नोइडाका दुई गगनचुम्बी भवन भत्काउँदा आएको धुवाँ–धुलोको भीमकाय एवं नाटकीय आभामण्डल जग्गा, निजी रियल स्टेट, खेलाडी र राज्यको सम्बन्ध देखाउने एक सशक्त बिम्ब हो । यो परिघटना मुलुकका जनताका विभिन्न तप्कालाई निजी निवास चाहिन्छ भन्ने महत्वाकांक्षाले सिर्जना गरेको हो । जसै ग्रामीण इलाकाका ठूला क्षेत्रफलका जमिन आवासीय इलाका बनेका छन्, त्यसले नयाँ समूहको निर्माण गरेको छ । यो प्रक्रिया नै राज्य एवं रियल स्टेट कम्पनीबीचको अदृश्य सम्बन्ध हो । यही २८ अगस्टमा निम्तिएको धुवाँ–धुलोको घना बादलको आकृतिले प्रस्टसँग यो अदृश्य सम्बन्धलाई झल्काउँछ । भग्नावशेषको धुवाँ–धुलोयुक्त आकृति लोकतन्त्रको राजनीतिक एवं सामाजिक अर्थतन्त्रका लागि हानिकारक छ भन्ने देखाउँछ । धुलिसात् पारिएका यी दुई अवैध गगनचुम्बी भवनको कथावरिपरि घुमिरहेको राष्ट्रिय तमासाको सुरुवात सन् १९८० को दशकको मध्यताका सुरु भएको हो ।
दिल्ली र वरिपरिका क्षेत्र (राष्ट्रिय राजधानी क्षेत्रमा) २०औँ शताब्दीमा सरकारका कामकारबाहीका कारण जग्गाको बजार तेजीसाथ फैलियो । २०औँ शताब्दीको पहिलो ५० वर्षका दौरान निजी व्यापारीलाई जमिनमा प्रवेश पाउन गाहै्र थियो । जमिनसम्बन्धी सन् १९३७ मा स्थापित दिल्ली इम्पु्रभमेन्ट्स ट्रस्ट र सन् १९५७ मा स्थापित दिल्ली डेभलपमेन्ट अथोरिटीले जमिन नियन्त्रणमा प्रभावकारी ढंगले एकाधिकार जमाएको थियो । यी संस्थाका कामकारबाहीले जमिनको मूल्य अत्यधिक बढ्यो र सामान्य बसोवासका लागि चाहिने पूर्वाधारको प्रबन्ध गर्न नसकिएर ठूलो हिस्सालाई अलग्यायो । यी निकायले निजी क्षेत्रलाई रोके तर यो रोकावट सार्वजनिक हितका लागि थिएन ।
दिल्लीमा सरकार नै जमिनको एकाधिकारी बनेपछि निजी क्षेत्रका खेलाडी दिल्लीबाहिरका क्षेत्र ताक्न थाले । दिल्लीलाई घेर्ने हरियाणा र उत्तर प्रदेशका इलाका सहरीकरणको महŒवपूर्ण विन्दु बन्न पुगे । सन् १९८० को मध्यताका घरजग्गाका लागि ऋण प्रवाह हुने नयाँ स्रोतको विकास, मध्यमवर्गको फैलावट र वैदेशिक विप्रेषण बहाव बढेसँगै निजी क्षेत्रको घरजग्गा बजार चुलिन थाल्यो । जग्गा खरिदबिक्रीका स्पष्ट औपचारिक नीति भए पनि वास्तवमा कारोबार अत्यधिक अनौपचारिक भयो र सार्वजनिक हितविरुद्ध गयो । विचित्र भनौँ वा स्वाभाविक, राज्यका विभिन्न तहले यो प्रक्रिया रुचाउन थाले ।
पहिलेझैँ अहिले पनि पर्खालबन्द निजी आवासीय क्षेत्र सडकजस्ता सार्वजनिक जग्गा मिचेर निर्माण भएका छन्, अर्थात् नक्सामा देखिने सोझा सडक सबै पक्षका नाफाका लागि नागबेली बनेका छन् । यसमा निःसन्देह सरकारका विभिन्न तह, नेता, घरजग्गा कम्पनी, जग्गा सर्भेयर र विभिन्न किसिमका दलालको साँठगाँठ देखिन्छ । ग्रामीण एवं सहरी क्षेत्र जोड्ने इलाकामा जमिनसम्बन्धी विविध व्यवस्था, भिन्न किसिमका मापन मानक र परियोजना तर्जुमाका नीतिले पारदर्शी संरचना निर्माण गर्न दिँदैन । जग्गासम्बन्धी सरोकारवाला मुख्यतः राज्यबीच रहेको प्रगाढ सम्बन्धले समस्या निवारणका लागि बनाइएका प्राविधिक समाधानलाई सजिलै मिल्काइदिन्छ ।
