लगानीकर्ता छोटेलाल रौनियार भन्छन्, ‘बजारले बढ्ने आधार खोजिरहेको छ, त्यो आधार पाएपछि बजारमा सुधार आउँछ’
साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३३ दशमलव ३६ अंकले घटेर नेप्से परिसूचक १९ सय ८९ दशमलव २६ बिन्दुमा आइपुगेको छ ।
त्यस्तै, ‘क’ वर्ग कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स दशमलव ६ अंकले घटेको छ । नेप्से सूचक १५ दिनको कारोबारसम्म २ हजार इन्डेक्सको मनोवैज्ञानिक बिन्दु मान्दै आएका लगानीकर्ता सो बिन्दुबाट पुनः बजार तल खसेको छ । अन्तरदिनको कारोबार १९ सय ८७ बिन्दुमा आएर केही सम्हालिएको थियो।
नेप्सेमा आइरहेको उत्तारचढावले लगानीकर्ता लगानी बढाउन तयार देखिएका छैनन् । नजिकिँदै गरेको चाडपर्वसँगै लगानीकर्ता लगानी बढाउनभन्दा पनि खर्चको जोहो गर्न थालेका छन् । दुई सातादेखि औसत एक अर्ब ६५ करोड रुपैयाँको कारोबार गर्दै आइरहेको बजारले आइतबार ६१ लाख ४८ हजार कित्ता सेयर खरिद–बिक्री गरी दुई अर्बमाथिको कारोबार भएको छ । लगानीकर्ताले सेयरमा लगानी बढाउन नसक्नुको मुख्य कारण नजिकिँदै गरेको चाडपर्व, मूल्यवृद्धि र बैंकको ब्याजदर बढ्न सक्ने हल्ला नै रहेकाे लगानीकर्ताले बताएका छन् ।
यद्यपि, लगानीकर्ता पूरै निराश भने भइसकेका छैनन् । यतिवेला कम्पनीहरूले लाभांश वितरण गर्ने समय पनि हो । केही कम्पनीले साधारणसभा बोलाउने र लाभांश प्रस्तावको कार्यलाई अघि बढाउन थालेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबन)ले नीति निर्माणलगायतको काम अघि बढाइरहेको छ । लगानीकर्ताले उठाएको मागलाई सम्बोधन गर्ने चरणमा तीव्रता देखाइरहेको छ ।
लगानीकर्ता छोटेलाल रौनियार भन्छन्, ‘बजारले बढ्न आधार खोजिरहेको छ, त्यो आधार पाएपछि बजारमा सुधार हुनेछ ।’ यस दिन सर्वाधिक गुमाउने समूहमा जलविद्युतका कम्पनीहरू रहेका छन् । जलविद्युतको ३ दशमलव ४२ प्रतिशतले घटेको छ ।
बजार घटेसँगै लगानीकर्ताले जलविद्युतकै सबैभन्दा बढी सेयर किनबेच गरेका छन् । अरुण काबेली पावर, शिवम् सिमेन्ट, अपि पावर कम्पनी, हिमालयन डिस्टिलरी, रिडी पावर कम्पनीको सेयर पाँच करोड रुपैयाँदेखि १० करोड ३३ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।
रुरु जलविद्युत् कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । अपर हेवा जलविद्युत् हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ६ प्रतिशतभन्दा बढीले घटेको छ ।