संसदमा गणपूरक संख्या नपुगेको भन्दै सभामुखले पोखे असन्तुष्टि

सोमबार, ३० साउन, २०७९
डिजिटल संस्करण
संसदमा गणपूरक संख्या नपुगेको भन्दै सभामुखले पोखे असन्तुष्टि

फाइल तस्बिर

सभामुख अग्निप्रसाद सापकोटाले संसदमा विधेयक पास गर्ने वेलामा गणपूरक संख्या पुग्न छोडेको भन्दै असन्तुष्टि जनाएका छन् । सोमबार संघीय संसद् सचिवालयमा आयोजित ‘संसदमा कानुन, न्याय तथा मानव अधिकार समिति : अभ्यास र उपलब्धि’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै सभामुख सापकोटाले पछिल्ला दिन संसदमा गणपूरक संख्या नपुगेकोप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । 

पछिल्लो समय संसदमा हाजिर गरेर सांसदहरू बाहिरिने गरेपछि विधेयक पास गर्न गणपूरक संख्या पुग्न छोडेको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा समेत विधेयक पास गर्नका लागि सांसदरूको गणपूरक संख्या नपुग्दा मंगलबारसम्मका लागि बैठक स्थगित गर्नुपरेको थियो । सभामुख सापकोटाले संसदलाई जनतामा जोड्नका लागि धेरै परिश्रम गर्नुपरेको उल्लेख गर्दै सांसदहरू अनुपस्थित भइदिँदा जनमुखी विधेयकहरू प्रमाणीकरण र पास गर्न संसदलाई अप्ठ्यारो भइरहेको बताए ।

संसदमा विधेयक पास गर्नको लागि धेरैपटक घन्टी बजाउनुपरेको र मन्त्रीहरू बोलाउन कुर्नुपरेको भन्दै सबै सांसद र मन्त्रीहरू जिम्मेवार र गम्भीर हुनुपर्ने उनले बताए । ‘कानुन तर्कोचित, न्यायाेचित र विवेकशील हुनुपर्छ र मात्र शक्तिशाली हुन्छ । हामीले सबैभन्दा माथि म छु भनेर कसैले ठान्नुपर्दैन । हामीभन्दा माथि पनि कानुन छ । हामीले संसदलाई जनतामा जोड्नका लागि कति बुद्धि र विवेक लगायौँ ? कति मिहिनेत र परिश्रम गर्याैँ त्यो मूल्यांकनको कुरा छ,’ उनले भने, ‘हाम्रा सबै कुरा जनताले हेरिरहेका छन् । हामीले कतिपटक घन्टी बजाउनुपरेको छ, विधेयक पास गर्नका लागि । हामीले कतिन्जेल पर्खिनुपरेको छ, मन्त्रीहरू बोलाउनका लागि । हामी जिम्मेवार र गम्भीर बन्नुपर्छ ।’

सभामुख सापकोटाले संसदीय समितिमा दोहोराेपन देखिएको बताए । समितिले दिएका निर्देशन सरकारले किन लागू गरेन भन्नेभन्दा पनि देशको धरातललाई बुझेर निर्णय भएकाे हो वा होइन भन्ने कुरा स्वयं समितिले आत्मालोचना गर्नुपर्ने उनको भनाइ थियो । उनले सरकारले बनाएका कानुनको सही कार्यान्वयन भए–नभएको मूल्यांकन हुनु जरुरी रहेको धारणा राखे । 

सुझावित समाचार