अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केन आगामी साता केही दक्षिणपूर्वी एसियाली र अफ्रिकी मुलुकको भ्रमणमा निस्कने भएका छन् । कम्बोडिया, फिलिपिन्ससहितका एसियाली देशको भ्रमण सकेर उनी दक्षिण अफ्रिका, प्रजातान्त्रिक गणतन्त्र कंगाे र रुवान्डा प्रस्थान गर्ने कार्यक्रम रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
दक्षिणपूर्वी एसियाली देशहरूको संगठन (आसियान)का तीनवटा बेग्लाबेग्लै मन्त्रीस्तरीय बैठकमा सहभागी हुन विदेशमन्त्री ब्लिङकेन आगामी बुधबार कम्बोडियाको राजधानी नोमपेन पुग्नेछन् । कम्बोडिया आसियान मन्त्रिस्तरीय बैठकको आयोजक मुलुक हो । कम्बोडियामा विदेशमन्त्री ब्लिङकेनले आसियानमा आबद्ध देशहरूसँगको सम्बन्धलाई थप बलियो बनाउने र सहकार्य बढाउनेबारेमा छलफल गर्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। विगतमा भएका सहमति कार्यान्वयनको अवस्थाका बारेमा पनि मन्त्रीस्तरीय बैठकमा समीक्षा हुने बताइएको छ । अमेरिका र आसियानबीचको सम्बन्धलाई व्यापक रणनीतिक साझेदारीमा अघि बढाउन गत मे महिनामा वासिङ्टनमा भएको सहमतिअनुरूप ब्लिङकनको यो भ्रमण हुन लागेको हो ।
कम्बोडियाबाट उनी फिलिपिन्सतर्फ लाग्नेछन् जहाँ उनले नयाँ राष्ट्रपति र विदेशमन्त्रीलाई भेट्ने कार्यक्रम छ । दुई एसियाली देशको भ्रमण पूरा गरी उनी ७ अगस्तमा अफ्रिकी मुलुकको भ्रमणमा जानेछन् । अमेरिकी विदेशमन्त्रीले अफ्रिकी नेताहरूसँग साझा चासोका अन्तर्राष्ट्रिय विषयका साथै जलवायु परिवर्तन, मानवअधिकार, रुस–युक्रेन युद्धलगायत समसामयिक मुद्दामा विचारविमर्श गर्ने बताइएको छ ।