पाँच मदिरा उद्योगलाई क्षमता वृद्धिको स्वीकृति

शुक्रबार, २० साउन, २०७९
डिजिटल संस्करण

सरकारले सञ्चालनमा रहेका पाँचवटा मदिरा उद्योगलाई क्षमता विस्तार गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । बिहीबार बसेको औद्योगिक प्रवद्र्धन बोर्डको बैठकले मदिरा उद्योगको क्षमता वृद्धि र एउटा उद्योगको म्याद थप गर्ने सैद्धान्तिक निर्णय भएको हो । 

क्षमता तथा पुँजी वृद्धिको अनुमति पाउने उद्योगमा छिन्नमस्ता डिस्टिलरी, न्यु एभरेस्ट डिस्टिलरीलगायत रहेका छन् । त्यस्तै, दशवटा क्रसर उद्योगलाई पनि सञ्चालनको अनुमति दिने सैद्धान्तिक निर्णय भएको बोर्डका एक सदस्यले बताए ।

‘बोर्डले मदिरा उद्योगको क्षमता वृद्धि र क्रसर सञ्चालनको सैद्धान्तिक स्वीकृति मात्रै दिएको हो, अब उनीहरूका योजनाहरू हेरेर थप सर्तहरू राखेर अनुमति नै दिइनेछ,’ उनले भने, ‘पूर्ण निर्णय नभइसकेकाले उद्योगका नामहरू भने सार्वजनिक गरिएको छैन ।’

उद्योग विभागका महानिर्देशक तथा बोर्डका सदस्य सचिव रामचन्द्र तिवारीले बिहीबारको बोर्ड बैठकले केही मदिरा उद्योगको क्षमता तथा पुँजी वृद्धि र केही क्रसर उद्योग सञ्चालन अनुमति दिने विषयमा छलफल भएको बताए । यद्यपि, निर्णय भने नभएको उनले दाबी गरे । ‘केही सैद्धान्तिक निर्णय पनि भएका छन्, तर अन्तिम एवं निर्णय नभईकन उद्योगका नामहरू सार्वजनिक गर्न मिल्दैन ।’

सुझावित समाचार