‘ग्रिन हाइड्रोजनलाई पाइलट प्रोजेक्टको रूपमा अघि बढाइने’

बिहिबार, २ भदौ, २०७९
डिजिटल संस्करण

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ग्रिन हाइड्रोजन उत्पादनलाई पाइलट प्रोजेक्टका रूपमा अघि बढाउने घोषणा गरेकी छिन् । बुधबार नेपाल विद्युत् प्राधिकरणको ३७औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यो जानकारी दिएकी हुन् । 

मन्त्रालयले ग्रिन हाइड्रोजन उत्पादन गर्ने गरी यसअघि नै काठमाडौं विश्वविद्यालय र कोरियाको ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युटसँग समझदारी गरिसकेको छ । अब त्यसको कार्यान्वयन गर्न मन्त्रालयमा छुट्टै कार्यदल बनाएर पाइलट प्रोजेक्टका रूपमा अघि बढाउने मन्त्री भुसालको भनाइ छ । 

पछिल्लो समय विश्व ग्रिन हाइड्रोजन उत्पादनमा अग्रसर भएको छ । केही देशले यसको प्रयोगसमेत गर्न थालेका छन् । त्यो अवस्थामा नेपाली विद्युत् क्षेत्र पनि ग्रिन हाइड्रोजन उत्पादनमा अग्रसर हुनुपर्ने उनको भनाइ छ । ग्रिन हाइड्रोजन उत्पादनमा नेपालको भविष्य राम्रो रहेकोसमेत उनले बताइन् । 

विशेष गरी, यसमा बिजुलीले पानीलाई टुक्र्याएर हाइड्रोजन उत्पादन गर्छ, सो हाइड्रोजनबाट बिजुली निकाल्न सकिन्छ, जसलाई ग्रिन हाइड्रोजन भनिन्छ । यो सामान्य विद्युत्भन्दा सस्तो र राम्रो हुन्छ । साथै, त्यसरी निकालिएको हाइड्रोजनबाट सवारीसाधनलगायतका अन्य मेसिनरी पनि सञ्चालन गर्न सकिन्छ । यो पेट्रोललगायतका ऊर्जाका अन्य पदार्थभन्दा प्रदूषणरहित हुन्छ । त्यसकारण पछिल्लो समय विश्वले ग्रिन हाइड्रोजनको उत्पादनमा जोड दिएको छ । नेपालमा विद्युत् उत्पादन पनि बढ्दै गएको र पर्याप्त जलस्रोत भएका कारण ग्रिन हाइड्रोजनको सम्भावना उच्च रहेको बताइएको छ ।

 यस्तै, मन्त्री भुसालले अब आफ्नो मन्त्रालयले पेट्रोलियम सवारीसाधन खरिद नगर्ने बताइन् । ‘नेपालमा विद्युत् उत्पादन बढ्दै गएको छ । तर, हामी अझै पेट्रोलियम सवारीसाधन प्रयोग गरिरहेको छौँ,’ उनले भनिन्, ‘अबका दिनमा विद्युतीय सवारीसाधनको प्रयोग बढाउनुपर्छ । हाम्रो मन्त्रालयले पनि अब सवारीसाधन खरिद गर्नुपरेमा विद्युतीय नै खरिद गर्छ, पेट्रोलियम सवारीसाधन खरिद गर्दैैनौँ ।’ प्राधिकरणले विद्युतीय सवारीसाधनकै प्रयोगमा जोड दिनुपर्ने उनको भनाइ छ ।

 ऊर्जासचिव सुशीलचन्द्र तिवारीले विद्युत् उज्यालोका लागि मात्र नभएर आर्थिक समृद्धिको समेत संवाहक भएको बताएका छन् । ‘हालसम्म विद्युतीयलाई उज्यालो नेपालको संवाहक भनिँदै आइएको छ,’ उनले भने, ‘यो मात्र होइन, आर्थिक समृद्धिको संवाहक पनि हो । जुन पछिल्लो समय पुष्टि हुँदै गएको छ ।’

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब विद्युत् खपत बढाउनेमा जोड दिने बताए । उनल भने, ‘अब छिट्टै वर्षभरि नै मागभन्दा बढी विद्युत् उत्पादन हुने अवस्था आउँछ । त्यो अवस्थामा हामीले विद्युत् खपत बढाउन जोड दिनैपर्छ । विशेष गरी अब विद्युतीय चुलो तथा विद्युतीय सवारीसाधन प्रयोग गर्न प्रोत्साहन गर्ने नीति ल्याउँछौँ ।’ आगामी ३० वर्षको विद्युत् माग धान्ने गरी प्रसारणलाइन र वितरण लाइनलगायतका पूर्वाधार विकास गरिने पनि उनको भनाइ थियो । 

प्राधिकरणले ३७औँ वार्षिक उत्सवको अवसरमा १५ जना उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । साथै, वार्षिक उत्सवको अवसरमा प्रतिकर्मचारी १५ हजार रुपैयाँ भत्ता तथा ५२ महिनाको सावधिक बिमा गरिदिने निर्णयसमेत प्राधिकरणले गरेको छ ।
 

सुझावित समाचार