मुद्रास्फीतिका कारण नयाँ गाडीको मूल्य अकासिएको छ, त्यसमाथि ब्याजदरको वृद्धिले मागमा नकारात्मक असर परेको छ
एस एन्ड पी ग्लोबल मोबिलिटीले गरेको नयाँ अनुसन्धानले विलासी गाडीमा ब्रान्ड लोयल्टी अर्थात् ब्रान्ड आकर्षण घटेको पाएको छ । नयाँ गाडी खरिद गर्न जाँदा त्यसअघि खरिद गरेको गाडीको ब्रान्डमा फर्किने प्रतिशतलाई विश्लेषण गरेर ब्रान्ड लोयल्टीको मापन गरिन्छ । यसरी गरिएको विश्लेषणमा उपभोक्तामा ब्रान्डप्रतिको लगाव घटेको पाइएको हो ।
एस एन्ड पी ग्लोबल मोबिलिटीको यो अनुसन्धान जनवरी २०२० देखि अप्रिल २०२२ को अवधिमाथि गरिएको हो । अध्ययनअनुसार ल्यान्डरोभर ब्रान्डप्रतिको उपभोक्ताको लोयल्टीमा सबैभन्दा ठूलो गिरावट आएको छ । यसको ब्रान्डप्रतिको लोयल्टी ९.२ प्रतिशतले घटेको पाइयो ।
समयअनुसार गाडीको प्रिमियर मोडेललाई अद्यावधिक गर्न नसक्नुलाई लोयल्टीको गिरावटको सम्भावित कारणका रूपमा लिइएको छ । उसो त सन् २०२२ मा पाँचौँ पुस्ताको मोडेल ल्याइए पनि धेरै समयसम्म अर्थात् सन् २०१२ मा जारी गरिएको चौथो पुस्ताको मोडेल चलिरह्यो । यसो हुँदा बजारमा चौथो पुस्तालाई पुरानो मोडेलका रूपमा हेरियो ।
त्यसैगरी, फक्सवागन ग्रुपका आउडी र पोर्सेेले पनि लोयल्टीमा खराब प्रदर्शन गरेको छ । यी ब्रान्डप्रतिको लोयल्टी घट्नुलाई अस्वाभाविक मानिएको छ, किनभने यी दुवै ब्रान्डले खनिज इन्धन र विद्युतीय मोडेलका पोर्टफोलियो गाडी उत्पादन गर्छन् । त्यसैगरी, मर्सिडिज बेन्ज, भोल्भो, बिएमडब्लूलगायतका ब्रान्डप्रतिको उपभोक्ताको लोयल्टी पनि घटेको छ ।
मासेराटी, टेस्ला, जेनेसिसलगायतका थोरै ब्रान्डप्रतिको लोयल्टीमा भने बढोत्तरी पाइएको छ । उदाहरण, मार्च २०२१ देखि अप्रिल २०२२ सम्ममा टेस्लाका ६२ प्रतिशत उपभोक्ताले नयाँ गाडी खरिद गर्दा टेस्लाकै मोडेल थ्री रोजेका छन् । मासेराटीको प्रदर्शन पनि उत्कृष्ट छ । यस इटालियन ब्रान्डले आफ्नो लोयल्टी ४.३ प्रतिशतले बढाएको छ । त्यस्तै, कोरियाली ब्रान्ड जेनेसिसप्रतिको लोयल्टी सबैभन्दा बढी अर्थात् ८.५ प्रतिशतले बढेको छ ।
समयअनुसार गाडीको प्रिमियर मोडेललाई अद्यावधिक गर्न नसक्नुलाई लोयल्टीको गिरावटको सम्भावित कारणका रूपमा लिइएको छ । उसो त सन् २०२२ मा पाँचौँ पुस्ताको मोडेल ल्याइए पनि धेरै समयसम्म अर्थात् सन् २०१२ मा जारी गरिएको चौथो पुस्ताको मोडेल चलिरह्यो ।
ब्रान्डप्रतिको आकर्षण अर्थात् लोयल्टीलाई ब्रान्डको गुणस्तरले फरक नपारेको पाइएको छ । जेडी पावर २०२२ इनिसिअल क्वालिटी स्टडीले गाडीको स्वामित्व ग्रहण गरेको पहिलो तीन महिनामा गाडीमा आएका समस्याका आधारमा ब्रान्डको गुणस्तर मापन गरेको थियो । समस्याको छनोट हरेक ब्रान्डका १०० गाडीबाट गरिएको छ । प्रति सय गाडीमा एक सय ५७ समस्या देखिएको लेक्ससको ब्रान्ड लोयल्टी ४.८ प्रतिशतले घटेको छ भने दुई सय ५५ समस्या देखिएको मासेराटी ब्रान्डमा ४.३ प्रतिशतले लोयल्टीमा बढोत्तरी देखिएको छ ।
समग्रमा मासेराटी, टेस्ला, जेनेसिसबाहेक सबै ब्रान्डले लोयल्टीमा कमी साक्षात्कार गरेका छन् । यो कमीका पछाडि हालको आपूर्ति शृंखलाको असर हुन सक्ने अनुमान गरिएको छ । आपूर्ति शृंखलाले गर्दा गाडी समयमै उपभोक्तामाझ पुग्न नसक्ने र उपभोक्ताले स्टोरमा रहेका अन्य गाडी लिएको हुन सक्छ ।
विद्युतीय वाहन आपूर्ति हुन वर्षौं लाग्ने भएकाले त्यसमा आपूर्ति शृंखलाले थप समस्या निम्त्याउन सक्ने देखिन्छ । उसो त थुप्रै गाडी निर्माता आपूर्ति समस्या निराकरण भइरहेको बताइरहेका छन्, तर नयाँ आर्थिक चुनौती पनि बढेका छन् । मुद्रास्फीतिका कारण नयाँ गाडीको मूल्य अकासिएको छ । त्यसमाथि ब्याजदरको वृद्धिले नयाँ गाडीको मागमा नकारात्मक असर पार्ने नै भयो । एजेन्सीबाट