क्षेत्रबाट निषेध गर्ने नियतले नाम सिफारिस भए जिल्लाले हस्तक्षेप गर्ने
काठमाडौंले कसैमाथि द्वेष राखेर क्षेत्रीय कार्यसमितिले नाम सिफारिस नगरेको पाइए हस्तक्षेप गर्ने भएको छ । काठमाडौंका १० वटै निर्वाचन क्षेत्रका क्षेत्रीय समितिले सिफारिस गरेका उम्मेदवारका आकांक्षीबारे गुनासो आएपछि जिल्ला कार्यसमितिले तल्लो तहबाट आएका सिफारिसका सम्बन्धमा छानबिन गरी नाम समावेश गरेर प्रदेश कार्यसमितिमा सिफारिस गर्ने निर्णय गरेको हो ।
कांग्रेस काठमाडौं जिल्ला सभापति कृष्ण बानियाँ(सबुज)ले शनिबार जिल्ला कार्यसमिति बैठकले यस्तो निर्णय गरेको जानकारी दिए । ‘संगठनमा कसैले द्वेष राखेर क्षेत्रबाट नाम सिफारिस नगरी पठाएको पाइएमा जिल्लाले बायोडाटासहित नाम समावेश गरेर सम्बन्धित निकायमा सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको छ,’ उनले नयाँ पत्रिकासँग भने ।
काठमाडौंका १० वटै प्रतिनिधिसभा र २० वटा प्रदेश सभा निर्वाचन क्षेत्रको सिफारिस जिल्ला कार्यसमितिमा आएको र विवरण यकिन गर्ने कार्य भइरहेको उनको भनाइ छ । जिल्लामा नाम सिफारिस भएसँगै उम्मेदवार बन्न क्षेत्रमा निवेदन दिएका, तर क्षेत्रले नाम सिफारिस नगरेको भन्दै कांग्रेसमा असन्तुष्टि देखिएको छ । नाम सिफारिसमा नपरेका कतिपयले पार्टीमा गुट, उपगुट र निषेध गर्ने मनसायले नाम सिफारिस नगरिएको गुनासो गर्दै आएका छन् ।
‘मेरो नाम निवेदनमा परे पनि क्षेत्रीय सभापतिले निषेधको मनसाय राखेर सिफारिस गरिएन,’ काठमाडौं– ७ मा उम्मेदवारको सिफारिसका लागि निवेदन दिएका कांग्रेस नेता प्रगतिमान रञ्जितले नयाँ पत्रिकासँग भने । जिल्ला कार्यसमितिले एकै सिटका लागि आएका एकभन्दा बढी सिफारिसलाई सर्वसम्मत रूपमा नाम सिफारिसका लागि पहल गर्ने जिम्मेवारी जिल्ला सभापति बानियाँलाई दिएको छ । ‘काठमाडौंको संगठनलाई मर्यादित र क्रियाशील बनाउन काठमाडौं जिल्ला सभापतिलाई सिफारिस भई आएकोमा सर्वसम्मत टिकट प्राप्त गर्न सम्बन्धित निकायलाई पठाएर निर्णय कार्यान्वयनका लागि पठाउन सर्वसम्मतले निर्णय भएको छ,’ निर्णयमा भनिएको छ ।
कार्यसमितिले विधानको व्यवस्थाअनुसार आएका नाममध्ये उपयुक्त व्यक्तिको सम्बन्धमा रायसहित माथिल्लो निकायमा सिफारिस गर्ने निर्णयसमेत गरेको छ । ‘जिल्ला कार्यसमितिले पार्टी हित र संगठनलाई निर्वाचनमा परिचालनका लागि सहज बनाउन यस्तो निर्णय गरेको हो,’ सभापति बानियाँले भने ।
कांग्रेस विधानको दफा ३२ को उपदफा ८ मा प्रतिनिधिसभाको उम्मेदवारी सिफारिसको व्यवस्था रहेको छ । संविधानको व्यवस्थाअनुसार प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारीका लागि प्रत्यक्षतर्फ बढीमा तीनजना र समानुपातिकतर्फको समावेशी सिद्धान्तसमेतको आधारमा कम्तीमा एक महिलासहित बढीमा दुईजनाको नाम सहमति हुन सकेमा सहमतिअनुसार र सहमति हुन नसके बहुमतबाट निर्णय गरी जिल्ला कार्यसमितिमा सिफारिस गर्नुपर्ने हुन्छ ।
तत्पश्चात् जिल्ला कार्यसमितिले रायसहित प्रदेश कार्यसमितिमा पठाउने, प्रदेश कार्यसमितिले जिल्लाबाट सिफारिस नाममा रायसहित केन्द्रमा पठाउने र केन्द्रीय संसदीय समितिले उम्मेदवारको नामको अन्तिम टुंगो लगाउने व्यवस्था छ ।
को को भएका थिए सिफारिस ?
- काठमाडौं १ – प्रकाशमान सिंह
- काठमाडौं २ – लोकेश ढकाल, दीपक कुइँकेल र प्रतिमा गौतम
- काठमाडौं ३ – अम्बिका बस्नेत, सन्तोष चालिसे र हरिबोल भण्डारी
- काठमाडौं ४ – गगन थापा
- काठमाडौं ५ – डा. प्रकाशशरण महत, रमेश खड्का, श्याम खड्का, प्रेम खड्का, दामोदर खड्का, सुधा शर्मा, सम्पूर्णनारायण श्रेष्ठ
- काठमाडौं ६ – भीमसेनदास प्रधान र कृष्ण बानिँया (सबुज)
- काठमाडौं ७ – विनोद पन्त, दयाराम पाण्डे, दक्ष पौडेल, डा.रामशरण थपलिया, निलकाजी शाक्य, प्रमोदहरि गुरागाई, सरोज थापा, सुशील भट्ट, प्रमिलासिंह डंगोल
- काठमाडौं ८ – राजुराज जोशी र सपना जोशी
- काठमाडौं ९ – ध्यानगोविन्द रञ्जित, नानु बास्तोला, तीर्थराम डंगोल, गौरिप्रसाद दवाडी, जयकृष्ण महर्जन र धर्मराज गौतम
- काठमाडौं १० – राजन केसी