देशभर कार्यरत इन्जिनियर/आर्किटेक्टलाई विश्वविद्यालयको अध्ययनपश्चात् अवसर र मागअनुसार सीधै कार्यक्षेत्रमा खटाउनुअघि उनीहरूलाई सम्बन्धित विषयमा विभिन्न किसिमका तालिम तथा प्रशिक्षण दिन इन्जिनियरिङ स्टाफ कलेजको खाँचो छ
नेपालको संविधान २०७२ ले कोरेको मार्गचित्रमा संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको नयाँ अभ्याससँगै अब देशको सामाजिक र आर्थिक क्षेत्रमा रूपान्तरण, सामाजिक न्यायसहितको दिगो विकास नै राज्यको पहिलो प्राथमिकता हुनुपर्छ । जनताको मुहारमा खुसी ल्याउन देशको प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धि र विकास व्यवस्थापनमा आमूल परिवर्तन आवश्यक छ । राज्यकोे नीति तथा कार्यक्रममा सूचना प्रविधि, सडक, आवास, खानेपानी, रेल, पानीजहाज, सुरुङ प्रविधि, खनिज अन्वेषण, जलाशययुक्त जलविद्युतजस्ता पूर्वाधार विकासका आयोजना निर्माण तथा प्राविधिक शिक्षामा नेपालको मौलिक कला, संस्कृति र ज्ञानको संरक्षण तथा प्रवर्द्धनका लागि असल, सिर्जनशील र सीपयुक्त प्राविधिक दक्ष जनशक्ति विकास गर्न यस विषयको प्रशिक्षण तथा अनुसन्धानमा विशेष महत्व दिई नेपाल सरकारका तर्फबाट आवश्यकताअनुसारको बजेट समावेश गर्न अपरिहार्य भएको छ।
प्राविधिक जनशक्तिको विकास र क्षमता अभिवृद्धिको आवश्यकतालाई केवल विद्यालय, तथा विश्वविद्यालयका औपचारिक शिक्षाले मात्र पूरा गर्न सक्दैनन् । विज्ञान तथा प्रविधिमा लगातार भइरहेको आविष्कार, अनुसन्धान र विकाससँगै उपलब्ध नयाँ–नयाँ उपायको समयसापेक्ष उपयोग र दिनदिनै सामना गर्नुपरिरहेका समस्या हल गर्न सक्षम, दक्ष मानवीय संसाधन विकासका लागि प्राविधिक जनशक्तिलाई निरन्तर र नियमित रूपमा प्रशिक्षित र अद्यावधिक गराइराख्न जरुरी हुन्छ । नेपालमै पनि प्रशासनिक क्षेत्रमा सो आवश्यकतालाई सम्बोधन गर्न नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान कार्यरत छ । तर, इन्जिनियरिङ–प्राविधिक क्षेत्रका लागि नेपालमा हालसम्म त्यस्तो संस्था सञ्चालनमा नआएको र सीमित रूपमा केही निकायले आ–आफ्नै पहलमा जसोतसो कामचलाउ ढंगबाट सञ्चालन गरिरहे पनि प्राविधिक जनशक्तिलाई निरन्तर अद्यावधिक गराइराख्ने एउटा स्थायी र एकीकृत संरचना नेपालमा अझै अस्तित्वमा आइसकेको छैन । अन्तर्राष्ट्रिय तहमा समेत यससम्बन्धी निरन्तर शिक्षाको आवश्यकतालाई सम्बोधन गर्न अन्य विकासशील तथा विकसित देशमा पनि इन्जिनियरिङ स्टाफ कलेजको व्यवस्था गरिएको छ । उदाहरणका लागि सार्क मुलुकमा भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकालगायत देशलाई लिन सकिन्छ, टाढा जानुपर्दैन । तुलनात्मक हिसाबले ती देशको विकासको स्तर हामीले देखेकै छौँ । इन्जिनियरिङ स्टाफ कलेज स्थापनाका लागि नेपाल इन्जिनियर्स एसोसिएसनले विगत लामो समयदखि निरन्तर पहल गर्दै आएको भए पनि सरकारको नीति निर्माणको तहमा बस्ने उच्चपदस्थ कर्मचारीले मौजुदा प्रशासनिक प्रशिक्षण प्रतिष्ठानतर्फ इंगित गर्ने गरेको हुँदा इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्ने विषयले हालसम्म प्राथमिकता पाएन ।
