विचारधाराको माग

आइतबार, ५ भदौ, २०७९
डिजिटल संस्करण

नयाँ पत्रिका अर्काइभमा प्रदीप गिरि

कांग्रेसको १४औँ महाधिवेशनमा विचारधारा, नीति र कार्यक्रमका विषयमा कुनै छलफल नहुने भन्ने समाचार आएका छन् । यसलाई बन्दसत्र नहुने भयो भनिएको छ । सभापतिको चुनाव भइसकेपछि यथासमयमा बन्दसत्र गरिने भन्ने नेतृत्वले सोच बनाएको छ । खासमा नेपाली कांग्रेसको विधानको भावनाअनुसार प्रत्येक वर्ष अनिवार्य रूपमा पार्टीको महासमितिको बैठक हुनुपर्ने थियो । महासमिति हाम्रो पार्टीको विचारमन्थनको थलोका रूपमा परिकल्पित थियो । तर, यताका दशकमा त्यो भएन ।

कृष्णप्रसाद भट्टराईको सभापतिको कार्यावधि सकिएपछि नेपाली कांग्रेसभित्र महासमितिको बैठक इमर्जेन्सीका रूपमा बाहेक हुन सकेन । गिरिजाप्रसाद कोइरालाको सभापतित्वकालमा नेपालगन्जमा अन्तिम विचारमुखी महासमिति भएको थियो । त्यसपछि महासमिति पनि हरायो । विचारधारा पनि सुक्दै गयो । त्यसैले यसपटकको महाधिवेशनमा नीति वक्तव्यका बारे छलफल नहुने कुरा नेपाली कांग्रेसभित्र एउटा तार्किक निष्पतिका रूपमा आएको छ ।

यस पृष्ठभूमिमा समेत कांग्रेसका कतिपय सचेत र सजक कार्यकर्ता–नेताहरू विचारधारा नभई पार्टी अगाडि बढ्दैन भनेर ठाउँ–ठाउँमा भनिरहेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेयको दृश्य टिभीमा यस विषयको एउटा गतिलो प्रस्तुतिले मेरो ध्यान आकृष्ट गरेको छ । बद्री पाण्डेयबाहेक पनि उहाँकै पुस्ताका युवाहरू विश्वप्रकाश शर्मा, गगन थापा, प्रदीप पौडेल, कल्याण गुरुङ इत्यादि सबैले वेलाबखत विचारधाराको प्रासंगिकताको कुरो उठाइरहन्छन् ।

कांग्रेसमा विधिवत् आबद्ध नभएका प्रजातन्त्रवादी जमातले पनि वेलाबखतमा आदर्श र विचारको खोजी गरेको वस्तुस्थिति देख्न–पढ्न पाइन्छ । यो अझ राम्रो कुरा हो । खासमा विचारधारा नभएको कुनै मनुष्य हुँदैहुँदैन । जानी–नजानी प्रत्येक मानिस एउटा विचारबाट डोहोरिरहेको हुन्छ । उसले आफ्नै खोजी र स्रोतबाट एउटा विचार बनाएको छ भने बडो राम्रो, छैन भने पनि बजारमा विद्यमान गफसफ, उखान–टुक्कालाई आधार बनाएर ऊ हिँड्छ । यस्ता विचारक जस्तै ठूला नेता भए पनि उनीहरू यथास्थितिवाद र बजारवादका प्रच्छन्न समर्थक हुन्छन् । मुलुक अहिले यस्तै नेताहरूबाट चलेको छ । राजनीतिमा यस्तै नेताहरू हावी छन् । यस परिस्थितिमा कुनै बद्री पाण्डेय वा कल्याण गुरुङले आफूलाई परिवर्तनको पक्षमा उभ्याउन चाहन्छन् भने उनीहरूले आफ्नो विचारधारालाई स्पष्टतापूर्वक अगाडि राख्न सक्नुपर्छ । त्यस दृष्टिले बद्री पाण्डेयले थाल्नुभएको प्रयास प्रशंसनीय छ ।

मानव सभ्यताको विकासका क्रममा विचारधाराले प्राचीनकालदेखि नै भूमिका निर्वाह गर्दै आएको छ । प्राचीनकालमा धर्म र सम्प्रदायको लवेदा लगाएर विचारधाराले जनजीवनलाई सूचित गरेका थिए । वेदान्त, बौद्ध, जैन र चार्वाकजस्ता विचारधाराले सयकडौँ वर्ष पूर्वमा अनुप्राणित गरे । पश्चिमका हकमा ग्रिस रोमका दार्शनिक र पछि इसाई वा इस्लाम सम्प्रदायले समाजको नेतृत्व गरे । आधुनिक युगमा पुँजीवाद, उदारवाद, समाजवाद, माक्र्सवादका नाममा संसार हल्लिरह्यो । तर, सोभियत युनियनको अन्त्यपछि भने विचारधाराको युगको अन्त्य भयो भन्ने शंखनाद सुन्न थालियो । विगत ३० वर्षमा विचारधाराको युगको अन्त्य नभएको कुरा ठोस रूपमा अगाडि आएको छ । विचारधाराको आवश्यकता र अनिवार्यताले यथोचित भूमिका पाएको छैन । फलस्वरूप समाजमा अनेकथरीका अतिवाद, विभिन्न विशेषणका साथ हावी हुँदै गएका छन् । प्रचलित बजारवाद प्रकारान्तरले पुँजीवादको अवतार हो । तर, यस अवतारमा मौलिक पुँजीवादको सामाजिकता र सिर्जनात्मकता शेष रहन गएको छैन ।

