स्टार्टअपमा नेपाली उडान कहिले ?

आइतबार, ५ भदौ, २०७९
डिजिटल संस्करण

अर्थ संवाद

‘रनवे’मा दौडिरहेका छौँ, दौडिने गति पनि बढिरहेको छ, हाम्रो दौडाइ ट्रेडमिलको जस्तो नहोस् कि जति गति बढाए पनि जहाँको त्यहीँ 

नेपालमा स्टार्टअप पछिल्ला केही वर्षयता नेपालमा राज्यस्तर र निजी क्षेत्रबाट स्टार्टअप (नवउद्यम/नवपवर्तन)को विषयमा धेरै बहस भइरहेको छ । हामी सबैले स्टार्टअपलाई अघि बढाउने भनिरहेका छौँ । तर, हामी सबैले स्विकार्नैपर्ने कुरा के हो भने हामी स्टार्टअपमा पूर्ण जानकार छैनौँ । स्टार्टअपका बारेमा हामीले धेरै बुझेका छैनौँ । जे–जति बोलिरहेका छौँ, जे–जति बहस गरिरहेका छौँ, त्यो सबै अरू मुलुकको देखेर सुनेर गरिरहेका छौँ । 

राज्यले स्टार्टअप प्रवर्द्धन गर्ने भन्दै विभिन्न नाममा कार्यक्रम तथा योजना घोषणा गरेको पनि छ । बिउ पुँजी, च्यालेन्ज फन्डलगायत विभिन्न नाममा आएका स्टार्टअपका कार्यक्रम कार्यान्वयमा भने आउन सकेका छैनन् । बजेटमा पर्छ, तर त्यो खर्चै हुँदैन । राष्ट्र बैंकले पनि स्टार्टअपलाई सहुलियत कर्जा दिने व्यवस्था गरेको छ । तर, कार्यविधि नभएकै कारण बैंकहरूले स्टार्टअपलाई सहुलियत ऋण दिन सकेका छैनन् । राष्ट्रिय योजना आयोगले स्टार्टअपलाई फन्ड दिने भनेर सूचनासमेत जारी गर्यो । त्यसमा ७–८ सय स्टार्टअपका प्रस्ताव परेका थिए । तर, त्यो त्यसै अलपत्र पर्यो । यसर्थ, हामीसँग स्टार्टअपका लागि स्पष्ट नीति, गुरुयोजना र कार्यविधिको खाँचो छ । 

स्टार्टअपमा छिमेकी भारतबाट सिक्ने कि ? 
छिमेकी मुलुक भारतले स्टार्टअपमा पाएको सफलताबाट पनि हामीले केही सिक्न सक्छौँ । वास्तवमा भारत सरकारले स्टार्टअपलाई चरणबद्ध रूपमा अघि बढायो । भारतले प्रधानमन्त्रीकै तहबाट स्टार्टअपलाई अघि बढाउने कार्यक्रम अघि सार्यो, ‘स्टार्टअप इन्डिया’ भनेर बृहत् कार्यक्रम घोषणा गरियो । 

त्यो कार्यक्रम घोषणा गर्दा नै नीति निर्माण गर्ने एउटा म्याद तोकियो । स्टार्टअपको परिभाषा गर्ने काम गरियो, कार्यविधि बनाइयो, त्यसपछि स्टार्टअप कोष (फन्ड) पनि बनाइयो, फन्ड सञ्चालनको कार्यविधि पनि बन्यो, अनि स्टार्टअपमा लगानी गर्न सुरु गरियो । यसरी चरणबद्ध रूपमा भारत स्टार्टअपमा अघि बढ्यो । त्यसपछि स्टार्टअप जन्मिन थाले, उनीहरूका सेवा तथा वस्तुहरू उत्पादन हुन थाले । भारत सरकारले स्टार्टअपका लागि बजारीकरणमा पनि मद्दत गर्यो । स्टार्टअपको सेवा तथा वस्तुका लागि बजार बनाइदिने बृहत्तर अभिभारा पनि भारत सरकार आफैँले लियो । 

स्टार्टअप एउटा चरण पूरा गरेपछि भारतले ‘मेक इन इन्डिया’ भन्ने कार्यक्रम पनि अघि बढायो । भारतमै सामान उत्पदान गर्नेलाई सरकारले स्थानीय बजार पनि दियो, विदेशमा पनि बजार सिर्जना गरिदिने भयो । त्यो ‘मेक इन इन्डिया’लाई सफल पार्न सोहीअनुसार नीति लिइयो, नियम बनाइयो, प्रचारप्रसार गरियो, चेतना अभिवृद्धि, प्रोत्साहन, छुट र सुविधा दिइयो । विश्वविख्यात ब्रान्डहरूलाई भारतमा उद्योग खोल्न आग्रह गरियो र आए पनि । अनि स्टार्टअपदेखि साना, मझौला हुँदै ठूला उद्योगलाई मूल्य शृंखला (भ्यालु चेन)मा जोडियो । 

