उद्योगीहरूलाई काम गर्ने वातावरण मिलाउन सरकारसँग शेखर गोल्छाको आग्रह

बिहिबार, २६ साउन, २०७९
डिजिटल संस्करण

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगीहरूलाई काम गर्ने वातावरण मिलाइदिन सरकारसँग आग्रह गरेका छन् । बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघबीच भएको समझदारी-पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले निजी क्षेत्र अब सरकारसँग जोडिएको उल्लेख गर्दै निजी क्षेत्र र सरकार मिले देशमा रोजगारी र व्यवसाय विकासमा सहयोग पुग्ने बताए । 

‘आजको यो हस्ताक्षरपछि अब हामी सरकारसँग जोडिएका छौँ । अब महासंघ र सरकार मिलेर हामी एक भएका छौँ । निजी क्षेत्र र सरकारको सहकार्यमा एक भएका छौँ । जब हामी हुन्छौँ, धेरै काम गर्न सक्छौँ,’ उनले भने, ‘अब महासंघ थप सक्रिय भएको छ । अब निजी क्षेत्रलाई सहज भएको छ ।’

अध्यक्ष गोल्छाले उद्योगीहरूले गर्ने लगानीलाई सहज बनाइदिन र उत्पादन गरेको वस्तुलाई अवरोध नगरिदिन पनि सरकारसँग आग्रह गरे । रोजगारीलाई सहजीकरण गर्न, निर्यातलाई प्रोत्साहन गर्न, पर्यटकलाई स्वागत गर्न र राजस्व तिरेपछि पनि अपमान नगर्न सरकारसँग उनको आग्रह थियो । उनले निजी क्षेत्रले सम्मानपूर्वक पाउने हकअधिकारको सम्मान गर्न पनि सरकारसँग माग गरे । 

‘हामी लगानी गर्छौं, प्रक्रिया सहज बनाइदिनुहोस्, हामी उत्पादन गर्छौं, अवरोध नगरिदिनुहोस्, हामी रोजगारी दिन्छौँ, सहजीकरण गरिदिनुहोस्, हामी निर्यात गर्छौं, प्रोत्साहन गरिदिनुहोस् । हामी पर्यटक ल्याउँछौँ, स्वागत गरिदिनुहोस् । हामी राजस्व बुझाउँछौँ, अपमान नगरिदिनुहोस्,’ उनले भने, ‘मिलेर लगानीको प्रक्रिया सहज बनाऔँ । मिलेर रोजगारी सिर्जना गरौँ । पर्यटकको स्वागत गरौँ, राजस्व बुझाउने झमेलाको अन्त्य गरौँ । निजी क्षेत्रले सम्मानपूर्वक पाउने हकअधिकारको सम्मान गरौँ ।’
 

सुझावित समाचार