शिक्षण अस्पतालबाट ज्यान मुद्दाका कैदी फरार

बुधबार, ८ भदौ, २०७९
डिजिटल संस्करण

उपचारका लागि शिक्षण अस्पताल महाराजगन्ज ल्याइएका एक कैदी फरार भएका छन् । ललितपुरमा रहेको नख्खु कारागारबाट उपचारका लागि काठमाडौंको महाराजगन्जस्थित शिक्षण अस्पताल ल्याइएका कैदी आज अपराह्न सवा चार बजे अस्पतालबाटै फरार भएका हुन् । 

फरार हुनेमा रामेछापको पिल्पुंग गाउँपालिका– २ घर भएका ३१ वर्षीय भोला बुढाथोकी रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसपी देवेन्द्रबहादुर पालले जानकारी दिए । 

एसपी पालका अनुसार बुढाथाेकी कर्तव्य ज्यान मुद्दाका कैदीबन्दी हुन् । उनी नेपाल प्रहरीको अनाश्रित गुल्म नख्खु ललितपुर कारागारमा सुरक्षाका लागि खटिएका प्रहरीसँग अस्पतालमा उपचारका लागि आएका थिए । 

कैदी फरार भएपछि नेपाल प्रहरीको अनाश्रीत गुल्म नख्खु ललितपुरका कारागार प्रमुखलाई हटाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ । साथै, बुढाथोकीको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई बुधबार नै निलम्बन गरेको छ । घटनाको सत्यतथ्य जाँच गर्न प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको छ । 

सुझावित समाचार