सुनका सौखिन नेपाली : १५ वर्षमा भित्रियो साढे तीन खर्बको ७४ हजार किलो सुन

शनिबार, ११ भदौ, २०७९
डिजिटल संस्करण
सुनका सौखिन नेपाली : १५ वर्षमा भित्रियो साढे तीन खर्बको ७४ हजार किलो सुन

न्युरोडस्थित सुनचाँदीको एक गरगहना पसल

राष्ट्र बैंकसँग १९४५ किलो ढिका सुन मौज्दात, ९०% सुन युएईबाट आयात
१० वर्षमा ५४४ किलो र ०७१/७२ मा मात्रै १८० किलो अवैध सुन जफत, भन्सारले पछिल्लो आठ महिनामै नियन्त्रणमा लियो ४८० किलो

२० भन्दा बढी देशबाट हुन्छ आयात : भन्सार विभागका अनुसार नेपालमा युएई, बहराइन, सिंगापुर, ब्रुनाई, साउदी अरब, हङकङ, कुवेत, कतार, ओमान, अमेरिका, बेलायत, टर्की, केन्या, भारत, डेनमार्क, युक्रेन, इटली, चीनलगायत २० भन्दा बढी देशबाट सुन आयात हुन्छ ।

गत वर्ष ५३ करोडका सुनका गहना निर्यात : नेपालबाट अमेरिका, हङकङ, अस्ट्रेलियालगायत मुलुकमा सुनका गरगहना निर्यात हुने गरेका छन्

...                                      ...

विश्व मानचित्रमा नेपाल अति कम विकसित मुलुकको सूचीमा छ । देशका २८ प्रतिशत जनता अझै पनि गरिबीको रेखामुनि छन् । तर, अति विलासी अनुत्पादक साधन सुनमा भने नेपालीको मोह उच्च छ । 

पछिल्ला १५ वर्षमा नेपालमा साढे तीन खर्ब रुपैयाँबराबरको ७४ हजार किलो सुन भित्रिएको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष ०६४/६५ देखि ०७८/७९ सम्म ७३ हजार नौ सय ४४ किलो सुन भित्रिएको छ, जसमा तीन खर्ब ४२ अर्ब ४७ करोड रुपैयाँ बाहिरिएको छ । गरगहना निर्माण गरेर लगाउन तथा ढिका सुन सञ्चित गरेर राख्न नेपालमा सुनको खपत हुने गरेको छ । ०७८/७९ मा मात्रै ३५ अर्ब ६१ करोड रुपैयाँबराबरको पाँच हजार ५३ किलो सुन आयात भएको विभागको तथ्यांक छ । 

वार्षिक एक खर्बबराबरको सुनको कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मानिकरत्न शाक्यले बताए । विवाहलगायतका सिजनमा दैनिक ५० किलोसम्म र अफ सिजनमा दैनिक २० किलो सुनको खपत (कारोबार) हुने उनले बताए । अहिले राष्ट्र बैंकले दैनिक १० किलो सुन आयातको व्यवस्था गरेको छ । राष्ट्र बैंकले सिजनका वेला अधिकतम दैनिक २० किलोसम्म मात्रै सुन आयातको अनुमति दिने गरेको छ । 

पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले नेपालमा सुनको आर्थिकसँगै सामाजिक, धार्मिक एवं सांस्कृतिक महत्व भएको बताए । यसलाई नेपालमा मात्रै नभई विश्वमै सुरक्षित लगानी पनि मानिने गरेको उनको भनाइ छ । ‘हाम्रोजस्तो गरिब देशमा सुनको आयात अधिक हुनु राम्रो विषय होइन,’ उनले भने, ‘तर, सुनको आर्थिकसँगै सामाजिक र धार्मिकसमेत महत्व रहेकाले यसको नियन्त्रणभन्दा पनि व्यवस्थापन गर्नुपर्छ ।’ राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चितिको अवस्थाअनुसार सुन आयातको कोटा घटाउने–बढाउने गरेको उल्लेख गर्दै उनले यसैगरी व्यवस्थापन गर्नु उचित हुने बताए । सुन तस्करी रोक्न तथा सुनमा मूल्य अभिवृद्धि गरी निर्यात गर्नेतर्फ समेत ध्यान दिनुपर्ने पूर्वगभर्नर नेपालको सुझाव छ । 

तर, गरिब देशले खर्बौँको सुन आयात गरेको विषयलाई सकारात्मक लिनुपर्ने महासंघका अध्यक्ष शाक्यको तर्क छ । ‘सुनको आयात खपतका लागि होइन, यो त बचत हो,’ उनले भने, ‘नेपालमा आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक रूपमा सुनको महत्व छ । अझ सुनलाई मूल्य अभिवृद्धि (भ्यालु एड) गरी निर्यात गर्न सके त्यसबाट देशले मनग्य आम्दानी गर्न सक्ने ठाउँ छ ।’ 

