नवनियुक्त प्रशिक्षक मनोज प्रभाकरले नेपाली राष्ट्रिय क्रिकेट टोलीसँगको केन्या भ्रमण पहिलो चरणमा सफल बनाएका छन् । नेपालले केन्यासँग पाँच अन्तर्राष्ट्रिय टी–२० खेलेको थियो । सिरिज नेपालले ३–२ ले जित्यो । पहिलो चार खेलमा दुवै राष्ट्रले २–२ को बराबरी गरेका थिए । पाँचौँ तथा अन्तिम खेलमा नेपालले केन्यालाई ३१ रनले हराउँदै सिरिजमाथि कब्जा जमायो ।
टी–२० सिरिजमा आशा गरेका खेलाडी चम्कन सकेनन् । त्यहीँ नै पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, डेब्यु खेलाडी अर्जुन साउद, कप्तान सन्दीप लामिछाने तथा रोहितकुमार पौडेलले उत्कृष्ट प्रदर्शन गर्न सफल भए ।
डेब्यु खेलमै अर्जुनले सनसनी प्रदर्शन गरेका थिए । राष्ट्रिय टोलीमा कमब्याक गरेका मल्ल आफू अझै पनि रनको भोको भएको देखाउँदै केन्याली बलरविरुद्ध खनिए । मध्यक्रमका सदावहार ब्याट्सम्यान रोहितले नेपाली टोलीबाट सर्वाधिक रन बटुले । कप्तान सन्दीपले चार खेलमा उत्कृष्ट बलिङ प्रदर्शन गरी प्रतियोतिगाकै सर्वाधिक ११ विकेट लिए । टी–२० सिरिजमा नेपाली खेलाडीहरूको प्रदर्शन यस्तो छ
रोहितकुमार पौडेल
पाँच खेल : १५६ रन
नेपालले मध्यक्रममा एक भरपर्दो ब्याट्सम्यानका रूपमा रोहितलाई पाएको छ । नेपालले खेल गुमाउँदा र जित्दाको खेलमा रोहितले आफ्नो तर्फबाट उत्कृष्ट योगदान दिने गरेका छन् । केन्याविरुद्धको टी–२० सिरिजमा उनी पहिलो खेलमा मात्र चुकेका थिए । त्यसपछि उनको ब्याटिङमा सुधार आयो । चौथो र पाँचौँ खेलमा उनले समान ४७ रन बनाए । चौथो खेलमा नेपालले सय रन पनि कटाउन नसकेको अवस्थामा उनी एक्लैले ४७ रन बटुलेका थिए । पाँचाैँ तथा अन्तिम खेलमा उनले ४७ रनको इनिङ्स खेल्दै नेपाललाई विशाल योगफल पुर्याउन उल्लेखनीय योगदान दिए । समग्रमा उनले पाँच खेलबाट एक सय ५६ रन जोडे ।
ज्ञानेन्द्र मल्ल
पाँच खेल : १३५ रन
पूर्वकप्तान मल्ललाई एउटा अवसर चाहिएको थियो । मल्लले यो अवसर केन्याविरुद्धको सिरिजमा प्राप्त गरे । जसलाई उनले भरपूर सदुपयोग गरे । अमेरिका र स्कटल्यान्डको भ्रमणमा ओपनिङमा कुशल भुर्तेलले राम्रो प्रदर्शन गर्न नसकेको अवस्थामा मुख्य प्रशिक्षक मनोज प्रभाकरले सिनियर ब्याट्सम्यान मल्ललाई केन्या भ्रमणमा मौका दिए । मल्लले पाँच खेल खेल्दै एक सय ३५ रन जोडे । जसमा उनी दुईपटक म्यान अफ दी म्याचसमेत भए । करिअरकै दोस्रो टी–२० अन्तर्राष्ट्रिय अर्धशतकका रूपमा उनले पाँचौँ खेलमा ५९ रन जोडे । म्याच विनिङ प्रदर्शनमा उनले ४४ बलमा पाँच चौका र दुई छक्का प्रहार गरेका थिए । नेपालले केन्यालाई तीनवटा खेलमा हराउँदा मल्लले ब्याटिङमा महत्वपूर्ण योगदान दिएका थिए । उनले तेस्रो खेलमा ४६ रन बनाएका थिए ।
दीपेन्द्रसिंह ऐरी
चार खेल : ७० रन
