खुँखार साहुकार जगदीश भारतबाट पक्राउ

बुधबार, ८ भदौ, २०७९
डिजिटल संस्करण

नवलपरासीका २७ जनालाई ८७ लाख ऋण दिएर तीन करोड २० लाख उठाएपछि पनि दुई करोड २६ लाख बाँकी देखाउने खुँखार मिटरब्याजी साहुकार जगदीश कानु बानियाँ पक्राउ परेका छन् । नवलपरासी प्रतापपुर गाउँपालिका– ९ का ५५ वर्षीय जगदीशलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट खटिएको प्रहरी टोलीले सोमबार राति भारतबाट पक्राउ गरेको हो । 

सरकारले मिटरब्याज अपराध अध्ययनका लागि गठन गरेको उच्चस्तरीय कार्यदलका संयोजक डा. भीष्मकुमार भुसालले जगदीशलाई पक्राउ गरिएको बताए । ‘साहुकार जगदीश पक्राउ परेको सूचना मैले पाएको छु । यसको सबै अध्ययन तथा अनुसन्धान सिआइबीबाट भइरहेको छ । विस्तृत विवरण उहाँहरूले संकलन गर्नुभएको होला । अनुसन्धान प्रक्रिया निरन्तर अघि बढेको छ,’ उनले भने । 

जगदीशलाई महाराजगन्जस्थित सिआइबीको हिरासतमा राखेर विशेष अनुसन्धान भइरहेको छ । मंगलबार नै सिआइबीले जगदीशविरुद्ध पाँच पीडितको उजुरी पनि लिएको छ । नवलपरासी प्रतापपुर गाउँपालिका– ५ की खुसुनुव नेसा र रामकेवल चमार, सुस्ता गाउँपालिका– ५ का रामसुभग मुसहर र जयप्रकाश कुर्मी तथा प्रतापपुर–२ का रामसुरत गुप्ताले उजुरी दिएका हुन् । उनीहरूले जगदीशविरुद्ध ५० लाख रुपैयाँ बिगो दाबी गरेका छन् । 

कुल २७ पीडितले सिआइबीमा पेस गरेको विवरणअनुसार जगदीशले २७ ऋणीलाई विभिन्न मितिमा ८७ लाख ७ हजार रुपैयाँ ऋण दिएकोमा तीन करोड २० लाख १३ हजार ८ सय असुलिसकेका छन् । तर, उनले कुनै पनि ऋणीको दृष्टिबन्धकमा राखिएको जमिन फिर्ता गरेका छैनन् । बरु उनीहरूसँग उल्टै थप दुई करोड २६ लाख ५० हजार मागेका छन् । 

दुई दिनमा तीन मिटरब्याजी पक्राउ
सोमबार राति साहुकार जगदीशसँगै अर्का साहुकार लालबहादुर खड्कालाई पनि सिआइबीले पक्राउ गरेको छ । काठमाडौं गोलढुंगाका लालबहादुरविरुद्ध नवलपरासी बर्दघाट नगरपालिका– १४ का मानबहादुर थापा र कुलबहादुर थापाले उजुरी दिएका छन् । उनीहरूले दृष्टिबन्धकमा रहेको आफ्नो जग्गा फिर्ता गर्न भन्दै उनीविरुद्ध उजुरी दिएका हुन् । 

डिआइजी टेकप्रसाद राई, प्रवक्ता, नेपाल प्रहरी
मिटरब्याजीविरुद्ध उजुरी पर्ने क्रम जारी छ । उनीहरूविरुद्ध प्रहरीले कारबाही तीव्र पारेको छ । कोही फरार छन् । खोजी कार्यलाई पनि प्रहरीले तीव्र बनाएको छ । 

मानबहादुरका अनुसार लालबहादुरले आठ वर्षअघि आफूलाई दुई लाख रुपैयाँ ऋण दिँदा साढे नौ लाखको तमसुक बनाई नौ कट्ठा जमिन पनि दृष्टिबन्धनका राखेका थिए । तर, उनीसँग लिएको ऋण वर्ष दिनमै चुक्ता गरे पनि न साढे नौ लाखको तमसुक च्यातिएको छ, न दृष्टिबन्धकको जग्गा फिर्ता नै भएको छ । त्यस्तै, कुलबहादुरले पनि आठ वर्षअघि नै दुई लाख ऋण लिएका थिए । उनका अनुसार त्यतिवेला नौ कट्ठा जमिन पनि दृष्टिबन्धकमा राखेका थिए । तर, लिएको ऋण चुक्ता गरेर जग्गा फिर्ता गर्न खोज्दा साहुकार लालबहादुरलाई भेट्नै नसकेको उनको गुनासो छ ।

