राष्ट्रिय हितमा काम गर्न मुख्यमन्त्रीकाे निर्देशन

आइतबार, ५ भदौ, २०७९
डिजिटल संस्करण

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नागरिकहरूको समस्याको विषयमा चिन्तित बनी राष्ट्रिय हितमा काम गर्न जनप्रतिनिधि तथा सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरूलाई निर्देशन दिएका छन्। 

जिल्ला समन्वय समिति दोलखाले चरिकोटमा आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीमा उनले दोलखाको सबै स्थानीय तहका लागि पक्की भवन निर्माण गर्न तथा बाढीपहिरोले जिल्लामा पुर्याएको क्षतिको विवरण प्रदेश कार्यालयमा पठाउन निर्देशन दिए । मुख्यमन्त्री पाण्डेले पहिरो तथा बाढीपीडितहरूलाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

बागमती प्रदेशभित्रका सबै जिल्लाहरूमा कृषकहरूलाई बाँदरले दुःख दिएको भन्ने सबैतिरबाट गुनासो आएका कारण बाँदर नियन्त्रणका लागि प्रदेश सरकारले विशेष कार्यक्रमसमेत सञ्चालन गर्ने उनले बताए । 

मुख्यमन्त्री पाण्डेले समृद्ध प्रदेश निर्माणका लागि प्रत्येक वडामा वडा समाजवादी कार्यक्रम लागू गर्ने, शिक्षा र स्वास्थ्यको पहुँचबाट टाढा रहेका व्यक्तिलाई सहज तरिकाले सेवा प्रवाह गराउने, जातीय धार्मिकलगायत विभेदको अन्त्य गरिने, पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार गरी प्रर्यटन प्रवर्धन गरिने, स्थानीयस्तरमा नै रोजगारी सिर्जना गर्ने जस्ता कार्यहरू बागमती प्रदेश सरकारले अघि सारेको जानकारी दिए।

सुझावित समाचार