उदीयमान पुँजीवाद अनेकन् दृष्टिले क्रान्तिकारी विचारधारा थियो । सामान्तवाद र उत्पीडनका अन्य संस्थासँग लड्न जोन लक, वर्कले र ह्युमजस्ता दार्शनिकले अगाडि सारेको तर्कशास्त्रलाई पुँजीवादले उपयोग गरेको थियो । हिजोको पुँजीवादले तर्कलाई हतियारका रूपमा अगाडि सारेको थियो । समकालीन पुँजीवादका निमित्त हतियार नै तर्क भएको छ । अहिले काँठे, भतुवा, मठ्या र एकाधिकारवादी पुँजीवादले नेपालजस्ता देशलाई निरन्तर ओरालोतिर घचेट्दै छन् । हाम्रो बौदिकता पनि त्यसबाट ग्रस्त छ । कुनै पनि समाजको नेतृत्व गर्न विचारमा स्पष्टता चाहिन्छ । अकाट्य र वस्तुगत तर्क चाहिन्छ । त्यो हुन नसक्दा हिन्दीको उखान जिस की लाठी उस की भैँस हुन्छ । नेपाली राजनीतिमा अहिले यस्तै परिदृश्य देखिँदै छ । राज्य, सरकार र सँगसँगै कुनै पनि राजनीतिक पार्टी यसका अपवाद छैनन् ।

खासमा विचारधारा नभएको कुनै मनुष्य हुँदैहुँदैन । जानी–नजानी प्रत्येक मानिस एउटा विचारबाट डोहोरिरहेको हुन्छ । उसले आफ्नै खोजी र स्रोतबाट एउटा विचार बनाएको छ भने बडो राम्रो, छैन भने पनि बजारमा विद्यमान गफसफ, उखान–टुक्कालाई आधार बनाएर ऊ हिँड्छ । यस्ता विचारक जस्तै ठूला नेता भए पनि ती यथास्थितिवाद र बजारवादका प्रच्छन्न समर्थक हुन्छन् । 

विचारधाराको कुरा गर्नासाथ सर्वप्रथम हामीले तर्क प्रणालीका बारेमा स्पष्ट हुनुपर्छ । कुनै एउटै समूहमा आबद्ध रहेको कुनै राजनीतिक दलका सदस्यहरूले एकैनासले सोच्ने तरिकाको विकास नगरुन्जेल उनीहरूमा समबोध र समलक्ष्य आउँदैन । फलस्वरूप सानातिना आनुसांगिक कुरामा पनि बाझिरहने प्रवृत्ति हुन्छ । नेताहरूको झगडामा कुनै सत्व रहँदैन, अहंकारको खेल मात्र हुन्छ । अहिले कांग्रेस र एमालेभित्रको झगडा हेर्दा यसै नतिजामा पुगिन्छ । कुनै परिस्थितिको ठोस विश्लेषण गर्ने क्रममा पार्टीभित्र साझा दृष्टिकोणको विकास हुन सक्नुपर्छ । त्यस्तो हुनलाई कार्यकर्ताहरूका माझमा सबैभन्दा पहिले वस्तुनिष्ठ सोच कसरी बनाउने भन्ने सामान्य अभिज्ञान आवश्यक छ । विचारधाराको इतिहासमा यसै पनि वस्तुनिष्ठ चिन्तन र आत्मनिष्ठ चिन्तनको द्वन्द्व बडो पुरानो हो ।

आत्मनिष्ठ चिन्तनले दुनियाँलाई सधैँ आफ्नै प्रकारले हेर्छ । मैले जे सोचेको छु, त्यो नै अन्तिम सत्य हो । मलाई जे थाहा छ, त्यही नै सबैलाई थाहा छ भनेर काल्पनिक र मनचिन्ते आधारमा वरिपरिको परिस्थिति, समाज र राष्ट्रको अवस्थाका बारेमा समेत सोचिन्छ । विश्वको बारेमा समेत यसरी नै सोचिन्छ । मलाई क्रान्ति चाहिएको छ, म क्रान्ति गर्न चाहन्छु र आमजनताले पनि क्रान्ति चाहेका छन् भन्ने सोचले अनेकौँपटक क्रान्तिकारी दुस्साहस उत्पन्न गर्छ । हाम्रै पुस्तामा हामीले देखेको ओखलढुंगा काण्ड अत्यन्त उत्साही, समर्पित र बहादुर युवाहरूले थाल्नुभएको एउटा आत्मनिष्ठ क्रान्तिको प्रयत्न थियो । लेनिनले वामपन्थी, साम्यवाद एउटा बालरोग भनेर यस प्रश्नमा एउटा गम्भीर पुस्तक लेखेका छन् । समाजवादी चिन्तनमा त्यस पुस्तकले गहिरो रूपमा प्रभावित गरेको छ ।