केन्यासँगको टी–२० सिरिजमा आशा गरेका ब्याट्सम्यानमध्ये दीपेन्द्रसिंह थिए । आक्रामक ब्याटिङ गर्न रुचाउने दीपेन्द्रसिंहले सोचेजस्तो योगदान दिन सकेनन् । सियिनर खेलाडीका रूपमा उनले आफ्नो जिम्मेवारीलाई राम्रोसँग निर्वाह गर्न सकेनन् । उनी पहिलो तथा पाँचौँ खेलमा मात्र चम्के । यसबाहेक तीनवटा महत्वपूर्ण खेलमा उनको ब्याटिङबाट खासै रन निस्किएन । उनले पहिलो खेलमा ३३ रन तथा पाँचौँ खेलमा २२ रन जोडे । दुई खेलमा उनी समान ६ रनमै आउट भए । दोस्रो, तेस्रो र चौथो खेलमा दीपेन्द्रसिंहले अनावश्यक सट प्रहार गर्दा आउट भए । पाँच खेलमा उनको ब्याटबाट ७० रन मात्र निस्केको थियो ।
सन्दीप लामिछाने
पाँच खेल : ११ विकेट, ११ रन
नेपालका कप्तान सन्दीपले केन्याविरुद्धको सिरिजमा म्यान अफ दी सिरिज भए । प्रतियोगितामै सर्वाधिक विकेट लिएका कारण उनी म्यान अफ दी सिरिज बनेका हुन् । उनले एक सय ३६ रन खर्चंदै समग्रमा ११ विकेट हात पारे । यसै सिरिजमा उनले आफ्नो नाममा एउटा कीर्तिमानसमेत बनाए । प्रतियोतिगाअन्तर्गत चौथो खेलमा उनले पहिलोपटक टी–२० खेलमा पाँच विकेटको प्रदर्शन गरे । यद्यपि, यो खेलमा नेपालले सय रन पनि कटाउन सकेन । सन्दीपको उत्कृष्ट प्रदर्शनको मद्दतमा नेपालले चौथो खेलमा केन्यालाई एक सय एक रनमा अलआउट गरेको थियो । प्रत्युत्तरमा ब्याट्सम्यानले खराब ब्याटिङ प्रदर्शन गरेपछि नेपाल ९४ रनमै समेटियो । सन्दीप तेस्रो खेलमा मात्र विकेटविहीन भए । उनले तेस्रो खेलमा चार ओभर बलिङ गर्दा ४२ रन खर्चेका थिए । पहिलो तथा पाँचौँ खेलमा उनले समान दुई विकेट हात पारेका थिए । दोस्रो खेलमा उनले २६ रन खर्चेर तीन विकेट हात पारे ।
अर्जुन साउद
चार खेल : ७० रन, दुई क्याच, दुई स्टम्पिङ
विकेटकिपर ब्याट्सम्यानका रूपमा नेपाली टोलीले केन्याविरुद्ध अर्जुन साउदलाई उतारेको थियो । टी–२० फम्यार्टकै राम्रा युवा नेपाली खेलाडीमध्ये पर्ने अर्जुनले केन्याविरुद्ध तेस्रो खेलमा डेब्यु गरेका थिए । सिरिजमा नेपालले पहिलोपटक २–१ को अग्रता लिँदा अर्जुनले आफ्नो डेब्यु खेलमै सानदार प्रदर्शन गरे । अर्जुनले आफ्नो पहिलो टी–२० खेलमा विस्फोटक ब्याटिङ गर्दै वाहवाही कमाए । उनले ३१ बलमा दुई चौका र तीन छक्काको सहयोगमा ३५ रन जोडे । तीन खेलमा अवसर पाएका साउदले पाँचौँ खेलमा पूर्वकप्तान ज्ञानेन्द्र मल्लसँग पहिलो विकेटका लागि ६५ रनको साझेदारी गर्दै नेपाललाई ३–२ को सिरिज दिलाउन महत्वपूर्ण योगदान गरे । केन्याविरुद्धको समग्र टी–२० सिरिजमा उनले ७० रन बनाउनुका साथै दुई क्याच र स्टम्पिङसमेत गर्न सफल भए । यति वेला अर्जुनलाई नेपाली टोलीमा आक्रामक विकेटकिपिङ ब्याट्सम्यानका रूपमा हेरिएको छ ।
मोहमद आदिल आलम
पाँच खेल : ५० रन, विकेट : ५
केन्याविरुद्धको टी–२० सिरिजमा मोहमद आदिलले आफूलाई ब्याटिङका साथै बलिङमा पनि अगाडि राखे । पाँचै खेलमा ब्याटिङ अवसर पाएका आदिलले केवल ५० रन मात्र बनाए । बलिङका क्रममा उनले पाँच विकेट लिए । जसमा उनले ५६ रन खर्चेका थिए । दोस्रो तथा तेस्रो खेलमा मध्यक्रममा साझेदारी आवश्यक परेको वेलामा उनले आफ्ना साथीलाई गतिलो साथ दिए । दोस्रो खेलमा उनले २० रन तथा तेस्रो खेलमा १६ रनको योगदान दिए । यसबाहेक अन्य खेलमा भने उनको ब्याटिङ सन्तोषजनक रहेन । ब्याटिङमा चुकेको दिनमा उनले बलिङमा स्तरीय प्रदर्शन गरेका थिए ।