आगो निभाउन प्रयोग हुने फायर बाइक महानगरका कर्मचारीले दुरुपयोग गरेको पाइएको छ । महानगर वारुण नियन्त्रण तथा तालिम केन्द्रका नगर प्रहरी निरीक्षक विष्णु शर्मा दाहालले उक्त बाइक कार्यालय आउजाउमा प्रयोग गरिरहेका छन् । बौद्धस्थित केन्द्रको कार्यालयलाई महानगरको विपद् व्यवस्थापन महाशाखाले दिएको फायर बाइक (मिनी दमकल)लाई तोडमोड गरी निजी बाइकजसरी दाहालले प्रयोग गर्दै आइरहेका छन् । उक्त बाइकमा उनी दैनिक काठमाडौं–बनेपा ओहोर–दोहोर गर्छन् । आपत्कालीन अवस्थामा प्रयोग गरिने फायर बाइक कर्मचारीले नै दुरुपयोग गरेपछि आगलागी नियन्त्रणमा प्रयोग हुने उपकरणको समेत कमी भएको छ । हाल रामहिटी कार्यालयमा उनले प्रयोग गर्नेसहित दुईवटा फायर बाइक छन् । तर, अर्को फायर बाइक बिग्रिएर थन्किएको छ । उक्त कार्यालयमा चल्ने अवस्थामा रहेको एउटा मात्रै दमकल छ ।
०६९ मा बजाज कम्पनीले २२० सिसीका दशवटा एभेन्जर बाइक महानगरलाई अनुदानमा दिएको थियो । त्यतिवेला महानगरपालिका, जुद्ध वारुण यन्त्र न्युरोडका प्रमुख किशोरकुमार भट्टराईले ती बाइकलाई मोडिफाइ गरी ‘फायर बाइक’ बनाएका थिए । फायर बाइकमा मोडिफाइ गर्न प्रतिबाइक ६ लाख रुपैयाँ खर्च भएको थियो । त्यसमा आगो निभाउन प्रयोग गरिने केमिकलसमेत राख्न मिल्छ । दशवटा फायर बाइकमध्ये अहिले तीनवटा मात्रै सञ्चालनमा छन् । तीनवटामध्ये पनि एउटा फायर बाइक पार्टपुर्जा हटाई महानगरका नगर प्रहरी दाहालले प्रयोग गर्दै आइरहेका छन् । बजाजले महानगरलाई त्यतिवेला दिएका बाइकमध्ये अहिले दुईवटा मात्रै गुड्ने अवस्थामा छन् । अन्य सातवटा बिग्रिएर थन्किएका छन् । बिग्रिएकामध्ये एउटा भक्तपुर, एउटा ललितपुर, एउटा रामहिटी र अन्य चारवटा जुद्ध वारुण यन्त्रको कार्यालय न्युरोडमा छन् ।
काठमाडौं महानगरपालिका जुद्ध वारुण यन्त्र कार्यालयका प्रमुख चन्दन श्रेष्ठले फायर बाइकलाई निजी काममा प्रयोग नगर्न पटक–पटक आग्रह गर्दा पनि दाहालले अटेरी गरेको बताए । ‘यो बाइक फायरका लागिबाहेक अन्य प्रयोजनमा लैजान मिल्दैन,’ उनले भने, ‘मैले पटक–पटक भनिसकेँ, तर उहाँले मान्नुभएन ।’ उनका अनुसार यो बाइकले पेट्रोल पनि धेरै खान्छ । त्यसकारण पनि दैनिक ओहोर–दोहोरमा प्रयोग गर्दा खर्चिलो मानिन्छ । तर, कर्मचारीले त्यही खर्चिलो बाइकलाई दैनिक ६० किमि गुडाउँछन् ।
नगर प्रहरी दाहालले भने आफूसँग अन्य साधन नहुँदा फायर बाइक हिँडाउनुपरेको बताए । एक वर्षदेखि फायर बाइकमा बनेपा–काठमाडौं गर्दै आइरहेको दाहालले स्विकारे । ‘मैले दुरुपयोग गरेको छैन, तर घर र अफिस ओहोर–दोहोर गरेको छु,’ उनले भने, ‘यसमा ओहोर–दोहोर गर्दा ट्राफिक लाइटमा रोकिनु पनि पर्दैन ।’ उनका अनुसार कार्यालय प्रमुख चढ्नका लागि कार्यालयमा एउटा भ्यान थियो । तर, एक वर्षअघि नै बिग्रिएपछि टेकुमा थन्किएको छ ।
पटक–पटक भनिसकेँ, उहाँले मान्नुहुन्न
चन्दन श्रेष्ठ, प्रमुख जुद्ध वारुण यन्त्र, कामपा
आगलागी नियन्त्रणमा प्रयोग गर्ने बाइकमा उहाँ दिनहुँ ओहोर–दोहोर गर्नुहुन्छ । आगलागीमा प्रयोग हुने साधन यसरी दुरुपयोग गर्न पाइन्न । मैले पटक–पटक यसो नगर्नुस् भन्दा उहाँले मान्नुभएन । मूर्खता देखाउनुभयो ।
अनुमति लिएरै प्रयोग गरेको हुँ
विष्णु शर्मा दाहाल प्रमुख, वारुण नियन्त्रण तथा तालिम केन्द्र
मैले विपद् व्यवस्थापन महाशाखासँग अनुमति लिएर नै फायर बाइक चढेको छु । घर र कार्यालय ओहोर–दोहोर गर्न अन्य सवारीसाधन छैन । फायर बाइकमा ओहोर–दोहोर गर्दा बाटोमा रोकिनु पनि पर्दैन । कतिपयले यस्तो प्रकारको बाइक पनि आएछ भनेर सोध्छन् ।