एनआइबिएल एस क्यापिटलका विभिन्न योजना

सोमबार, १६ साउन, २०७९
डिजिटल संस्करण

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआइबिएल एस क्यापिटल लिमिटेडले स्थापनाको १० वर्ष पूरा भएको अवसर पारेर विभिन्न योजना ल्याएको छ । कम्पनीले ग्राहकलाई विभिन्न सुविधा दिने एक महिना लामो योजना ल्याएको हो । 

योजनाअनुसार कम्पनीले डिम्याटको वार्षिक नवीकरण शुल्कमा १० वर्षको अग्रिम भुक्तानीमा थप १० वर्ष निःशुल्क नवीकरण गर्ने योजना ल्याएको जनाइएको छ । त्यस्तै, १० रुपैयाँमै मार्केट एक्सपर्टको सुविधा दिने कम्पनीले जनाएको छ । क्यापिटलले व्यवस्थित लगानी योजनाको धन्यवाद अफरअन्तर्गत लगानीकर्तामध्ये १० जना भाग्यशालीलाई १० हजारबराबरको इकाइ प्रदान गरिने जनाइएको छ । त्यस्तै, व्यवस्थित लगानी योजनामा दर्ता हुने बालबालिकालाई बास्केट अफ ह्यापिनेसअन्तर्गत उपहार प्रदान गरिने क्यापिटलले जनाएको छ । 

कम्पनीले आफ्नो १० वर्षे कार्यकालमा यस एक सय ८८ कम्पनीको आइपिओ तथा विभिन्न कम्पनीको हकप्रद सेयर निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा समेत कार्य गरेको जनाएको छ । हाल क्यापिटलले ५१ कम्पनीको सेयर रजिस्ट्रारका रूपमा काम गरिरहेको छ । 

क्यापिटलले योजना व्यवस्थापक रही एनआइबिएल म्युचुअल फन्डअन्तर्गत तीनवटा बन्दमुखी र एक खुलामुखी म्युचुअल फन्ड योजनाहरू सञ्चालनमा ल्याइसकेको जनाएको छ । जसमध्ये एनआइबिएल समृद्धि फन्ड–१ परिपक्व भई आफ्ना इकाइधनीलाई रकमसमेत फिर्ता गरिसकेको उल्लेख छ । साथै, नयाँ बन्दमुखी योजना एनआइबिएल ग्रोथ फन्ड नेपाल धितोपत्र बोर्डमा पेस भई प्रारम्भिक समीक्षाको चरणमा रहेको जनाइएको छ ।

कम्पनीले सात सयभन्दा बढी लगानीकर्तालाई लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको तथा आफ्नो संस्थागत परामर्श सेवाअन्तर्गत ३४ कम्पनीलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । त्यस्तै, तीन लाख ग्राहकलाई डिम्याट खाता तथा दुई लाख २५ हजार ग्राहकलाई मेरो सेयर सेवासमेत प्रदान गर्दै आइरहेको जनाएको छ । 

सुझावित समाचार