नेपालको पहिलो उद्योग विराटनगर जुट मिल हो । रामलाल गोल्छाको अगुवाइमा १९९३ सालमा स्थापना भएको यही उद्योगले नेपालमा औद्योगिक जग बसालेको हो । जुट मिल खुलेपछि देशमा औद्योगिक क्रान्ति मात्र सुरु भएन, यसै उद्योगबाट देशको राजनीतिक क्रान्ति पनि अगाडि बढेको थियो ।
००३ सालमा यही उद्योगबाट मजदुर हडतालका नाममा सुरु भएको आन्दोलनले राणा शासन अन्त्य गरेको हो । यो उद्योग खुलेपछि मोरङ–सुनसरी औद्योगिक करिडोरमा उद्योग स्थापनाको लहर चलेको थियो । र, देशैभरि औद्योगिक विस्तार हुँदै गयो । सरकारी स्वामित्वको विराटनगर जुट मिल एक दशकयता बन्द अवस्थामा छ ।