नेपाली अलैँचीको तेस्रो देशमा छैन पहिचान : भारतीय ‘ब्रान्ड’मा बिक्छ नेपाली अलैँची

मूल्य बढ्ने आसमा ‘स्टक’ राखेको अलैँची घाटामा निर्यात गर्न बाध्य

आइतबार, १२ भदौ, २०७९
डिजिटल संस्करण

विगतका ओरालो लागेको अलैँचीको मूल्य गत वर्ष बढेर प्रतिमन ५० हजारसम्म पुगेपछि किसानहरू उत्साहित भए । केही सस्तो मूल्यमा अलैँची खरिद गरेर महँगोमा बेच्ने आसमा व्यवसायीले गोदाममा ‘स्टक’ गरे । गत वर्ष मूल्य बढेपछि क्रमशः मूल्य बढिरहने आशाले उत्पादनको ६० प्रतिशतभन्दा बढी अलैँची व्यापारीले किसानबाट खरिद गरेर स्टक गरे । तर, पुसदेखि मूल्य घट्न थालेपछि घाटा खाएर भारततर्फ निर्यात गर्नुपरेको अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले बताए ।

गत वर्ष प्रतिमन ५० हजार मूल्य पुगेको अलैँचीको मूल्यमा गिरावट आउँदै अहिले प्रतिमन ३२ हजारमा कारोबार भइरहेको छ । ‘मूल्य बढ्ने आसमा अलैँची व्यवसायीले उत्पादनको करिब ६० प्रतिशत अलैँची गोदाममा स्टक गरे । गत पुसदेखि क्रमशः मूल्य घट्दै गयो,’ उनले भने, ‘त्यसपछि घाटा खाएर व्यवसायीले अलैँची भारत निर्यात गरे । अहिले पनि २० हजार बोरा अलैँची गोदाममा स्टक छन् ।’ नेपालबाट उत्पादित अलैँचीको ९५ प्रतिशत अलैँची भारतीय बजारमा निर्यात हुन्छ ।

गत आर्थिक वर्ष ०७८/७९ मा नेपालबाट करिब ९० हजार बोरा अलैँची भारत निर्यात भएको उनले बताए । नेपालको ४३ जिल्लामा उत्पादन हुने अलैँची पूर्वीनाका काँकडभिट्टा भएर भारत निर्यात हुने गरेको छ । अलैँचीको राजधानीका रूपमा बिर्तामोडलाई लिइन्छ । गत वर्ष उत्पादन घटेको र माग बढेका कारण अलैँचीले राम्रो मूल्य पाएको थियो । ‘अलैँचीको मूल्य मागमा निर्भर गर्छ । गत वर्ष खडेरीका कारण अलैँची उत्पादन कम भएको थियो । व्यवसायीले सुरुमा अलैँची होल्ड गरेका थिए । त्यसकारण पनि अलैँचीको मूल्य बढ्यो,’ अध्यक्ष भट्टराई भन्छन्, ‘तर, पछि व्यवसायीले घाटा खाएर आफैँ बेच्न थाले । ५० हजार प्रतिमन किनेको अलैँची ३५ हजारसम्म पनि बेचे ।’ 

यसपटक अलैँचीको उत्पादन बढ्ने भएका कारण अलैँचीको मूल्य घटेको उनले बताए । भारतको असाम क्षेत्रमा सबैभन्दा धेरै अलैँची उत्पादन हुन्छ । यसपटक त्यहाँ पनि अलैँचीको उत्पादन बढेकाले मूल्य घटेको उनले बताए । ‘अलैँचीको मूल्य अन्तर्राष्ट्रिय बजारमा पनि भरपर्छ । माग बढ्यो भने मूल्य बढ्छ । 

 ९५ प्रतिशत अलैँची भारतीय बजारमा
नेपालमा उत्पादित अलैँचीमध्ये ९५ प्रतिशत अलैँची भारतीय बजारमा निर्यात हुन्छ । नेपालबाट निर्यात हुने कृषि उत्पादनको ठूलो हिस्सा अलैँचीले ओगटेको छ । मेची भन्सार काँकडभिट्टाका अनुसार वर्षमा अर्बसम्मको अलैँची भारत निकासी भएको छ ।

