गठबन्धन सरकार सञ्चालन गर्ने दलका प्रमुख नेताहरूको भनाइ छ– अहिले नेपाल र भारतबीच कुनै समस्या छैन । सम्बन्ध स्थिर र सुमधुर छ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसँगको सम्बन्धमा अलिकति पनि उत्तेजना आउन दिएका छैनन् । उनी भारतका भरोसायोग्य मित्र बनेका छन् । गठबन्धनका अर्का प्रमुख नेता तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भर्खरै भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डाको दिल्ली भ्रमणको निम्तो मानेर सन्तुष्ट भावमा फर्किएका छन् ।
गठबन्धन सरकार र भारत नजिक आएकामा एमाले प्रतिक्रियात्मक हुने अन्दाज गरिएको थियो राजनीतिक वृत्तमा । तर, त्यस्तो प्रतिक्रिया आएन । यद्यपि, नेपाल र भारतका साँध सिमाना मिचिएका प्रश्नहरू वेलावेलामा उठी नै रहेका हुन्छन् । यो पक्ष दुवै देशका आँखामा बिझाउने गरेको छ । एक समय यस्तो पनि थियो– पूर्वको मानेभञ्ज्याङदेखि पश्चिमको महाकाली नदीको मुहानसम्म, दर्जनभन्दा बढी ठाउँमा, नेपाल र भारतका साँध सिमानामा किचकिच र कचिंगल भइरहन्थ्यो । सिमानाका समस्याहरू अहिले त्यति व्यापक छैनन् होला ।
अहिलेको समयमा नेपाल र भारतबीच वेलावेलामा बल्झिने संवेदनशील समस्या भनेको कालापानी हो । कालापानीलाई समावेश गरेर बनाइएको नेपाली नक्साको अनुमोदन नेपालका सबै राजनीतिक दलले गरिसकेका छन् । भारतले यसबारे कुनै प्रतिक्रिया दिएको छैन । नेपालले पनि भारतको प्रतिक्रिया चाहेको छैन । चुच्चे नक्सा तत्कालीन नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको फित्तुर थियो । उनको यस फित्तुरमा कांग्रेसका मीनेन्द्र रिजालदेखि गगन थापासम्म निकै रमाएका थिए । कालापानी घटना थियो, परिणाम होइन । खुला सिमाना भएका देशहरूमा यस्ता घटना सामान्य मानिन्छन् । विद्वान्हरू भन्छन्– यस्तो हुन्छ र भइरहन्छ । विद्वान्हरूले भनेपछि होला पनि । गाउँघरका खेतबारीको साँध सिमाना मिचियो भने छिमेकीबीच रडाको मच्चिन्छ । कतिपय अवस्थामा रडाको अदालत छिर्छ ।
नेपाल–भारत छिमेकी गाउँजस्तै हुन् । दुई देशका जनता सकेसम्म मिलेर बसौँ भन्छन् । तर, मिल्दैनन् । आफ्नो देशको सीमा मिचिएको सुन्दा नेपाली जनताको ‘कमलो’ र ‘भावुक’ मन कटक्क काटिइहाल्छ । युद्ध र प्रतिरोधका लागि दह्रो मुटु चाहिन्छ । कमलो र भावुक मनले कालापानी वा नालापानी कतै पनि युद्ध जित्न सकिँदैन । अहिले त्यस्तै भएको छ । कालापानीमा उहिले राजा महेन्द्रको पालादेखि ‘मिचिएको’ वा ‘मिच्न दिइएको’ सीमाको कुरा उठेदेखि नै जनता उद्वेलित छन् । तर, उनीहरूको उद्वेलन मात्रले केही हुने होइन ।
कालापानीमा भारतको उपस्थितिविरुद्ध सामाजिक सञ्जालमा कतै एक टुक्रा पनि खाली ठाउँ नछोडी नेपालीले सक्रिय विरोध गरेका छन् । सुदूरपश्चिममा महाकाली नदीको नेपालतर्फको सानो टुक्रो ‘कालापानी’ भारतीय नक्सामा भारतकै भूमिका रूपमा देखाइएपछि आक्रोशित भएका नेपाली जनताको कमलो मन पीडाले छियाछिया भएको छ । यो ठट्टाको विषय होइन । देशको सीमामा विदेशीको अतिक्रमण देशवासीका लागि सुखद हुन सक्दैन । त्यसमा पनि नेपालीका लागि त यो कहिल्यै ‘सह्य’ भएको छैन ।