नेपालमा खपत हुने सुनमध्ये ५० प्रतिशत आयातले धान्ने गरेको छ । बाँकी ५० प्रतिशत फिर्ता आएको पुरानै, विदेशबाट नेपाली यात्रुले ल्याएको र अवैध रूपमा भित्रिने सुनबाट पूर्ति हुने गरेको जानकारहरू बताउँछन् । ‘सुनको कारोबारमा अनौपचारिक आपूर्तिको पनि राम्रै योगदान भएको देखिन्छ,’ एक सरकारी अधिकारीले भने, ‘सिजनका वेला निर्धारित कोटाको सुनले मात्रै पुग्दैन ।’

सरकारले स्पष्ट नीति र प्रवद्र्धनको कार्यक्रम बनाउन सके सुनका गरगहना निर्यात गर्नसमेत सकिने नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष सुरेशमान श्रेष्ठले बताए । ‘अहिले थोरै–थोरै परिमाणमा ह्याण्डक्यारीका रूपमा निर्यात भइरहेको छ,’ उनले भने, ‘यदि सरकारले एचएस कोड, भन्सारमा सुरक्षालगायत व्यवस्था गर्दै निर्यातका लागि स्पष्ट नीति र प्रवद्र्धनका कार्यक्रम ल्याउने हो भने नेपालबाट अर्बौँको गरगहना निर्यात गर्न सकिन्छ ।’

कुल आयातको ९० प्रतिशत युएईबाट
नेपालमा २० भन्दा बढी मुलुकबाट सुन आयात हुने गरेको छ । तर, सबैभन्दा बढी खाडी मुलुकबाट आउँछ । भन्सार विभागका अनुसार नेपालमा युएई, बहराइन, सिंगापुर, ब्रुनाई, साउदी अरब, हङकङ, कुवेत, कतार, ओमान, अमेरिका, बेलायत, टर्की, केन्या, भारत, डेनमार्क, युक्रेन, इटली, चीनलगायत मुलुकबाट सुन आयात हुने गरेको छ । कुल आयातको ९० प्रतिशत सुन युएईबाट आउँछ । 

सरकारको ढुकुटीमा १९ सय ४५ किलो ढिका सुन
राष्ट्र बैंकको तथ्यांकअनुसार सरकारको ढुकुटीमा असार मसान्तसम्म एक हजार नौ सय ४५ किलो सुन मौज्दात छ । यो सुन केन्द्रीय बैंकको टक्सार विभागमा छ । त्यस्तै, विभागमा दुई लाख २२ हजार दुई सय किलो चाँदी पनि छ । राष्ट्र बैंकले सुनमा गरेको लगानी ६१ अर्ब चार करोड ७० लाख रुपैयाँ पुगेको छ । यो लगानी राष्ट्र बैंकले विदेशको सुन बजारमा गरेको हो । यो लगानीको रकम विश्व बजारमा हुने सुनको मूल्यको उतारचढावसँगै घटबढ हुन्छ । मुद्रा निष्कासनका लागि सुन, चाँदीलगायत धातुको धरौटी राख्नुपर्ने हुन्छ । हालसम्म मुद्रा निष्कासनका लागि सरकारले आठ खर्ब रुपैयाँबराबरका सुन, चाँदी धरौटी राखेको राष्ट्र बैंकले जनाएको छ । 

१० वर्षमा पाँच सय ४४ किलो अवैध सुन जफत
नेपालमा सुनको अवैध आयात–निर्यात तथा ओसारपसारसमेत हुने गरेको छ । बजारमा हुने मागको ३०–४० प्रतिशत पूर्ति अवैध आयातबाट हुने गरेको तथ्यांकले नै देखाउँछ । पछिल्लो दश वर्षयता प्रहरीले पाँच सय ४४ किलो अवैध सुन जफत गरेको छ । अवैध कारोबार तथा ओसारपसारमा संलग्न ६ सय १५ जना पक्राउ पनि परेका छन् । जफत गरिएको यस्तो सुन प्रहरीले नेपाल राष्ट्र बैंकलाई बुझाउने गरेको छ । प्रहरीले सबैभन्दा बढी ०७१/७२ मा एक सय ८० किलो अवैध सुन बरामद गरेको थियो । अवैध सुन ओसारपसारमा संलग्न ८६ जनालाई समेत पक्राउ गरेको थियो । गत आर्थिक वर्ष ०७८/७९ मा प्रहरीले ३१ किलो दुई सय ५० ग्राम सुन जफत गर्‍यो । यस्तो अवैध कारोबार तथा ओसारपसारमा संलग्न ८८ जनालाई पक्राउसमेत गरेको थियो । 