प्रहरीले शनिबार महोत्तरीका साहुकार अनिरुद्ध साहलाई उनकै निवासबाट पक्राउ गरेको थियो । महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कृष्ण पंगेनीका अनुसार उनीविरुद्ध १३ उजुरी तथा निवेदन दर्ता भएको छ । प्रहरीले उनीसँग ७१ लाखको जाली तमसुक पनि फेला परेको छ । 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी टेकप्रसाद राईले मिटरब्याजीविरुद्धको कारबाहीलाई प्रहरीले तीव्रता दिएको बताए । उनले भने, ‘मिटरब्याजीविरुद्ध उजुरी पर्ने क्रम जारी छ । उनीहरूविरुद्ध प्रहरीले कारबाही तीव्र पारेको छ । कोही फरार छन् । खोजी कार्यलाई पनि प्रहरीले तीव्र बनाएको छ,’ उनले भने । 

साहुकारविरुद्ध सबैभन्दा  धेरै ४२७ उजुरी सर्लाहीमा 
सरकारले गठन गरेको मिटरब्याज अपराध अध्ययनसम्बन्धी उच्चस्तरीय कार्यदलका अनुसार साहुकारविरुद्ध सबैभन्दा धेरै उजुरी सर्लाहीमा परेका छन् । मंगलबारसम्म सर्लाहीमा मात्रै साहुकारविरुद्ध चार सय २७ उजुरी परेका हुन् । त्यसपछि सबैभन्दा धेरै उजुरी सिराहामा परेका छन् । सिराहामा मात्रै मंगलबारसम्म दुई सय ८९ उजुरी दर्ता भएको गृह मन्त्रालयको भनाइ छ । त्यस्तै, महोत्तरीमा एक सय ९१, धनुषामा एक सय ४०, सप्तरीमा एक सय १४ उजुरी परेका छन् । सबैभन्दा धेरै उजुरी पर्ने पाँचै जिल्ला मधेस प्रदेशका हुन् । साहुकारबाट गाउँ नै उठीबासमा परेको नवलपरासी पश्चिम र पूर्वमा पनि साहुकारविरुद्ध धेरै उजुरी परेका छन् । तथ्यांकअनुसार नवलपरासी पश्चिममा एक सय २ र नवलपरासी पूर्वमा ३५ उजुरी परेका छन् । 

काठमाडौं उपत्यकामा पनि सर्वसाधारणका १५३ उजुरी 
चर्को ब्याजदरमा रकम लगाई सर्वसाधारणलाई उठीबास लगाउने काठमाडौं उपत्यकाभित्रका मिटरब्याजीविरुद्ध पनि उल्लेख्य उजुरी परेका छन् । गृहका अनुसार सबैभन्दा धेरै एक सय ४१ उजुरी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएका छन् । त्यस्तै, भक्तपुर र ललितपुरमा भने ६–६ वटा उजुरी परेका छन् । 

३८ जिल्लाबाट परे १९ सय ६४ उजुरी
उदयपुर : १, झापा : २१, मोरङ : ३७, सुनसरी ३३, सप्तरी : ११४, सिराहा : २८९, धनुषा : १४०, महोत्तरी : १९१, सर्लाही : ४२७, रौतहट : ४१, बारा : ४५, पर्सा : ८३, दोलखा : २, सिन्धुली : २, काभ्रेपलाञ्चोक : १८, धादिङ : २, चितवन १६, मकवानपुर : ९, भक्तपुर : ६, ललितपुर : ६, काठमाडौं : १४१, तनहुँ : ५, कास्की : २४, स्याङ्जा : २, म्याग्दी : १, पर्वत : ३, नवलपरासी (सुस्ता पूर्व) : ३५, रूपन्देही : २९, अर्घाखाँची : १, दाङ : ४८, बाँके : १५, नवलपरासी (सुस्ता पश्चिम) : १०२, बर्दिया : ८, सल्यान : ११, सुर्खेत : ११, कैलाली : ४३ र कञ्चनपुर : २

सुझावित समाचार