काभ्रे जिल्लाको बनेपा नगरपालिका– ६ अठ्ठाईसकिलोबाट नौ किलो अवैद्य सालकको खपटासहित तीनजना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानेका अनुसार बनेपा– ६ अठ्ठाईसकिलोस्थित स्वागत क्याफेभित्र संरक्षित वन्यजन्तु आखेटोपहार (सालकको खपडा) अवैध रूपमा ओसारपसार तथा खरिद–बिक्री भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो, महाराजगन्ज काठमाडौं र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले खपडा बरामद गरी संलग्नलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक जिल्ला सुनकोसी गाउँपालिका– ७ का ४९ वर्षीय गोविन्द सिन्चुरी, काभ्रे जिल्ला महाभारत गाउँपालिका– ७ का २५ वर्षीय विमान स्याङ्तान र काभ्रे जिल्ला रोशी गाउँपालिका– ४ का २६ वर्षीय सुरज झेडीमगर रहेका छन् । उनीहरूलाई आवश्यक कारबाहीका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।