वर्ष दिनमै चार सय ८० किलो सुन भन्सारको नियन्त्रणमा 
भन्सार कार्यालयले यात्रुको व्यक्तिगत प्रयोगका मालवस्तु (गुन्टा)अन्तर्गत गरगहनाको नाममा काँचो सुन भित्रन थालेपछि त्यसलाई रोक्न १३ मंसिरदेखि अप्रेसन सुुुरु गरेको थियो । गरगहनाको नाममा दैनिक १०–१५ किलो सुन भित्रिएको सूचना पाएपछि त्यसलाई नियन्त्रण गर्ने कार्ययोजना बनाएको हो । सोहीअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले गत मंसिरदेखि हालसम्म चार सय ८० किलो सुन नियन्त्रणमा लिएको कार्यालयका प्रमुख महेश भट्टराईले जानकारी दिए । खासगरी वैदेशिक रोजगारीबाट फर्किने नेपालीले भरियाका रूपमा अर्कैको सुन ल्याउने गरेको पाइएको छ । ‘८० देखि ९० प्रतिशतले अर्कैको सुन ल्याउने गरेको पाइयो, उनीहरू भरिया मात्रै देखिएका छन्,’ उनले भने, ‘बाँकी १० देखि २० प्रतिशत भने भ्रमण भिसामा गएर फर्कने (पर्यटक)हरू र गैरआवसीय नेपाली छन् ।’ 

गत वर्ष ५३ करोडका सुनका गहना निर्यात
नेपालबाट सुनका गरगहना निर्यातको सम्भावना अधिक भए पनि उपयोग भने कम भइरहेको सरोकारवालाको भनाइ छ । नेपालका मौलिक डिजाइनका गरगहना विदेशमा रहेका नेपाली र विदेशीलाई लक्षित गरी निर्यात गर्न सकिने उनीहरूको भनाइ छ । गत आर्थिक वर्ष ०७८/७९ मा नेपालबाट ५३ करोड २७ लाखका सुनका गरगहना निर्यात भएको विभागको तथ्यांक छ । 

आव ०७७/७८ मा ३८ करोड ७१ लाखका सुनका गहना निर्यात भएका थिए । आव ०७६/७७ र ०७५/७६ मा भने निर्यात भएको देखिँदैन । त्यसअघि ०७४/७५ मा ७१ लाख ४९ हजार, ०७३/७४ मा पाँच करोड नौ लाख, ०७२/७३ मा ४ करोड ४५ लाख र ०७१/७२ मा तीन करोड ८४ लाखबराबरका सुनका गरगहना निर्यात भएको विभागको तथ्यांक छ । 

नेपालबाट अमेरिका, हङकङ, अस्ट्रेलियालगायतका मुलुकका सुनका गरगहना निर्यात हुने गरेका छन् । हालसम्म व्यावसायिक रूपमा निर्यात हुन नसकेको महासंघका अध्यक्ष श्रेष्ठले बताए । ‘पछिल्लो समय नेपालबाट मौलिक एवं आधुनिक गरगहना निर्यात हुन थालेका छन्, अब क्रमशः बढ्दै पनि जाला,’ उनले भने, ‘तर, अहिले भएको निर्यात ह्यान्डक्यारीका रूपमा मात्रै भएको छ, व्यावसायिक रूपमा हुन सकेको छैन, सरकारले स्पष्ट नीति बनाउने हो भने निर्यातको सम्भावनाचाहिँ अधिक छ ।’

यो वर्ष मुख्य सिजन तिजमै छैन उत्साहप्रद व्यापार
सुनका गरगहना व्यापारको मुख्य सिजन दसैँ, तिहार, विवाह र तिज हो । अन्य समयमा भन्दा तिजमा २० देखि ४० प्रतिशतसम्म व्यापार बढ्ने महासंघका अध्यक्ष श्रेष्ठले बताए । तर, यस वर्ष सुनमा कोटा घटेको, भाउ अकासिएको र अन्य आर्थिक गतिविधि सुस्ताएका कारण अपेक्षित व्यापार हुन नसकेको उनको भनाइ छ । ‘सुनका गरगहनाका लागि तिज मुख्य सिजनमध्येको एक हो, तर अहिले व्यवसाय उत्साहप्रद हुन सकेको छैन,’ अध्यक्ष श्रेष्ठले भने, ‘पसलहरूमा भिडभाड छैन, कालिगढले काम पाएका छैनन् ।’ तिजका वेलामा नेपालका मौलिक गरगहनाहरू तिलहरी, नौगेडी, मारवाडीका साथै जन्तर, चन्द्रमा, रानीहार, नेक्लेस, चोकर, चन्द्रमाला, चुरा, मंगलसूत्र, औँठी, झुम्का, सिक्रीलगायत गरगहनाको बढी व्यापार हुने गरेको छ । 

यो पनि पढ्नुहोस् : विश्वमा कति छ सुन ? 

See More On

सुझावित समाचार