गठबन्धनमा सिट बाँडफाँड : कार्यदल अंकगणित हेर्दै, आइतबार टुंग्याउने शीर्ष नेताको तयारी

शनिबार, ११ भदौ, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभा र प्रदेश सभाका सबै सिटको मत विश्लेषण सकेर आइतबारसम्म सिट बाँडफाँड टुंग्याउने सत्तागठबन्धनभित्र गृहकार्य भएको छ । प्रतिनिधिसभाका एक सय ६५ र प्रदेश सभाका तीन सय ३० सिटमै गठबन्धन र विपक्षीको मतको आकलन गर्ने र जित निकाल्न सक्ने दललाई प्राथमिकता दिएर तत्तत् क्षेत्र बाँडफाँड गर्ने गठबन्धनको गृहकार्य छ । समानुपातिकतर्फको बन्द सूची बुझाउन २३ दिन मात्रै बाँकी रहेकाले दलहरूमाथि सिट बाँडफाँड चाँडो टुंग्याउनुपर्ने दबाब छ । 

कृष्णप्रसाद सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदलले सबै सिटको मत विश्लेषण सकेर आइतबार शीर्ष नेतालाई सुझावसहितको प्रतिवेदन दिने गरी काम गरिरहेको छ । प्रतिवेदनले कुन क्षेत्रमा कुन दलको स्थिति के छ र जित निकाल्न कसलाई सहज हुन्छ भन्ने आधार दिने तथा त्यसका आधारमा प्रतिनिधिसभा र प्रदेश सभामा सिट बाँड्न सहज हुने नेताहरूले बताएका छन् । 

कार्यदलको प्रतिवेदनका आधारमा सहमतिमै आधार र मापदण्ड तोकेर सिट बाँडफाँड टुंग्याउने शीर्ष नेताहरूको तयारी छ । ‘समग्र विश्लेषण गरेर सुझावसहितको प्रतिवेदन बुझाउन कार्यदललाई जिम्मा दिएका छौँ । आइतबारसम्म कार्यदलले आफ्नो काम सक्ला । त्यसै दिन साँझ कार्यदलसहित शीर्ष नेताको बैठक बसेर सिट बाँडफाँड टुंग्याउने कोसिस हुनेछ,’ माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने । 

बिहीबार शीर्ष नेताको बैठकले सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदललाई निर्वाचन क्षेत्रपिच्छे गठबन्धनको विवरण तयार गर्न निर्देशन दिएको थियो । कार्यदलले मूलतः ०७४ र ०७९ को निर्वाचनलाई आधार बनाएर विवरणमाथि काम गरिरहेको छ । शुक्रबार गठबन्धन बैठकमा प्रदेश सभातर्फको सिट बाँडफाँडको विषयमा छलफलले प्रवेश पाएको थियो । सरकारका प्रवक्ता तथा कांग्रेसबाट कार्यदल सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा प्रतिनिधिसभातर्फ दाबी सिटसंख्या टुंग्याउने र प्रदेशतर्फको सिट बाँडफाँडबारे छलफल भएको बताए । 

कार्कीले दलहरूका दाबी जे–जस्ता भए पनि कार्यदलले व्यावहारिक प्रतिवेदन बनाउने र त्यसको आधारमा सिट बाँडफाँड सहज हुने बताए । ‘बिहीबार हामीले प्रतिनिधिसभाको सिटबारे छलफल गर्यौँ । शुक्रबारको बैठकमा प्रदेश सभाको सिटमा प्रवेश गरेका छौँ । समग्रमा कार्यदल जिम्मेवारी पूरा गर्ने अन्तिम चरणमा छ,’ कार्कीले भने, ‘अहिले दलहरूबाट जे दाबी आएका छन्, त्यसलाई व्यावहारिक बनाउने गरी छलफल गर्छौँ र निष्कर्षमा पुग्नेछौँ । बढी जितौँ भन्ने सबैको आकांक्षा छ । हामी यसैलाई हेरेर व्यावहारिक प्रतिवेदन नेतृत्वलाई बुझाउँछौँ । 

बिहीबार गठबन्धनको बैठकमा दलहरूले पहिलोपटक प्रतिनिधिसभातर्फ आ–आफ्नो दाबी पेस गरेका थिए । कांग्रेसले १००, माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३१ सिट र राष्ट्रिय जनमोर्र्चाले दुई सिटमा दाबी गरेका छन् । 

कार्यदल सदस्यसचिव केशवराज जोशीका अनुसार कार्यदलको बैठक आइतबार दिउँसो ४ बजेका लागि आह्वान गरिएको छ । जसपाबाट कार्यदल सदस्य रामसहायप्रसाद यादवले आइतबारको बैठकमा प्रदेशतर्फ दलहरूको दाबी पेस हुने बताए । प्रदेशतर्फ पनि विगतका निर्वाचन र जनाधारलगायतलाई आधार मानिने उनले बताए । 
 

सुझावित समाचार