सामाजिक जीवन हुनुपर्नेजस्तो किन छैन ?

आइतबार, १२ भदौ, २०७९
डिजिटल संस्करण

एकदिन निकोलस इप्ले सिकागो विश्वविद्यालयस्थित आफ्नो कार्यालयका लागि रेलबाट गइरहेका थिए । एक व्यवहार–वैज्ञानिकको रूपमा उनलाई राम्रोसँग थाहा छ कि सामाजिक सम्बन्धले हामीलाई थप खुसी, स्वस्थ र सफल बनाउँछ, जीवनको मिठासमा योगदान पुर्याउँछ । उनी आफू चढेको रेलको डब्बामा वरपर हेर्छन् र पाउँछन् : कसैले पनि एकअर्कासँग कुराकानी गरिरहेका छैनन् ! उनीहरूले कसैसँग कुरा गरिरहेका थिए भने त्यो हेडफोन र अखबारसँग गरिरहेका थिए ।उनको मनमा प्रश्नहरू उब्जिन्छन्– हामी सबै यहाँ के गर्दै छाँै ? मानिसहरू किन आफूलाई बढी आनन्दित तुल्याउने काम गरिरहेका छैनन् ?

इप्ले मानिसहरूले रेल वा विमानमा अपरिचित व्यक्तिहरूसँग कुरा गर्न हिचकिचाउनुको कारणमध्ये एउटा कारण यस्तो पाउँछन्– अधिकतर मानिसलाई कुरा गर्दै यात्रा गर्नु रमाइलो हुन्छ भन्ने नै लाग्दैन । उनीहरूलाई लाग्छ कि यो अप्ठ्यारो, उत्तेजनाहीन र बेकारको काम हो । एउटा अनलाइन सर्वेक्षणमा केवल सात प्रतिशत मानिसले मात्रै प्रतीक्षालयमा बस्दा अपरिचितहरूसँग कुरा गर्ने गरेको र २४ प्रतिशतले मात्र रेलमा अपरिचितसँग बातचित गर्ने बताएका थिए ।मानिस अरूसँग कुरा गर्न किन खोज्दैनन् ? इप्ले र उनको टोलीले यसको अनुसन्धानमा वर्षाैं खर्चिएको छ । यो टोलीले मानिसहरूलाई सामाजिक साक्षात्कार गर्न आग्रह गर्छ । त्यसपछि, वार्तालाप कस्तो भयो भनेर प्रश्न सोध्छ ।

उनीहरूले के पाए भने हामीमध्ये अधिकांशले सामाजिक साक्षात्कारबाट कति आनन्द उठाउन सकिन्छ भन्नेबारे प्रणालीगत रूपले नै गलत धारणा पाल्ने गरेका छौँ । पैदलयात्रीहरूले अपरिचितसँग कुराकानी गरियो भने हिँड्नुको मजा कम हुन सक्ने आकलन गरेका थिए । तर, वास्तविक अनुभव भने ठीक विपरीत थियो । अपरिचित व्यक्तिसँग कुरा गर्न अह्राइएका व्यक्तिहरूले भन्दा नअराईकनै कुरा गर्नेहरूले बढी आनन्द उठाएको पाइयो । अन्तर्मुखीहरूले एकदमै कम अपेक्षासहित कहिलेकाहीँ मात्रै अरूसँग कुराकानी गरेका थिए, तर अन्तर्मुखी र बहिर्मुखी दुवैखाले मानिसले एकल वा कसैसँग कुराकानी नगरी यात्रा गर्नुमा भन्दा कुराकानी गर्दै गरेको यात्रामा बढी आनन्दको अनुभव गरे ।

यसले हामीमध्ये धेरैले गलत धारणाका कारण आफूमा असामाजिक फिल्टरहरू लगाउने गरेको देखाउँछ । अरूलाई सहयोग गर्न जाँदा उसले खासै सकारात्मक प्रतिक्रिया नजाउने अपेक्षमा मानिसहरू सहयोग गर्न अघि नसर्ने गरेको इप्ले र उनको टोलीले पायो । स्तभ एटायर र क्रिस्टिना वाल्डको अनुसन्धानले पनि अधिकतर मानिसले अपरिचितहरूसँगको कुराकानीबाट के नै पो सिकिन्छ र भन्ने गरेको देखाएको छ ।

आम एक्लोपन एउटा सामाजिक विकृति हो । यदि एक झुन्ड मानिस नै एक्लो छ भने उनीहरू किन एक–अर्कासँग कुराकानी गरिरहेका छैनन् त ?

