वडामै योजना सम्झौता, वडामै बैंक खाता

आइतबार, ५ भदौ, २०७९
डिजिटल संस्करण
वडामै योजना सम्झौता, वडामै बैंक खाता

बाग्लुङ नपा–११, रायडाँडामा सञ्चालन भएको स्वास्थ्य शिविर

बाग्लुङ नगरपालिकाले चालू आर्थिक वर्षमा सञ्चालन हुने सबै योजनाहरू वडा तहमै सम्झौता गर्ने भएको छ । उपभोक्ताको सहजताका लागि नगरबाट विनियोजन योजना र वडास्तरीय योजनाको सम्झौता सम्बन्धित वडाबाटै गर्न लागिएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए । नगरपालिकाले योजना सम्झौता, स्वास्थ्य शिविर, अपांगता परिचयपत्र, वित्तीय साक्षरता र माटो परीक्षण सेवा लिएर वडा र गाउँमा पुगेको हो ।   

 नगरपालिकाले वडा नं. ११ को  रायडाँडा घुम्ती सेवाबाट सेवा सुरु गरिएको बाग्लुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए । अन्य वडाका योजनाहरू घुम्ती शिविर सञ्चालनपश्चात् नगरपालिका कार्यालयबाट नै नियमित सम्झौता गर्ने बताइएको छ । 

योजना सम्झौतासँगै वडा तहमै उपभोक्ता समितिको नाममा खाता खोलिएको छ । नगरपालिकाको कारोबार हुनेसम्बन्धी बैंककै कर्मचारी वडामा पुगेर उपभोक्ता समितिको खाता खोल्ने काम भएको उपप्रमुख खड्काले जानकारी दिए ।  

‘नगरले छनोट गरेका र वडाले छनोट गरेका योजनाको एकै दिन सम्बन्धित वडाबाटै सम्झौता गरिनेछ । अन्य काम पनि वडाबाटै गरिनेछ,’ नगरप्रमुख श्रेष्ठले भने, ‘प्रमुख प्रशासकीय अधिकृत, योजना शाखाका कर्मचारी, इन्जिनियर नगरपालिकाबाट वडामा जाने र सम्बन्धित वडाध्यक्ष, सचिव, बैंक तथा वित्तीय क्षेत्रका कर्मचारी तथा छनोट भएका योजनाका उपभोक्ता समितिका पदाधिकारीबीच कार्य सम्झौता गरिनेछ ।’ 

८०  प्रतिशत योजना वडामै सम्झौता गरिने

८० प्रतिशत योजना तथा कार्यक्रम सम्झौता वडामै सम्झौता गरेर गर्ने लक्ष्य रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिए । वडाभित्रका टोल अर्थात् साबिकको वडामा टोल समिति बनाएर योजनाका काम अगाडि बढाइने सापकोटाले बताए । टोल विकास समितिले पाँच लाखसम्मको योजनाको काम गर्न पाउनेछन् । काम सम्पन्न भएर सबै वडा तहमै अनुगमन भएपश्चात् नगरपालिकाले भुक्तानी दिनेछ । 

वडा तहमै योजना सम्झौता गर्दा आमउपभोक्ताको समय बचत र खर्चको पनि बचत भएको स्टार युथ क्लबका सचिव यामबहादुर थापा बताउँछन् । आफ्नो क्लबको भवन निर्माणको सम्झौता गर्न आएका थापाले वडा तहमै योजना सम्झौता हुँदा धेरै सहज भएको र गाउँमै सरकार आएको महसुस भएको बताए । 

महिला नेतृत्वको उपभोक्ता समितिलाई १० प्रतिशत मात्र लागत सहभागिता
बाग्लुङ नगरले महिलाको नेतृत्व गरेको उपभोक्ता समिति वा टोल विकास संस्थामार्फत योजनाको कार्यान्वयन गर्दा १० प्रतिशत मात्र लागत सहभागिता गराउने भएको छ । पुरुष नेतृत्वको समितिमा भने १५ प्रतिशत नै लागत सहभागिता गराउने भएको छ । 

त्यस्तै, उपभोक्ता समिति र टोल विकास संस्थाले आफूले जिम्मा लिएको काम ठेक्का लगाउन नहुने आफैँले गर्नुपर्ने बनाएको छ । शिविरमा वडाका ज्येष्ठ नागरिक गोविन्द उपाध्यायलाई सम्मान गरिएको थियो । 

सुझावित समाचार