लमजुङको दोर्दी खोलामा २५ मेगावाटको माथिल्लो दोर्दी–ए निर्माण सम्पन्न गरेको लिबर्टी इनर्जी कम्पनी लिमिटेडले २४.६ मेगावाटको बडिगाड जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । आयोजनाको अध्ययन पूरा भएकाले उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । विद्युत् विकास विभागले कम्पनीलाई उत्पादन अनुमति दिने ३५ दिने सूचना जारी गरेको छ । विभागका अनुसार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन र आयोजनाको अध्ययन रिपोर्टका आधारमा प्रवद्र्धक कम्पनीलाई उत्पादन अनुमतिपत्र दिने तयारी भइरहेको छ ।
विभागले अनुमतिपत्र जारी गर्नुअघि आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकूल असरबारे सम्बन्धित सरोकारवालासँग रायसुझाव मागेको छ । विभागले सूचना जारी भएको मितिले ३५ दिनभित्र प्राप्त हुने गरी रायसुझाव पठाउन सरोकारवालासमक्ष आग्रह गरेको छ । गण्डकी प्रदेशको बाग्लुङ जिल्ला र लुम्बिनी प्रदेशको गुल्मी जिल्ला भएर बग्ने बडिगाड खोलामा पहिचान भएको आयोजना अघि बढाउन लागेको लिबर्टी इनर्जी कम्पनीका सञ्चालक राजेन्द्र वस्तीले बताए ।
उनका अनुसार आयोजनाको मुख्य संरचना बडिगाड खोलाको बायाँ किनारामा पर्दछ । खोलामा बाँध बाँधी खोलाको बायाँपट्टिबाट निर्माण हुने इन्टेकबाट पानी फर्काई सो पानीलाई आयोजनाको ६.९८ किलोमिटर हेडरेस सुरुङ हुँदै तीन सय ७६ मिटर पेनस्टक पाइपमार्फत विद्युत्गृहमा पुर्याइनेछ । विद्युत्गृहमा जडान भएको तीनवटा टर्वाइनसँग जोडिएको जेनेरेटरमार्फत विद्युत् उत्पादन गरिनेछ । आयोजनाको सबै काम पूरा गरेर ०८४ साल भदौभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।
आयोजनाबाट वार्षिक १४५.७३४ गिगावाट विद्युत् उत्पादन हुनेछ । उत्पादित विद्युत् आठ किलोमिटर दूरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको बुर्तिवाङ सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारणलाइन कम्पनी आफैँले निर्माण गर्ने जनाएको छ ।