यदि सहरी समस्याको समाधान नोइडामा भएको दृश्यलाई मानिन्छ भने त्यो सबैभन्दा ठूलो त्रासदी हुनेछ
नोइडाका गगनचुम्बी भवन भत्काइँदाको भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भएको छ, जहाँ भवन धुलिसात् हुँदा मानिस ताली पिटिरहेका छन् र वाहवाही व्यक्त गरिरहेका छन् । यो प्रोत्साहनलाई शक्तिशाली ‘निर्माण माफिया’लाई पिँधमा परेका जनताले प्रवाह गरेको सन्देशका रूपमा लिइएको छ । तर, यो बुझाइले यस्तो प्रक्रियालाई लुकाइदिएको छ, जसले निर्माण माफिया सार्वजनिक हितविरुद्ध काम गरिरहेका छन् भन्ने सहजै ठम्याउन सकिँदैन । बरु हामी यस्तो अवस्थामा बाँचिरहेका छौँ, जहाँ राज्य र घरजग्गा व्यापारीबीच यस्तो प्रगाढ सम्बन्ध छ, हामीकहाँ राज्यको स्वार्थ समाप्त हुन्छ र कहाँ व्यापारीको स्वार्थ सुरु हुन्छ भनेरसमेत ठम्याउन सक्दैनौँ ।
नोइडा भवन भत्काएको हेर्न मन पराउनेले समेत रुचाएको जग्गा बजारको चरम फैलावटसँगै भइरहेको राज्यको निगमीकरणले गर्दा जनहितको जगेर्ना गर्ने काम साहै्र चुनौतीपूर्ण बन्दै गएको छ । भवन ध्वंस गर्ने कानुनी पाटोबाहेक यी ध्वंसात्मक कार्यलाई जसरी हामीले उत्सवका मनाइरहेका छौँ, त्यसले सहर र सहरी जीवनप्रतिको हाम्रो खतरनाक बुझाइलाई सतहमा ल्याइदिएको छ । ‘सबै गैरकानुनी संरचनालाई धुलोपिठो’ बनाइदेऊ भन्न त साहै्र सजिलो छ । तर, एक चरम असमानता भएको सहरमा यसले जोखिममा रहेका सहरका बासिन्दाप्रति असंवेदनशील रबैया निर्माण गरिदिन्छ । र, नोइडाका भवन भत्काउन जसले कैयौँ अप्ठ्यारा झेलेर मुद्दा लडे, त्यो हेर्दा न्यायको प्राप्ति क्षमतामा आधारित छ भन्ने देखाउँछ । यदि सहरी समस्याको समाधान नोइडामा भएको दृश्यलाई मानिन्छ भने त्यो सबैभन्दा ठूलो त्रासदी हुनेछ ।
नोइडामा भएजस्ता हरेक विध्वंसले हाम्रा सहरले समयक्रममा ठडिएका वैधानिक बनाइएका अवैधानिकता संरचनालाई झल्काउनेछ । शक्तिशालीले जंगल क्षेत्रलाई अतिक्रमण गरेर बनाएको आवास, इन्क्लेभजस्ता संरचना अझै विद्यमान छन् । यिनले सहरी वातावरण त बिगार्ने नै छन्, त्यसबाहेक यसले अन्यायपूर्ण सहर सिर्जना गर्नेछ । अवैधानिक संरचना भत्काउन जति सजिलो छ, सरकार, जग्गा बजार र हाम्रो संलग्नताबीचको सम्बन्ध खुट्याउन त्यति नै गाह्रो छ । विध्वंस रोमाञ्चकारी परिघटना हुन सक्छ तर सहरलाई सुधार्ने उपाय भने हुन सक्दैन । विध्वंसका घटनाको भिडियो क्लिपलाई सामाजिक एवं राजनीतिक मामिलामा जनताको आक्रोशका रूपमा बुझियो । हामीले भवन धुलिसात् हुँदा खुसी मनायौँ तर ती भवन किन बने भनेर कहिल्यै प्रश्न गरेनौँ । नोइडाका भग्नावशेष केही दिनमा व्यवस्थापन होला, तर यसले निम्त्याएको बादल आकृति जीवित रहिरहनेछ ।
(श्रीवास्तव समाजशास्त्री हुन्, उनी युनिभर्सिटी अफ लन्डन एसओएसमा प्राध्यापन गर्छन्) द इन्डियन एक्सप्रेसबाट