पाकिस्तानमा बाढी हजारभन्दा बढीको मृत्यु, तीन करोड तीस लाख प्रभावित

तीन लाख घर पूर्ण रूपले ध्वस्त, करिब १२ लाख बिघाको खेती नष्ट

सोमबार, १३ भदौ, २०७९
डिजिटल संस्करण
पाकिस्तानमा बाढी हजारभन्दा बढीको मृत्यु, तीन करोड तीस लाख प्रभावित

पाकिस्तानमा बाढीबाट डुबानमा परेको एक क्षेत्र र डुबानमा परेपछि सुरक्षित ठाउँको खोजीमा गइरहेका स्थानीय

पाकिस्तानको विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढीमा परी एक हजारभन्दा बढीको ज्यान गएको छ भने लाखौँ विस्थापित हुन पुगेका छन् । अहिलेको जलप्रकोपलाई पाकिस्तान सरकारले ‘गम्भीर जलवायु विपत्ति’ भन्दै राष्ट्रिय आपत्काल नै घोषणा गरेको छ । प्रधानमन्त्री सेहवाज सरिफले बेलायतको राजकीय भ्रमण स्थगित गर्दै अन्तर्राष्ट्रिय सहयोग संस्था एवं मित्रराष्ट्रहरूसँग सहयोगको अपिल गरेका छन् । 

पाकिस्तानको ठूलो भूभाग अहिले पानीमा डुबेको छ । बहुमत भूभाग समथर रहेको यो मुलुकको कम्तीमा २० देखि २५ प्रतिशत जमिनलाई बाढीले ढाकेको अनुमान छ । अहिलेको बाढीलाई सन् २०१० मा आएको जलप्रकोपसँग तुलना गरिएको छ । सन् २०१० मा अविरल वर्षाका कारण बाढी आउँदा पाकिस्तानमा दुई हजारभन्दा धेरैको मृत्यु भएको थियो भने २० प्रतिशत भूभाग पूरै जलमग्न बनेको थियो । अहिले आएको बाढीले करिब एकतिहाइ पाकिस्तान ढुबाएको आकलन छ । केही स्थानमा घरलाई नदेखिने गरी पानीले पुरेको र रूखका टुप्पा मात्रै देखिएको प्रत्यक्षीदर्र्शीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनले लेखेको छ ।

पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए)का अनुसार पाकिस्तानमा गत दुई महिनायता बाढी तथा जल उत्पन्न अन्य प्रकोपबाट एक हजार ३३ जना व्यक्तिको मृत्यु भएको छ भने एक हजार पाँच सय २७ जना घाइते भएका छन् । मर्नेहरूमा तीन सयभन्दा धेरै बालबालिका छन् । एनडिएमएले काबुल, इन्दुस र स्वातलगायत ठस्ला नदीआसपासका केही क्षेत्रमा अझै पनि उच्च बाढीको खतरा रहेको जनाएको छ ।

पछिल्लो २४ घन्टामा मात्रै एक सय १९ जनाको मृत्यु भएको जनाइएको छ । जलप्रकोपबाट खैबर पख्तुन्ख्वा, पन्जाब र सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित भएका छन् । अहिलेसम्म सिन्ध प्रान्तमा तीन सय ४७, बलुचिस्तानमा दुई सय ३८ र खैबर पख्तुन्ख्वामा दुई सय २६ जनाको मृत्यु भएको सरकारी तथ्यांकले देखाएको छ । 

बाढीबाट हरेक सातमध्ये एक पाकिस्तानी प्रभावित भएका छन् । सरकारी अधिकारीका अनुसार जलप्रकोपबाट अहिलेसम्म तीन करोड ३० लाख मानिस प्रत्यक्ष रूपले प्रभावित भएका छन् । कम्तीमा १० लाख घरमा क्षति पुगेको छ भने तीन लाखभन्दा धेरै घर पूर्ण रूपले ध्वस्त भएका छन् । एनडिएमएका अनुसार बाढीले करिब १२ लाख बिघाको खेती नष्ट गरेको छ । तीन हजार चार सय ५१ किलोमिटर सडकमा क्षति पुगेको छ भने एक सय ४९ पुल बगाएको छ । अधिकारीहरूले बाढीमा मर्ने चौपायाहरूको संख्या दशाैँ लाख पुग्न सक्ने आकलन गरेका छन् । 

दक्षिण एसियाली क्षेत्रमा वर्षको मौसमलाई बालीनालीको सिँचाइ र तालतलैया पुनरभरणको समयका रूपमा लिइन्छ । तर, यो समयमा हुने अत्यधिक वर्षाले ठूलो विनाश पनि निम्त्याउने गरेको छ । यो वर्ष पाकिस्तानका केही क्षेत्रमा औसतभन्दा करिब आठ गुणासम्म बढी वर्षा भएको छ । सबैभन्दा धेरै वर्षा सिन्ध प्रान्तमा भएको छ । यहाँ अघिल्लो वर्षको औसतभन्दा सात सय ४८ प्रतिशत र बलुचिस्तानमा औसतभन्दा पाँच सय प्रतिशतभन्दा बढी वर्षा भएको छ ।

सुझावित समाचार