एसएस फाउन्डेसनद्वारा आठ सय बढी विद्यार्थीलाई झोला वितरण

बिहिबार, २ भदौ, २०७९
डिजिटल संस्करण

सामाजिक संस्था एसएस फाउन्डेसनले नागार्जुन नगरपालिका –१, रानीवनस्थित बाल विकास माध्यमिक विद्यालयका  आठ सय बढी विद्यार्थीलाई सुविधायुक्त झोला वितरण गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता पशुपतिशमशेर राणाले विद्यालयका सबै विद्यार्थीका लागि झोला वितरण गरेका हुन् । विद्यालयमा आठ सय १० विद्यार्थी अध्ययनरत छन् । झोला वितरणपछि नेता राणाले विद्यार्थीका लागि फाउन्डेसनले गरेको लगानी खेर नजाने बताए । 

उनले भने, ‘शिक्षा आर्जन जीवनका लागि महत्वपूर्ण छ । यसमा जो-कोहीले गरेको लगानी खेर जाँदैन । विद्यार्थीमाथि  गरिने लगानी मुलुकको भविष्यमाथिको लगानी हो । मुलुकको भावी प्रधानमन्त्री यस्तै लगानीका प्रतिफल हुन् ।’

फाउन्डेसनका अध्यक्ष तथा वरिष्ठ कलाकार मदनदास श्रेष्ठले विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक गुणस्तर विकासका अन्य क्षेत्रमा पनि सहयोग गर्न फाउन्डेसन तयार भएको बताए । विशेष गरी विद्यालयमा आवश्यक शैक्षिक सामग्री, सिसिक्यामेरा, डिजिटल बोर्ड, पोषण, खेलकुदसँग सम्बन्धित सामग्री सहयोग गर्न इच्छुक रहेको अध्यक्ष श्रेष्ठको भनाइ थियो । 

फाउन्डेसनले यसअघि मुलुकभरका दुई सयभन्दा धेरै स्वाथ्य चौकीमा ‘अक्सिजन कन्सन्ट्रेटर’ सहयोग गरेको थियो । त्यसबाहेक बाढी पहिरोका वेला उद्धारमा प्रयोग हुने विभिन्न उद्धार सामग्री पनि फाउन्डेसनले वितरण गर्दै आएको समाजसेवी सोभित उप्रतीले बताए । 

सुझावित समाचार