यसरी भारतले ७–८ वर्षको समयावधिमा स्टार्टअपलाई धेरै माथि मात्रै लगेन, त्यसलाई मेक इन इन्डियासँग जोडेर अर्थतन्त्रलाई नै माथि लाने काम गर्यो । यदि नेपालले स्टार्टअपमार्फत उद्यमी जन्माउने, रोजगारी सिर्जना गर्ने, उत्पादन बढाउने तथा युवालाई यहीँ अवसर दिने भनेर सोच बनाउने हो भने सबैभन्दा पहिला भारतले जस्तै गुरुयोजना बनाउनुपर्छ । अनि चरणबद्ध रूपमा काम गर्नुपर्छ । 

स्टार्टअपका पाँच खम्बा र तिनीहरूको भूमिका 
स्टार्टअपका मुख्य पाँच खम्बा (पिलर) छन् । जसले आ–आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने स्टार्टअपलाई गति दिन सकिन्छ । स्टार्टअपको पहिलो खम्बा सरकार हो । सरकारले अविलम्ब स्टार्टअपका लागि गुरुयोजना, स्पष्ट नीति र कार्यविधिहरू बनाउनुपर्छ । स्टार्टअपको दोस्रो खम्बा निजी क्षेत्र हो । निजी क्षेत्रले नीति, नियम तथा कार्यविधि निर्माणमा सरकारलाई सघाउनुपर्छ । निजी क्षेत्रले स्टार्टअपमा लगानी गर्नुपर्छ । स्टार्टअपमा गरिने लगानीलाई सामाजिक कार्यका रूपमा नभई व्यवसायका रूपमा लिनुपर्छ । निजी क्षेत्रले यस विषयमा शैक्षिक संस्थाहरूसँग समेत सहकार्य गर्नुपर्छ ।

स्टार्टअपको तेस्रो खम्बा शैक्षिक संस्था हुन्, जहाँबाट युवाहरू पढेर, सिकेर निस्कन्छन् । शैक्षिक संस्थाबाट युवाहरूले किताब मात्रै बढेर निस्किए भने उनीहरूले केही गर्न सक्दैनन् । त्यसैले शैक्षिक संस्थामा उद्यमशीलता पढाउनुपर्छ, उद्यमशीलता सिकाउनुपर्छ, उद्यमी कसरी बन्ने ? कसरी उद्यम व्यवसाय चलाउने भन्ने कुरा पनि सिकाउनुपर्छ, प्रशिक्षण गराउनुपर्छ ।

स्टार्टअपको चौथो खम्बाचाहिँ स्वयं नवउद्यमी/स्टार्टअप नै हुन् । नेपालमा नवउद्यमीहरू अलि बढी महत्वाकांक्षी देखिएका छन् । विदेशका उदाहरण हेरेर नेपालमा स्टार्टअपमा मिलियन–मिलयन डलर लगानी आउँछ भन्ने सोचिरहेका छन्, जुन गलत हो । नवउद्यमीहरूले अप्राकृतिक रूपमा आफ्नो आइडियाको मूल्यांकन गर्नुहुँदैन । आइडियाको मूल्य त स्वतः बढ्दै जान्छ । स्टार्टअपका लागि लगानी मात्रै महत्वपूर्ण होइन, साथसाथै नेटवर्क, वितरण, अनुभव आदि पनि चाहिन्छ । त्यसैले नवउद्यमीले मैले कति लगानी पाएँ भनेर सोच्ने होइन कि मैले कस्तो व्यक्तिसँग पार्टनरसिपको काम गर्दै छु, त्यसले आफूलाई समग्रमा के लाभ दिइरहेको छ भनेर बुझ्न सक्नुपर्छ । 

स्टार्टअपको पाँचौँ खम्बा समाज र सञ्चार जगत् हुन् । उनीहरूले पनि स्टार्टअप प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् । सञ्चारमाध्यमले अहिले नवउद्यमीलाई ‘अन्ट्राप्रेनियर’ होइन कि ‘हिरोप्रेनियर’ बनाइदिएका छन् । यसले उद्यामीहरूलाई उद्यमतिर भन्दा पनि चर्चापरिर्चाको पछाडि लगाइरहेको छ । उनीहरू ‘उद्यमी’ होइन कि ‘हिरो’ बनिरहेका छन् । यो गलत हो । समाज र सञ्चारमाध्यमले पनि जो साँच्चिकै सफल भएको छ, जसले उद्यम विकास गरिसकेको छ, उसलाई बढी स्पेस दिनुपर्छ । भर्खर काम गर्न लागेकालाई काममै फोकस गराउनुपर्छ । 

