बाबुरामको पार्टीको नाम ‘नेपाल समाजवादी पार्टी’, नेतृत्व टुंगिन बाँकी

शुक्रबार, १३ साउन, २०७९
डिजिटल संस्करण

जसपामा समानान्तर गतिविधि गर्दै आएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पार्टीको नाम ‘नेपाल समाजवादी पार्टी’ हुने तय भएको छ । जसपा विवाद चुलिएका वेला भट्टराईनिटक दीपक लामिछानेले गते ५ फागुनमा दर्ता गराएको समावेशी लोकतान्त्रिक पार्टीको नाम बदलेर नेपाल समाजवादी पार्टी बनाइएको छ । परिवर्तित पार्टीको नेतृत्वको टुंगो लाग्न बाँकी छ । 

नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा बिहीबार दर्ता भएको भट्टराईनिकट नेता विश्वदीप पाण्डेले जानकारी दिए । पार्टी पुनर्गठनको अपिल गर्दै आएका भट्टराईले विवादको कानुनी छिनोफानो नभई नयाँ पार्टी दर्ता गरेका हुन् । नाम परिवर्तन गरेर नयाँ दल दर्ता भए पनि अध्यक्षलगायत केन्द्रीय सदस्य भने अद्यावधिक भइसकेका छैनन् । 

पाण्डेले निर्वाचन आयोगले समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी र चुनावचिह्न आँखालाई अद्यावधिक गरेको जानकारी दिए । समावेशी लोकतान्त्रिक पार्टीको चुनावचिह्न आँखा थियो । 

केन्द्रीय समितिको पुनर्गठनलगायतका काम बाँकी नै रहेको छ । छिटै केन्द्रीय समिति पुनर्गठन गरी भट्टराईको नेतृत्वमा ल्याउने काम हुने एक सदस्यले जानकारी दिए । गत असारमा वीरगन्जमा बसेको जसपा बैठकले भट्टराईलाई कार्यकारिणी अध्यक्षबाट पदमुक्त गरेको थियो ।  

भट्टराईको दल अदलबदल
बाबुराम भट्टराईले ३ असोज ०७२ मा संविधान जारी भएपछि माओवादी त्यागेको घोषणा गरेका थिए । संवैधानिक समितिका सभापतिको रूपमा भट्टराईले संविधान निर्माणको नेतृत्व गरेका थिए । परम्परागत कम्युनिस्ट पार्टीको सान्दर्भिकता सकिएको निष्कर्षसहित भट्टराईले संविधान जारी ६ दिनपछि देशलाई समृद्धिको यात्रामा हिँडाउने वैकल्पिक पार्टीको आवश्यकता औँल्याउँदै माओवादी पार्टी परित्याग गरेका थिए । 

माओवादीसहित पुराना पार्टीको औचित्य समाप्त भएको निष्कर्षसहित भट्टराईले ३० जेठ ०७३ मा नयाँ शक्ति पार्टी गठन गरेका थिए । तर, चुनावमा अपेक्षा गरेअनुरूप मत नआएपछि नयाँ शक्ति पार्टी चलाउन भट्टराईलाई कठिन भएको थियो । 

नयाँ पार्टी घोषणा गरेको तीन वर्षपछि भट्टराईले उपेन्द्र यादवको पार्टी संघीय समाजवादी फोरमसँग एकताको हात अघि बढाएका थिए । दुई पार्टी मिलाएर २३ वैशाख ०७६ मा समाजवादी पार्टी नेपाल घोषणा भएको थियो । 

समाजवादी पार्टी विभाजनको खतरा देखेपछि राष्ट्रिय जनता पार्टी राजपासँग १० वैशाख ०७७ मा रातारात एकीकरण गरेर जनता समाजवादी पार्टी (जसपा) बनाइएको थियो । जसपाबाट महन्थ ठाकुर, राजेन्द्र महतोहरू अलग्गिएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरिसकेका छन् ।

सुझावित समाचार