदस्य रहेका हिमाल पुरीले ठूला दलहरूको अस्वाभाविक दाबीले नै सिट बाँडफाँड निष्कर्षमा नपुगेको बताए । ‘कोही दल कम छैनन्,’ उनले भने, ‘सबै दल सिट बढाएरै दाबी गर्छन्, घट्न त तयार नै देखिँदैनन् । अब हेरौँ, निर्वाचन क्षेत्रअनुसार छलफल गर्दा के कुरा आउँछ ।’

अझ गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसभित्र त सय सिटभन्दा तल झर्न नहुने शेखर कोइरालालगायत नेताको सुझावका कारण देउवा ठूलो दबाबमा छन् । यहीबीचमा कोइरालाले एमाले अध्यक्ष ओलीसँग बालकोटमै पुगेर भेट्नुले पनि दबाब थपेको छ । गत बिहीबारको बैठकमा देउवाले कांग्रेस ८६ सिटसम्म झर्न सक्ने संकेत गरेपछि नै यसले कांग्रेसभित्र हलचल ल्याएको थियो । रामचन्द्र पौडेल र गगन थापा नै यसमा सहमत देखिएका थिएनन् । थापा कोइरालाकै लाइनमा सय सिट तल झर्न नहुने अडानमा थिए भने पौडेल ९० त चाहिन्छ नै भन्ने पक्षमा थिए । आइतबारको बैठकमा पनि उनीहरूले यही दाबी कायम राखेको बैठकमा सहभागी एक नेताले भने । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ देशभर एक सय ६५ निर्वाचन क्षेत्र रहेकामा दलहरूको दाबी जोड्दा दुई सय ३० भन्दा बढी पुग्छ । 

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन भएको करिब एक महिना पुग्दा पनि बैठक मात्रै लम्बिरहेको छ, सिट बाँडफाँडमा सहमति हुन सकेको छैन । तर, निर्वाचन आयोगले तयार गरेको आन्तरिक कार्यतालिकाअनुसार २ र ३ असोजमा समानुपातिकतर्फको बन्दसूची पेस गर्ने समय छ । जसका लागि दलहरूसँग १५ दिन मात्रको समय छ । त्यस्तै, २३ देखि २६ असोजसम्ममा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको कार्यतालिका छ ।समयको यही पाबन्दीलाई मध्यनजर गर्दै आइतबार गठबन्धनका शीर्ष नेताहरूको बैठकले दुई दिनभित्र सहमतिमा पुग्ने गरी निर्णय गर्न कार्यदललाई सुझाइसकेको छ । तर, दलहरूलाई बैठकमा सधैँ उही अडान र शैलीसहित प्रस्तुत भएसम्म सहमतिमा पुग्न कठिन देखिन्छ । 

ज्ञानेन्द्रबहादुर कार्की, कार्यदल सदस्य
अब दुई दिन पर्खिनुस् । बैठक जारी छ, भोलि (सोमबार) १ बजे फेरि कार्यदलको बैठक बस्छ । कार्यदलले दुई दिन लगातार बैठक बसेर सहमति खोज्छ । त्यो निर्णय शीर्ष तहमा छलफल हुन्छ । त्यसपछि सबै प्रश्नको जवाफ पाउनुहुन्छ । अब न्यायोचित, सम्मानजनक र सबैले जितेको भावमा सहमति हुन्छ ।

रामसहायप्रसाद यादव, कार्यदल सदस्य
सबै बढी खोज्ने, कोही घट्नै नचाहने । त्यसैले जिम्मेवारी कार्यदलमै फर्कियो । अब कसले कहाँ जित्छ, त्यो विश्लेषणसहित निर्वाचन क्षेत्रअनुसार सहमति खोज्न भनिएको छ । भोलि (सोमबार)को कार्यदल बैठक त्यसैमा केन्द्रित हुन्छ ।

सुझावित समाचार