नवउद्यमीका समस्या छन् भने त्यसलाई बाहिर ल्याइदिनुपर्छ । सरकारलाई घचघच्याउने, नीति निर्माणको लबिङ गर्ने, स्वदेशी उत्पादन खपतका लागि जनचेतना फैलाउनेलगायत काम सञ्चार क्षेत्रले गर्नुपर्छ । समाजले पनि स्वदेशी उत्पादनको खपतलाई प्राथमिकता दिने गरेर आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि योगदान गर्नुपर्छ । 

एउटा सकारात्मक हस्तक्षेप अत्यावश्यक
केही समयअघि म जर्मनी गएको थिएँ । त्यसवेला पेट्रोलियम पदार्थको भाउ अकासिएको थियो । जर्मनीले पेट्रोलको खपत घटाउन एउटा निर्णय गर्यो । जर्मनीले जुनदेखि तीन महिनासम्मका लागि ९ युरोको टिकटले एक महिना रेलमा यात्रा गर्न पाउने भनेर घोषणा गर्यो । यति सस्तो टिकटको व्यवस्था गरेपछि रेल चढ्ने धेरै बढे । जुन महिनामा २० प्रतिशतभन्दा बढी इन्धन खपत घटाएछ । सस्तो टिकट दर भएपछि जर्मनहरू आफ्नो देश घुम्न थालेछन्, जसले आन्तरिक पर्यटन सात गुणा बढेछ । यो कुरा जर्मनीका छिमेकी मुलुकले थाहा पाएपछि त्यहाँका नागरिक पनि जर्मनी घुम्न गएछन् । यहाँ भन्न खोजेको के हो भने सरकारले एउटा सानो सकारात्मक हस्तक्षेप गर्दा देशको अर्थतन्त्रमा कति ठूलो योगदान दिन सकिन्छ, अर्थतन्त्रलाई चलायमान बनाउन सक्छ । त्यसैले सरकारले एउटा सकारात्मक पहल वा हस्तक्षेपबाटै स्टार्टअपको विकास गराउन सक्छ । त्यो भनेको गुरुयोजना र स्पष्ट नीति हो । अर्को कुरा, निजी क्षेत्रलाई विश्वासमा लिएर स्टार्टअपका कार्यक्रमको नेतृत्व गर्न दिने पनि हो । 

‘रनवे’मा रहेको स्टार्टअपको उडान 
पछिल्लो समय निजी र राज्यस्तरबाट स्टार्टअपलाई गति दिने काम सुरु भएका छन् । सरकारले स्टार्टअप प्रवर्द्धन गर्न ‘फार्म टु फ्याक्ट्री’ भन्ने कार्यक्रमसमेत घोषणा गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघमा हामीले ‘स्टार्टअप नेसन बाई २०३०’ मेनिफेस्टो पनि सार्वजनिक गरेका छौँ । त्यसले स्टार्टअपबाटै १ लाख रोजगारी सिर्जना गराउने भनिएको छ । अहिले हामीले ५० उद्यमी ५० इन्भेस्टर भनेर कार्यक्रम सञ्चालन गरेका छौँ । अर्थात्, स्टार्टअपलाई लगानीकर्तासँग जोडिदिन थालेका छौँ । हामीले इन्कुबेस सेन्टर भनिरहेका छौँ । सोच र उपाय भएकालाई व्यापारमा रूपान्तरण गर्न केही पनि थाहा नभएकालाई काम लाग्छ । त्यहाँ आइडिया लिएर आउँछन् र व्यापारमा रूपान्तरण गरेर जान्छन् । राज्यले पनि सातै प्रदेशमा इन्कुबेसन सेन्टर बनाउने भनेको छ । यसलाई एकीकृत रूपमा अघि बढाउनुपर्छ । सरकार र निजी क्षेत्र सँगसँगै अघि बढ्नुपर्छ । 

स्टार्टअपको मामिलामा हामी ‘रनवे’मा दौडिरहेका छौँ, दौडिने गति पनि बढिरहेको छ, तर उड्न सकेका छैनौँ । हाम्रो दौडाइ ट्रेडमिलको जस्तो नहोस् कि जति गति बढाए पनि जहाँको त्यहीँ । त्यही भएर अब ‘रनवे’मै जसरी गति बढाएर उडान लिनुपर्छ ।

आचार्य नेपाल उद्योग वाणिज्य महासंघको स्टार्टअप र इन्नोभेसन कमिटीका सभापति  हुन्
 

सुझावित समाचार