अस्थिर सेयर बजारले लगानीकर्ता निराश

आइतबार, १२ भदौ, २०७९
डिजिटल संस्करण

सेयर बजारमा आइरहेको निरन्तर गिरावटले लाभांश पाउने समयमा पनि लगानीकर्ता उत्साहित हुन सकेका छैनन् । बजारमा आएको अस्थिरताले लगानीकर्ता निराश बन्न पुगेका हुन् । पछिल्लो समय नेप्से परिसूचक अस्थिर बन्दै आइरहेको छ । नेप्से सूचक उच्चतम बिन्दुबाट एक हजार दुई सय अंकले ओर्लिएर एक हजार आठ सयको इन्डेक्सबाट सुधार हुँदै दुई हजारको मनोवैज्ञानिक बिन्दुमा छ । अझ दुई सातादेखि नेप्से सूचक दुई हजारको इन्डेक्समा स्थिर रहेको छ ।

बजारका आइरहेको उत्तारचढावले लगानीकर्ता थप निराश बन्दै गइरहेका छन् भने प्यानिक सेल बढाउन थालेका छन् । लगानीकर्ता तथा नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियार यतिखेर लाभांशको समय हुँदा पनि बजारप्रति लगानीकर्ता निराश बन्न पुगेको बताए । उनले भने, ‘यो लाभांशको समय हो, बजार घट्दो क्रममा छ । तर, नेप्से कुनै स्किमको खोजीमा छ, त्यो स्किम पाउनेबित्तिकै मार्केट नयाँ ढंगले अघि बढ्छ ।’

लाभांश सिजन सुरु भए पनि लगानीकर्तामा उत्साह देखिएको छैन, मार्केट चित्तबुझ्दो छैन, कारोबार सुस्त छ, त्यसैले लगानीकर्तामा आशाभन्दा बढी निराशा छाएको एक लगानीकर्ता बताउँछन् । ती लगानीकर्ता भन्छन्, ‘ठूलो पुँजीमा लगानी गरेका लगानीकर्ता सबैभन्दा बढी निराश छन् भने साना लगानीकर्ताका लागि बजार प्रवेश गर्ने अवसर पनि छ ।’बजार बियरिस ट्रेन्डमा रहेकाले पनि अल्पकालीन कारोबारीको दबदबा बढेको हो ।

महँगो ब्याजदर र तरलता अभावको कारण देखाउँदै ट्रेडरहरूले निकै छिटो र थोरै फाइदामा पनि सेयर बेच्ने गरेका छन् । नेप्से सूचकमा अघिल्लो हप्तादेखि नै उत्तारचढाव आइरहेको छ । नेप्सेमा आइरहेको उत्तारचढावले विशेष गरी साना लगानीकर्ता नाफा बढाउन तयार नभएका हुन् । तथापि, नेप्सेमा आकर्षक सुधारका लागि भने तरलता अवस्था सहज हुन जरुरी छ । साथै, ब्याजदर पनि क्रमशः घट्न आवश्यक हुन्छ । तरलता अभावले झन्डै डेढ वर्षको चक्र पार गरिसकेको छ । यसर्थ, अब बिस्तारै सहज हुँदै जाने कतिपयको विश्लेषण रहेको छ ।  

शुक्रबार नेप्से परिसूचक करिब १७ अंकले घटेसँगै नेप्से साताभरिमै ४५ दशमलव ६५ अंकले घटेको छ । त्यस्तै, कारोबार रकम सातामा औसत एक अर्ब ६० करोड रुपैयाँ मात्र हुन सकेको छ । धितोपत्र बोर्डले लगानीकर्ताको मागलाई पूरा गर्ने गरी नीतिहरू बनाइरहेको छ । यद्यपि, नीतिअनुसार काम भइरहेको र वित्तीय विवरणहरू पनि सकारात्मक नै आइरहेकाले आगामी दिनमा बजारमा नकारात्मक भइहाल्ने अवस्था पनि छैन । जलविद्युत्तर्फ लगानीकर्ताको आकर्षण बढ्दै गइरहेको छ । राष्ट्र बैंकले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा पनि जलविद्युत्को हिस्सा बढ्दै गइरहँदा लगानीकर्ता जलविद्युत्तर्फ झुम्मिएको अनुमान लगाउन सकिन्छ । 

अहिलेको बजारलाई लिएर आत्तिहाल्नुनपर्ने लगानीकर्ता नयन बाँस्तोलाले बताए । उनले भने, ‘लाभांश कम्पनीको क्षमताअनुसार पाइएला, तर बजारमा आइरहेको निरन्तर गिरावटले साना लगानीकर्ता बढी संकटमा परेका छन् ।’ नयाँ आर्थिक वर्ष सुरु भएपछि अघिल्लो आर्थिक वर्षको मुनाफाबाट कम्पनीको क्षमताअनुसारको लाभांश प्रस्ताव गर्छन् । कतिपय कम्पनीले दसैँअघि नै साधारणसभा बोलाएका छन् । कम्पनीहरूले साधारणसभाबाट लाभांश प्रस्ताव ल्याउने र पारित सभएपछि सेयरधनीहरूलाई वितरण गर्ने गर्छन् ।

गत आर्थिक वर्ष ०७८/७९ मा ८९ अर्ब ५० करोड रुपैयाँबराबरको विकास ऋणपत्र, ५५ अर्ब ८९ करोड रुपैयाँबराबरको बोनस सेयर, ५३ अर्ब २२ करोड रुपैयाँबराबरको डिबेन्चर, २३ अर्ब २८ करोड रुपैयाँबराबरको साधारण सेयर, ११ अर्ब ९७ करोड रुपैयाँबराबरको हकप्रद सेयर र तीन अर्ब ७५ करोड रुपैयाबराबरको म्युचुअल फन्ड गरी कुल दुई खर्ब ३७ अर्ब ६१ करोड रुपैयाँबराबरको धितोपत्र सूचीकृत भएका थिए ।

सुझावित समाचार