पश्चिम पहाडका युवा रोजगार खोज्दै भारततिर

शनिबार, २१ साउन, २०७९
डिजिटल संस्करण
पश्चिम पहाडका युवा रोजगार खोज्दै भारततिर

फाइल तस्बिर

बारेकोट गाउँपालिका–५ नायकबाडा, जाजरकोटका ३१ वर्षीय प्रदेश सिंह कामको खोजीमा भारत गएका छन् । दसैँ, तिहार खर्च जुटाउन पनि बिदेसिनुको विकल्प नरहेको उनले बताए । नेपालगन्ज हुँदै भारत हिँडेका उनले नयाँ पत्रिकासँग भने, ‘परदेश गएर अर्काको भारी बोक्ने इच्छा त कसलाई पो हुन्छ र ! छोराछोरीको रहर पूरा गर्न र दसैँ, तिहारमा एक छाक मिठो, मसिनो खानका लागि अर्कोे विकल्प छैन ।’

उनले भारतको हिमाञ्चल प्रदेशको सिम्ला हिँडेको बताए । काला पहाड अर्थात् सिम्लामा अहिले स्याउ टिप्ने सिजन सुरु भएको छ । उनले यसअघि पनि सिम्ला गएर स्याउ टिप्ने काम गरेका थिए । अघिल्लोपटकजस्तै उनी यसपालि पनि झन्डै २० जना युवाको समूह बनाएर सिम्ला जाँदै छन् । ‘स्याउ टिप्ने सिजन भयो भनेर आफन्त र साथीभाइले खबर गरेपछि साथीभाइ मिलेर सिम्ला जान लागेका छौँ,’ उनले भने ।

३४ वर्षीय प्रेम सिंह पनि उनीसँगै भारतको सिम्ला हिँडेका छन् । उनले स्याउको सिजन सकिएपछि घर फर्किने बताए । ‘स्याउको सिजन पनि सकिन्छ । दसैँ, तिहार पनि आउँछ । त्यही वेला घर फर्किनुपर्ला,’ प्रेमले भने ।

हिजोआज नेपालगन्ज नाकामा आउजाउ गर्नेको भिड बढेको छ । गंगादेवी गाउँपालिका–४ पाखापानी रोल्पाका धनबहादुर डाँगीले दैनिक पाँच सय भारतीय रुपैयाँ ज्याला पाउने आशामा साथीभाइसँगै सिम्ला हिँडेको प्रतिक्रिया दिए । स्याउको सिजन सकिएपछि स्वदेश फर्किने उनले बताए । 

सिम्ला जानेमध्ये युवाको संख्या अधिक
पछिल्लो समय भारतको सिम्ला जाने नेपालीको संख्या बढ्दै गएको इलाका प्रहरी कार्यालय जमुनहाका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक माधव रिजालले जानकारी दिए । उनले दैनिक १२–१३ सय नेपाली भारत जाने गरेको बताए । ‘हिमाञ्चल प्रदेशमा स्याउको सिजन भएर होला हुलका हुल नेपालीहरू सिम्ला गएको देखिन्छ,’ उनले भने ।

उनले कामका लागि भारत जाने अधिकांश युवा रहेको पनि बताए । नेपालमा काम नपाएपछि कामका लागि भारत जान लागेको भन्ने युवाको संख्या धेरै भएको उनले बताए । ‘स्याउ टिप्न सिम्ला जाने युवा १८–३५ वर्ष उमेर समूहका छन्,’ उनले भने । 

See More On

सुझावित समाचार