अर्काे अध्ययनमा मानिसहरूले अपरिचितहरूसँग लामो कुराकानी गर्दा आनन्द नहुने ठानेर कुरा गर्न नखोज्ने गरेको पाइयो । सतही कुराकानीको तुलनामा गहिरो कुराकानीबाट बढी आनन्द उठाउन सकिन्छ भन्ने गरिएको पाइयो । अरूले कुराकानी मन पराउलान् र भनेर पनि मानिसहरूले कुरा गर्न नखोज्ने रहेछन् । सन्देश लेखेर पठाउनुभन्दा फोनमा कुराकानी गर्नुजस्ता अन्तरंग कुराकानीको मजा बढी हुन्छ भन्नेलाई पनि महत्व नदिने गरेको पाइयो । सार्वजनिक पार्कदेखि अनलाइनसम्ममा अरूलाई प्रशंसा गरिदिँदा त्यो प्रशंसाले उक्त व्यक्तिलाई आनन्दित बनाउने कुरालाई पनि कम आँक्ने गरेको पाइयो ।

हामी एकदमै सामाजिक प्राणी हाैँ, तर हामीमध्ये धेरै इप्लेले भन्ने गरेको अन्डरसोसियालिटी (अधोसामाजिकता) बाट ग्रसित हुँदै गएका छौँ । हामी संसारलाई चिन्ताग्रस्त नजरले हेर्छाैं, जसले हामीलाई रमाइलो, शिक्षाप्रद र प्रतिफलमुखी सामाजिक परिस्थितीहरूबाट भाग्न प्रेरित गरिरहेको छ । इप्लेको टोलीले अपरिचितसँग कुराकानी गर्न मात्रै होइन, परिवारका सदस्य एवं साथीभाइको प्रशंसा गर्न पनि अह्राएको थियो । जसको प्रशंसा गरिएको हुन्छ, जवाफमा उसले कत्तिको सकारात्मक प्रतिक्रिया देखाउँछ भन्नेमा पनि मानिसहरूमा कम आकलन पाइयो । 

एउटा प्रयोगमा सिकागो सहरको स्केटिङ रिङमा आएका आगन्तुकहरूलाई एक कप हटचक्लेटको कुपन थमाइयो र त्यो कुनै अपरिचितलाई दिन भनियो । उनीहरूलाई पनि यो उपहारले त्यो पाउनेलाई कति नै पो राम्रो महसुस गराउला र भनेर आशंका थियो । यीमध्ये अधिकांश गलत धारणा अन्य गलत धारणामा आधारित छन्, जुन यो मानिसहरूले तपाईंलाई कसरी हेरिरहेका छन् भन्नेसँग सम्बन्धित छ । अपरिचितसँगको बातचितमा प्रवेश गर्न पक्कै कठिन हुन्छ । यसकारण मानिसहरूलाई आफ्नो क्षमतामाथि नै शंका हुन्छ– कुराकानी राम्रोसँग सुरुवात गर्न सकिएला र ? वा आफूलाई प्रभावकारी रूपले अभिव्यक्ति गर्न सकिएला र ?

तर अनुसन्धानले के देखाउँछ भने बातचितको समयमा मानिसहरूले तपाईंको क्षमता होइन, तपाईंको हार्दिकतालाई हेरिरहेका हुन्छन् । के तपाईं मिलनसार, हार्दिक र भरोसायोग्य देखिनुहुन्छ ? तपाईंले साँच्चै उसको ख्याल गरिरहनुभएको छ र भनेर मात्रै उनीहरू जान्न चाहन्छन् । आम एक्लोपन एउटा सामाजिक विकृति हो । यदि एक झुन्ड मानिस नै एक्लो छ भने उनीहरू किन एकअर्कासँग कुराकानी गरिरहेका छैनन् त ? मलाई अमेरिकाको भाग्य दैनिक जीवनका ससाना काममा हामीले एकअर्कालाई कसरी व्यवहार गर्छौँ भन्नेले निर्धारण गर्नेछ । सामाजिक खुलापनले भन्दा पनि सामाजिक निकटतामा आइरहेको चिसोपनले धेरैको जीवन खाइरहेको छ । प्रश्न, के हामी अझ राम्रो हुन सक्छौँ भन्ने हो । 
(न्युयोर्क टाइम्सबाट)

सुझावित समाचार