तर, आत्मनिष्ठ चिन्तन छोडेर वस्तुनिष्ठ चिन्तनमा जाने कुरा त्यति सजिलो भने छैन । त्यसका लागि पार्टीले लामो समयसम्म छलफल चलाई आफ्ना भित्रमा वादविवाद गरी विभिन्न दार्शनिक परिपाटीको अनुशीलनसमेत गर्नुपर्छ । वस्तुनिष्ठ चिन्तन हुन नसक्दा अथवा हुँदा पनि कहिलेकाहीँ अनेकन् कारणले एउटा पार्टीभित्र वैचारिक मतभेद हुन्छ । चिन्तन एकखालको हुनेबित्तिकै पार्टीभित्र मतभेद हट्दैन । त्यो चिन्तनको व्याख्यामा पनि अनेकन् बाधा आउँछ । राजनीति दल भनेको समाजमा विद्यमान संघर्षको समाधानको एउटा संयन्त्र हो । एकखालको चिन्तन हुनेबित्तिकै एउटै निर्णयमा पुगिने भए विश्वका सबै माक्र्सवादी र समाजवादीमा यत्रो लडन्त हुने थिएनन् । त्यो लडन्त आज पनि छ । तर, त्यो लडन्तको उग्रता, तिक्तता, राप–ताप र धुवाँ भने मुख्यतः वैचारिक प्रशिक्षणको अभावले हुन गएको हो ।

वैचारिक प्रशिक्षणको अभावमा हुन गएका झगडा ज्यादा हानिकारक हुन्छन् । त्यो कुरा हामी वर्तमान एमालेमा देखिरहेका छौँ । लगभग यस्तै कुराको झझल्को नेपाली कांग्रेसमा पनि वेलाबखतमा भइराख्छ । विचारधारामा समलक्ष्य र समबोध ल्याउने, एक किसिमको बनाउने, तर्क प्रणालीको निरन्तर परिष्करण गर्ने कुरा कुनै पनि पार्टीको वैचारिक विकासको पहिलो खुड्किलो हो । तर, यतिमै कुरा सकिन्न । यतिमा त कुरा थालिने मात्र हो ।

त्यसपछि हामीले हाम्रो इतिहासबोध, हाम्रो सामाजिक आर्थिक विश्लेषण र हामी यो अवस्थामा कसरी आइपुग्यौँ, हाम्रो राष्ट्रियता तथा लोकतन्त्र कसरी विकसित भएको भन्ने विषयमा स्पष्टता हुनुपर्छ । त्यसका लागि एउटा खास खालको विश्लेषणात्मक पद्धति अपनाएर वा नअपनाएर पनि पार्टी एउटा निश्चित पार्टीगत निष्कर्षमा पुग्नुपर्छ । अनि त्यसका वरिवरि आमकार्यकर्ताले आफ्नो विचार बनाउँदै लैजान्छन् । अहिले सिंगो विश्व भूमण्डलीकरण, बजारवाद, सञ्चार क्रान्ति र आर्टिफिसियल इन्टेलिजेन्सको वस्तुस्थितिले आक्रान्त छ ।

नेपाली कांग्रेसले यसबारे यथोचित ध्यान दिएको छैन । निकट भविष्यमा भूमण्डलीकरण र बजारवाद कमजोर हुँदै जानेछ । तर, त्यो निकट भविष्य अझै पच्चीस–तीस वर्षअघि आइहाल्ने होइन । पच्चीस–तीस वर्षको यो समयलाई निर्बाध गतिले हामीले भूमण्डलीकरण र बजारवादलाई जान दिने हो भने नेपालले धान्न सक्छ कि सक्दैन । यस विषयमा हामीले अत्यन्त गम्भीर भएर अध्ययन गरेर आजै सोच्नुपरेको छ । आज हाम्रा दुइटा छिमेकी भारत र चीनबीच अन्धाधुन्ध रूपले आर्थिक र सामरिक प्रतियोगिता चलिरहेको छ । त्यसका लागि दुवैले प्रविधिका क्षेत्रमा पनि ठुल्ठूला फड्को मारेका छन् । यस क्षेत्रमा नेपाली कांग्रेसले नित्य नयाँ किसिमले सोच्दै जाने क्षमताको प्रदर्शन गर्नु आजको समयको माग हो । यी सबै कुरा अन्ततः विचारधाराको क्षेत्रमा पर्छन् । यसैले विचारको युगको अन्त्य भइसक्यो भनेर हामी ज्वलन्त यथार्थबाट उम्कन सक्दैनौँ । नयाँ पुस्ताले आजैदेखि यस्ता विषयमा प्रासंगिक सवाल उठाउनु आवश्यक छ ।

सुझावित समाचार