पशुसेवा विधेयक सच्याउन भेटेरिनरी एसोसिएसनको माग

शुक्रबार, २७ साउन, २०७९
डिजिटल संस्करण

संसद्मा अघि बढाइएको पशुस्वास्थ्य तथा पशुसेवा विधेयकका कतिपय प्रावधानले पशुपालन क्षेत्रलाई तहसनहस बनाउने भन्दै नेपाल भेटेरिनरी एसोसिएसनले विरोध गरेको छ । भेटेरिनरी डाक्टरको आत्मसम्मानमा आँच पुर्याउने प्रावधान राखिएको भन्दै त्यस्ता प्रवधान सच्याउन एसोसिएसनले माग गरेको छ । अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गरी विधेयक सच्याउन माग गरेका छन् । गत २२ साउनमा संसद्को कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति पूर्णकुमारी सुवेदीले प्रतिनिधिसभामा पेस गरेको विधेयक एकपक्षीय ढंगले अगाडि बढाएको उनको भनाइ छ ।

‘स्नातक गरेका भेटेरिनरी डाक्टर र अधिकतम ३० महिना डिप्लोमा (१०+२) गरेका पशुप्राविधिकले गर्ने पशुचिकित्सकीय काम, कर्तव्य र अधिकारमा कुनै भिन्नता नराखी ल्याइएको उक्त विधेयक एकपक्षीय, दमनकारी एवं षड्यन्त्रपूर्ण ढंगले ल्याइएको छ,’ विज्ञप्तिमा छ, ‘भेटेरिनरी डाक्टरको आत्मसम्मानमा आँच पु¥याउने हिसाबले ल्याइएको उक्त विधेयकमा सम्पूर्ण संसद् सदस्यहरूको गम्भीर ध्यानाकर्षणका लागि नेपाल भेटेरिनरी एसोसिएसन गम्भीर तवरले अनुरोधसमेत गर्न चाहन्छ ।’ 

विधेयकको नामदेखि प्रस्तावनासम्म अस्पष्ट र सन्देहपूर्ण रहेको एसोसिएसनको आरोप छ । संविधानले स्थानीय तहको एकल अधिकारको सूचीमा उल्लेख भएका प्रावधानलाई (प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा, सञ्चालन, अनुगमन, मूल्यांकन र नियमनका अधिकार) समेत हस्तक्षेप गरिएको डा. श्रेष्ठ बताउँछन् । संविधानको कार्यविस्तृतीकरण प्रतिवेदनमा प्रदेशको एकल अधिकारमा रहेको भेटेरिनरी प्राविधिकहरूको दर्ता अनुमति, नवीकरण र खारेजी तथा नियमन गर्ने व्यवस्थासमेत घुमाउरो तरिकाले संघमै केन्द्रित गर्न लागिएको भन्दै विरोध सुरु भएको छ । 

सुझावित समाचार