पाटनढोकाको बसपार्कको बाटो हुँदै हिँड्दा मौलिक शैलीमा निर्माण भएको सानो र आकर्षक भवन देखिन्छ । झट्ट हेर्दा घरजस्तो लागे पनि उक्त भवन सार्वजनिक शौचालय हो । हुन त यहाँ पहिले पनि शौचालय नै थियो । पहिला दुई–तीन सय मिटरपरसम्मै शौचालयको गन्ध पुग्ने गर्थ्याे । तर, अहिले शौचालयभित्रै पस्दा पनि गन्ध आउँदैन ।
यो शौचालय एरोसन ट्वाइलेट हबले बनाएको हो । ललितपुर महानगरपालिकाले उपलब्ध गराएको जग्गामा ८० लाख खर्चेर शौचालय निर्माण गरिएको हबका प्रमुख प्रकाश अमात्यले बताए । शौचालयमा स्वचालित बत्ती, सिसिटिभी क्यामेरा जडान, हात सुकाउने मेसिन, स्यानिटरी प्याडको उपलब्धता, प्याड डिस्पोज गर्ने मेसिन, झोला वा सामान राख्ने स्थान, बच्चाको डाइपर फेर्ने स्थान, बच्चालाई दूध चुसाउने स्थान, सेन्सरका आधारमा आफैँ फ्लस हुने उपकरण आदि छन् ।
‘यसलाई हामी सस्टेनेबल ट्वाइलेट भन्छौँ । सबैले बुझ्ने भाषामा भन्दा स्मार्ट ट्वाइलेट हो । स्मार्ट किन भनियो भन्दा यो शौचालयमा ह्विलचियर सजिलै जान सक्छ । महिलाले गोपनीयताको महसुस गर्न सक्छन्, महिनावारीको समयमा प्याड बदल्न र सुरक्षित तवरले प्रयोग गर्न सक्छन् । प्रयोग गरिसकेको प्याड डिस्पोज गर्न सक्छन्,’ हबका प्रमुख अमात्यले भने । आन्तरिक तथा बाह्य पर्यटकको हब भएकाले यो शौचालय मौलिक र आकर्षक शैलीमा निर्माण गरिएको अमात्यले बताए ।
उनले सार्वजनिक शौचालयको सोचमा परिवर्तन ल्याउन यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘म वातावरण, विज्ञान, खानेपानी र सरसफाइको क्षेत्रमा अध्ययन–अनुसन्धानमा लागेकाले सार्वजनिक शौचालयको सोचमा परिवर्तन ल्याउनुपर्छ भन्ने धारणा थियो । तर, वास्तविक रूपमा केही पनि भएन,’ उनले भने, ‘०७४ को स्थानीय निर्वाचनमा जनप्रतिनिधिले आफ्नो चुनावी घोषणापत्रमा स्मार्ट ट्वाइलेट उल्लेख गरे । तर, केही भएन । काठमाडौं महानगरले स्मार्ट ट्वाइलेट बनाउन कार्यदल बनाए पनि केही भएन । त्यसैले म आफैँ लागेको हुँ ।’
अपांग र महिलामैत्री शौचालय
आधारभूत संरचनाका आधारमा बनाइएको शौचालय महिलामैत्री छ । वातावरणसँगै स्मार्ट ट्वाइलेटको अवधारणामा ‘वाटर एन्ड वुमेन’ (पानी र महिला) मुख्य प्राथमिकतामा राखिएको छ ।
ढलरहित र बायोग्यासको प्रयोग
शौचालयले अकासेपानीको प्रयोग र पानी पुन: प्रयोग गरेर पानीको व्यवस्थापन गरिरहेको छ । पानी संरक्षणका लागि वर्षाको पानी जम्मा गर्ने ट्यांकी र फिल्टर मेसिन राखिएको छ । वर्षाको पानी फिल्टर गरेर ट्वाइलेट र वरिपरिका बोटबिरुवालाई सिँचाइ गर्न मिल्छ । ट्वाइलेटबाट निस्केको ढलबाट बायोग्यास उत्पादन गरिएको छ ।
शौचालयबाट निस्किएको दिसापिसाब ढलमा मिसाइँदैन, यसबाट बायोग्यास उत्पादन गरेर चिया–खाजा बनाउन प्रयोग गरिएको छ । शौचालय भवनमै क्याफेको व्यवस्था छ, जहाँ त्यसरी बनाइएको चिया र खाजा बिक्री हुन्छ ।
‘सार्वजनिक शौचालय भन्नेबित्तिकै दुर्गन्धित, अव्यवस्थित भन्ने बुझिन्छ । सार्वजनिक शौचालय पनि दुर्गन्धरहित, सफा र व्यवस्थित हुन सक्छन् भन्ने उदाहरण स्मार्ट शौचालयहरू हुन्,’ अमात्यले भने ।