घोराही–तुलसीपुर ४ लेन : ४ महिनामा ४ प्रतिशत प्रगति

आइतबार, १९ भदौ, २०७९
डिजिटल संस्करण

घोराही–तुलसीपुर ४ लेनको कामले तीव्रता लिन सकेको छैन। पछिल्लोपटक श्रेष्ठ कम्पनीका रोशन श्रेष्ठले काम गरिरहेका छन्। सोही सडकमा पेटी ठेकेदारका रूपमा श्रेष्ठ आएको ७औँ ठेकेदार हुन्। उनले गएको वैशाखदेखि काम सुरु गरे। उनले काम सुरु गरेको ४ महिनासम्ममा ४ प्रतिशत मात्रै प्रगति देखिएको छ। 

चार लेन सडक आयोजना प्रमुख अर्जुन बमका अनुसार पछिल्लो समय रोशन श्रेष्ठले ठेक्का पाएको ४ महिनामा ४ प्रतिशत मात्रै प्रगति भएको देखिएको छ। यसअघिका ठेकेदारले ६ प्रतिशत मात्रै काम गरेका थिए, अहिले श्रेष्ठ आएपछि थप ४ प्रतिशत काम गरेर जम्मा १० प्रतिशत काम पूरा भएको उनले बताए।

यो एकदमै न्यून प्रगति भएको प्रमुख बमले बताए। ‘पछिल्लो ठेकेदारको काम गर्ने जुन गति छ, यो गतिप्रति हामी कति पनि सन्तुष्ट छैनौँ,’ उनले भने, ‘यो काम देखेर ठेक्का तोड्ने कुरा पनि नभएको होइन तर विभिन्न कानुनी अड्चन देखिन्छन्।’

कामको गति शून्य देखिएपछि जिल्लाका सरोकारवालाले पनि ठेक्का तोड्ने निर्णय गरिसकेका छन्। दाङका प्रमुख जिल्ला अधिकारी हिरालल रेग्मी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, दाङका प्रहरी प्रमुख, यातायात व्यवसायी, सम्बन्धित सरकारी कार्यालयका प्रमुखलगायतको सहभागितामा भएको बैठकले दसैँअगाडि चारलेनबीचमा बनाएका खाल्डा पुर्नुपर्ने, डिसेम्बरसम्म ३० प्रतिशत काम सक्नुपर्ने, यदि नसके ठेक्का रद्ध गर्ने निर्णय गरेको छ।  

सुझावित समाचार