इन्जिनियरिङ स्टाफ कलेजको उद्देश्यलाई वर्तमानको प्रशासनिक स्टाफ कलेजले पूर्ति गर्न सक्छ र यो नै त्यसको पर्याय हो, अर्को किन चाहियो ? भन्ने बुझाइ गलत छ । यो लघुताभाषबाट माथि उठेर विशेष महत्वसाथ राज्यले नीतिगत रूपमै निर्णय गर्यो भने हामी इन्जिनियर समुदाय र देशकै लागि कोसेढुंगा साबित हुनेमा दुईमत छैन । मुलुकमा संघीय शासन प्रणाली लागू भएपछि संघ, प्रदेश र स्थानीय तहर गरी तीन तहका सरकार सञ्चालनमा छन् । देशका सात सय ५३ स्थानीय तहमा हाल कार्यरत इन्जिनियर/आर्किटेक्टहरू विश्वविद्यालयको अध्ययनपश्चात् अवसर र मागअनुसार सीधै कार्यक्षेत्रमा खटिएको हामीले देखेकै छौँ । उनीहरूलाई सेवा प्रवेश गर्नुअघि सम्बन्धित विषयमा विभिन्न किसिमका तालिम तथा प्रशिक्षणको आवश्यकता पर्छ जसबाट स्थानीय तहमा गरिने विकास र पूर्वाधार निर्माणलाई दिगो र गुणस्तरीय बनाउन मद्दत पुग्न सक्छ । स्थानीय तहमा हुने गुणस्तरीय पूर्वाधार निर्माणको प्रतिफल स्थानीय जनताले प्राप्त गर्न र उनीहरूको जीवन सहज बनाउन पनि दक्ष प्राविधिक जनशक्तिको खाँचो पर्ने हुनाले यो विषयलाई सम्बोधन गर्न नेपाल इन्जिनियरिङ स्टाफ कलेजको स्थापना अपरिहार्य छ ।
नेपाली जनताको आजको चाहना भनेको आर्थिक उन्नति, सामाजिक न्याय एवं राष्ट्रिय विकास र सुविधायुक्त जीवनशैली हो । अन्तर्राष्ट्रियस्तरका पूर्वाधार संरचना निर्माण गरी दिगो शान्ति स्थापना गर्नु र न्यायपूर्ण विकासको अग्रगामी मार्ग तय गर्नुजस्ता अहं दायित्व हाम्रा काँधमा छन् । यसका लागि नेपाली इन्जिनियर समुदायलाई अझ बढी सिर्जनशील र सक्षम नबनाई यो दायित्व पूरा गर्न सम्भव छैन । इन्जिनियरहरूको हालको ज्ञान, सीप, क्षमता र दक्षतामा उल्लेख्य मात्रामा अभिवृद्धि गर्नु अनिवार्य छ, जसका माध्यमबाट मात्र विकसित र समुन्नत नेपालको लक्ष्य हासिल गर्न सकिन्छ । देशसामु रहेका यी विहंगम कार्यभारको सफल नेतृत्व दिन र गुणस्तरीय भौतिक संरचना निर्माण र सञ्चालनको सुनिश्चितता गर्न नेपालमा एउटा इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्न आवश्यक छ । इन्जिनियरिङ प्राविधिकहरूको व्यावसायिक तथा व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्ने उद्देश्यअनुरूप नयाँ तथा आधुनिक आयोजना, परियोजना निर्माण तथा सञ्चालन गर्न सक्षम प्राविधिक जनशक्ति देशभित्रै तयार गर्न, नेपालको आफ्नो स्रोत, साधन र आवश्यकताका आधारमा अन्तर्राष्ट्रियस्तरमा प्राप्त सूचना, ज्ञान, सीप र प्रविधिको उपयोग गर्न सक्ने दक्ष जनशक्ति विकास गर्न, राष्ट्रिय गौरव तथा बृहत्तर महत्वका ठूला आयोजना कार्यान्वयन गर्न सक्षम विकास व्यवस्थापक र दक्ष प्राविधिक जनशक्तिको दिगो आपूर्ति गर्न, नेपाल सरकारले अवलम्बन गर्नुपर्ने नीति तथा कार्यक्रमलाई सहयोग पुग्ने गरी इन्जिनियरिङ क्षेत्रका विविध विधामा अध्ययन अनुसन्धान गर्नका लागि इन्जिनियरिङ स्टाफ कलेज स्थापनाको महत्व बढ्दै गएको छ ।
उल्लिखित उद्देश्यको प्रतिफलबाट राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा इन्जिनियरिङ प्रविधिका क्षेत्रमा भएका नवीनतम उपलब्धिबारे देशका प्राविधिक–इन्जिनियरहरू जानकार हुनेछन् । देशको आर्थिक उन्नतिका साथै समुन्नत राष्ट्र निर्माणमा आवश्यक सक्षम प्राविधिक जनशक्ति देशभित्र तयार हुने छ । त्यसमा कार्यरत प्राविधिक जनशक्तिले निरन्तर शिक्षा, पेसागत क्षमता अभिवृद्धि, वृत्ति विकास र पेसागत प्रगतिका अवसर देशभित्रै प्राप्त गर्नेछ । देशभित्र कार्यरत प्राविधिक जनशक्तिको सीप, दक्षता र क्षमता अभिवृद्धिको अवसर देशभित्रै प्राप्त हुँदा देशबाहिर जान सक्ने सम्भावित वित्तीय स्रोतलाई कम गर्न सकिनेछ । प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धिबाट प्रतिस्पर्धी क्षमता र रोजगारी प्राप्त गर्न सक्ने सम्भावनामा वृद्धि हुने, उत्पादकत्व बढ्ने, कार्य–कुशलता थपिने, कामको गुणस्तरमा बढोत्तरी आउने भएकाले इन्जिनियरिङ स्टाफ कलेज स्थापनाका लागि नेपाल सरकार, सम्बद्ध निकाय तथा सरोकारवाला पक्ष सबैको सहयोग र सहकार्य आवश्यक छ ।
(झा नेपाल इन्जिनियर्स एसोसिएसनका महासचिव हुन्)