सेयर बजारमा किन आउन सकेन सुधार ?

सोमबार, ६ भदौ, २०७९
डिजिटल संस्करण

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ७.३८ अंकले घटेको छ। त्यस्तै ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स १.४७ अंकले घटेर तीन सय ९७.११ बिन्दुमा आइपुगेको छ। बजार घटेसँगै लगानीकर्ताहरू निकै सुस्त बनेका छन्। साना लगानीकर्ताहरू घट्दो बजारको अवस्थालाई लिएर बजार प्रवेश गर्न डराइरहेका छन्।

कारोबार रकम पनि निकै सुस्त बन्न पुगेको छ। कारोबारमा देखिएको सुस्तताले पनि लगानीकर्ता प्यानिक बन्न पुगेको संकेत गर्छ। कारोबारमा आएका दुई सय २२ कम्पनीका ५२ लाख ३० हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ७२ करोड रुपैयाँको सेयर कारोबार भएको छ। अघिल्लो दिन आइतबार दुई अर्बमाथिको कारोबार भए पनि पर्ख र हेरको अवस्थामा रहँदा कारोबार बढ्न नसकेको हो।

बजारले दुई हजारको मनोवैज्ञानिक बिन्दुबाट माथि उक्लिन सकेको छैन। केही हप्ताअघि २१ सय सूचांकको परीक्षण गरेको भए पनि बजार पुनः फर्किएर दुई हजारकै बिन्दुमै आइपुगेको छ। लगानीकर्ता तथा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले बैंकमा देखिएको तरलताको अवस्था र नजिकिँदै गरेको चाडपर्वले पनि लगानीकर्ता  लगानी गर्न तयार नभएको बताए। ढकाल भन्छन्, ‘करेक्सन हुने  जति बजारमा करेक्सन भइसक्यो। केही ठूलो निर्णयको प्रतीक्षामा बजार छ, चुनाव नजिकिँदै गरेको अवस्थामा हुँदा आत्तिनुपर्ने अवस्था छैन।’

घटेको बजारमा लगानीकर्ताको आकर्षण जलविद्युत् समूहमा देखिएको छ। अपरहेवाखोला जलविद्युत् कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। त्यस्तै, मन्दाकिनी हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि सर्किट नजिक पुगेको छ। सिटिजन म्युचुअल फन्ड, सामलिङ पावर कम्पनी, हिमालयन दोलखा हाइड्रोपावर कम्पनीको चार प्रतिशतदेखि ७.२२ प्रतिशतले बढेको छ।

सर्वाधिक सेयर कारोबार हिमालयन दोलखा हाइड्रोपावर कम्पनीको २८ करोड १८ लाख रुपैयाँको कारोबार भएको छ। त्यसैगरी रिडी पावर कम्पनी, प्राइम कमर्सियल बैंक, शिवम् सिमेन्ट र अपी पावर कम्पनीको  पाँच करोड रुपैयाँदेखि आठ करोड ५० लाख रुपैयाँसम्मको सेयर कारोबार भएको छ।

आज सर्वाधिक घट्ने कम्पनीमा नबिल समृद्धि फन्ड, दोर्दी खोला जलविद्युत् कम्पनी, श्वेतगंगा हाइड्रोपावर कम्पनी, तारागाउँ रिजेन्सी होटेल र सबैको लघुवित्त वित्तीय संस्था रहेका छन्। यी कम्पनीको मूल्य २.९४ प्रतिशतदेखि ६.७५ प्रतिशतले घटेका छन्।

सुझावित समाचार