आर्थिक वर्ष ०७५/७६ मा ३६ लाख ७६ हजार किलो अलैँची भारत निकासी भएको थियो । जसको मूल्य दुई अर्ब ९७ करोड ८९ लाख ६३ हजार ६ सय रहेको मेची भन्सारले जनाएको छ । यस्तै, आर्थिक वर्ष ०७६/७७ मा चार अर्ब १९ करोड ७० लाख मूल्यको ५० लाख किलो अलैँची भारत निकासी भएको थियो । आव ०७७/७८ मा झन्डै सात अर्बको अलैँची भारत निकासी भएको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ । गत आर्थिक वर्षमा चार अर्ब ७६ करोडको अलैँची भारत निर्यात भएको छ । 

भारत र भुटानमा भन्दा धेरै अलैँची नेपालमा उत्पादन हुने महासंघका अध्यक्ष भट्टराई बताउँछन् । यस्तै, भारतको असाममा उत्पादन भएको भन्दा गुणस्तरीय अलैँची नेपालमा उत्पादन हुने गरेको छ । तर, तेस्रो देशमा नेपाली अलैँची भारतले आफ्नै ब्रान्ड र प्याकेजिङमा बजारीकरण गर्ने गरेको उनको भनाइ छ ।‘नेपालबाट भारतमा अलैंची जान्छ । उसले भारतकै ब्रान्ड र प्याकेजिङमा आफ्नो देश र अन्य देशमा पनि बजारिकरण गर्ने गरेको छ । नेपालको पहिचान अन्तर्राष्ट्रिय बजारमा भएन । नेपालको आफ्नो ब्रान्डमा जानु र भारतीय ब्रान्डमा जानु त फरक छ,’ अध्यक्ष भट्टराईले भने, ‘हामीले आफैंले प्रोडक्ट अफ नेपालमा तेस्रो देश लान सक्दा हाम्रो भनेर पहिचान हुन्छ । अहिले तेस्रो देशमा नेपालको पहिचान न्यून छ । धेरै मनिसलाई नेपालमा पनि अलैंची हुन्छ र भन्ने छ ।’

 तेस्रो देश निर्यातमा  झमेलै–झमेला
नेपाली अलैँची तेस्रो देश निर्यातमा झमेलै–झमेला छ । नेपालसँग स्थलमार्गको पहुँचमा रहेको बंगलादेशसँग पनि अलैँचीको व्यापार हुन सकेको छैन । बंगलादेशले ३५ प्रतिशतसम्म भन्सार शुल्क लगाउँदा व्यापार हुन नसकेको पूर्वउपाध्यक्ष दीपक नेपाल बताउँछन् । ‘बंगलादेशले भन्सारमा छुट गर्ने भए त्यहाँ अलैँचीको राम्रो व्यापार हुन सक्छ । राज्यले यसमा ध्यान दिए व्यापारका लागि निकै सहज हुने थियो,’ उनले भने, ‘सरकारलाई पनि भनेका हौँ । तर, हालसम्म बंगलादेशसँग व्यापार हुन सकेको छैन ।’ 

बंगलादेशमा भन्सार छुट हुँदा अलैँचीको राम्रो बजार हुन सक्ने महासंघका अध्यक्ष निर्मल भट्टराई बताउँछन् । बंगलादेशमा हाल भुटानबाट अलैँची गइरहेको उनले बताए । ‘बंगलादशेमा ड्युटीका कारण पठाउन सकेका छैनौँ । भुटानबाट गइरहेको छ,’ उनी भन्छन्, ‘नेपालबाट भारत, भारतबाट भुटान हुँदै नेपाली अलैँची बंगलादेश गइरहेको छ । यसलाई समाधान गर्न सरकारलाई विगतदेखि नै आग्रह गरिरहेका छौँ । सरकारले यो सम्बोधन गर्नुपर्छ ।’ अन्य देश लैजानका लागि पनि झमेला रहेको उनी बताउँछन् । नेपाललाई तेस्रो देशको व्यापारका लागि भारतले कोलकाता बन्दरगाह दिएको छ । 

यहाँबाट अलैँची पठाउँदा समय लाग्ने अध्यक्ष भट्टराई बताउँछन् । ‘कोलकाता पोर्टबाट ढिला हुन्छ । हामीले तेस्रो देश व्यापार गर्न कार्गोबाट सम्भव छैन । सिप वा स्थलमार्गबाट लैजाँदा धेरै ढिलो हुन्छ,’ उनी भन्छन्, ‘अलैँची किन्नेले छिटो चहान्छ । हामीले छिटो पु¥याउन सकेका छैनौँ । यदि तेस्रो देश निर्यात गर्न सक्ने हो भने अलैँचीको मूल्यमा १५–२० प्रतिशत फरक आउने थियो ।’ 

सुझावित समाचार