राष्ट्रपतिमाथि भट्टराईको प्रश्न– चुनावको मुखमा ‘राष्ट्रवादी’ उत्तेजना फैलाएर अमूक दललाई सघाउन खोजियो !

बिहिबार, ९ भदौ, २०७९
डिजिटल संस्करण

नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले बहालवाला र पूर्वसैनिक प्रमुखहरूसँगको भेटका विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि प्रश्न उठाएका छन्। बुधबार शीतलनिवासमा सेनाका सात दर्जन पूर्वजर्नेलसँग भण्डारीले रात्रिभोजसहित परामर्श गरेको विषयमा भट्टराईले ट्विटरमार्फत आलोचना गरेका हुन्।

राष्ट्रपतिको कदम नेपालको संविधानअनुकूल  नभएको भन्दै उनले संविधानले राष्ट्रपतिलाई कहीँ–कतै स्वविवेकीय अधिकार नदिएको प्रस्ट पारेका छन्। भट्टराईले चुनावको मुखमा राष्ट्रवादी उत्तेजना फैलाएर दल र नेताविशेषलाई सघाउन खोजेको शंका व्यक्त गरेका छन्।

उनले लेखेका छन्, ‘नागरिकता विधेयकलाई जोडेर राष्ट्रपतिले सैनिक/पूर्वसैनिक अधिकारीसँग ‘परामर्श’ गरेको खबर साँचो हो भने त्यो नेपालको संविधानअनुकूल भएन। नेपालको संविधानले राष्ट्रपतिलाई कहीँ–कतै स्वविवेकीय अधिकार दिएको छैन। चुनावको मुखमा ‘राष्ट्रवादी’ उत्तेजना फैलाएर अमूक दल/नेतालाई सघाउन खोजेको भए झन् भएन !’

पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक जस्ताको तस्तै प्रतिनिधिसभाबाट पारित भएपछि असन्तुष्ट राष्ट्रपति भण्डारीले बुधबार सेनाका ८० पूर्वजर्नेलसँग सामूहिक छलफल गरेकी थिइन्।

यसअघि उनले राष्ट्रपति कार्यालयका कानुनी सल्लाहकार, संविधानविद् र कानुनविद्सँग परामर्श गर्नुका साथै मंगलबार नेपालस्थित विदेशी कूटनीतिज्ञले सामूहिक रूपमा राष्ट्रपतिलाई भेट गरेका थिए।

याे पनि : राष्ट्रपतिले राजनीतिक निर्णय लिने संकेत

सुझावित समाचार