नेपालको नक्सामा कालापानी क्षेत्र समावेश गराएर नेपाली संसद्बाट चुच्चे नक्सा सर्वसम्मत पारित गराएपछि यस क्षेत्रको हाम्रो सिमानाभित्र जाने र बाहिर निस्किने दुवै साँचो हराएका छन्
कालापानीलाई भारतीय नक्सामा देखाइएपछि दुःखी भएका नेपाली जनताले भावनाको आँसु बहाए । आँसुले कतिका आँखा भिजे ? कतिका भिजेनन् ? कसैले भन्न सक्दैन । जसले जित्छ, उही सिकन्दर हुन्छ भन्ने मान्यताबाट पन्छिइसकेका छन्, अहिलेका नेपाली जनता । तर, जित्ने कसरी ? त्यसको मेसो पाएका छैनन् । पृथ्वीनारायण शाहले मल्ल राजाहरूको टुक्राटाक्री ‘साम्राज्य’लाई जोडजाड गरेर सिंगो राष्ट्र बनाए । तर, उनै शाहका सन्ततिले सुशासन गर्न सकेनन् ।
शाह खानदानका सदस्यहरू कोही विलासी भएर सकिए भने कोही बहुलाएर सकिए । त्यसपछि आएका जंगबहादुर र उनका भाइ–खलकले एक सय चार वर्षसम्म शासन चलाए । राणाहरूले आफ्नो हुर्मत लिएको महसुस गरेपछि राजा त्रिभुवन लैनचौरस्थित भारतीय दूतावासमा शरण लिन गए । त्यसो नगरेर उनले देशभित्रै कांग्रेसले चलाइरहेको राणाविरोधी आन्दोलनलाई सघाएका भए के हुने थियो होला तत्कालीन नेपालको भविष्य ? किन हरेक क्रय–विक्रयको समयमा नेपालको समस्या समाधानका लागि भारतको सहयोग र सदाशयता खोजिन्छ ? इतिहासकारले यसको विश्लेषण गरेका छैनन् ।
देश क्रान्तिको रापमा रन्किएका वेला राजा त्रिभुवनले मोहनशमशेर र उनले प्रतिनिधित्व गर्ने जहानियाँ शासनलाई बर्खास्त गरेर तत्काल जनप्रतिनिधिको शासन सुरु गरेको भए त्यो ठूलो साहस मानिन्थ्यो । त्यसो भएको भए पनि सम्भवतः नेपाल–भारत सीमाका सानातिना कचिंगल रही नै रहने थिए । जसोतसो देशको शासनमा प्रजातान्त्रिक व्यवस्था त स्थापित भयो । तर, राजाले त्यो प्रजातान्त्रिक व्यवस्थालाई झन्डै दश वर्ष मुसो खेलाएझैँ खेलाए । हो, उनले जित्न सकेनन् । परिणामस्वरूप देशमा चुनाव भयो । निर्वाचित सरकारले अठार महिना राज ग¥यो । त्यसपछि राज्यको डाडुपन्यु राजाले जबर्जस्ती आफ्नै हातमा लिए ।
अहिले हाम्रो देश अप्ठेरोमा छ । तत्कालीन नेकपाका एकछत्र प्रधानमन्त्री केपी ओलीले नेपालको नक्सामा कालापानी क्षेत्र समावेश गराएर नेपाली संसद्बाट त्यो नक्सा सर्वसम्मत पारित गराएपछि नेपालीका लागि महाकाली मुहानका ढोकामा ताल्चा मारिएबराबरको स्थिति छ । वार्ताको साँचो न भारतीय पक्षको हातमा छ, न नेपाली पक्षको हातमा । सिमानाभित्र जाने साँचो पनि हराएको छ । सिमानाबाट बाहिर निस्किने साँचो पनि हराएको छ ।
नेपालका सेनापतिले देशको रक्षा गर्न भारतसँगको सिमानामा काँडेतारको बार लगाउनुपर्ने प्रस्ताव गरेका छन् । कठै, नेपालका प्रधान सेनापति ! गणतन्त्र नेपालका पहिलो निर्वाचित प्रधानमन्त्रीका रूपमा पुष्पकमल दाहाल प्रचण्डले प्रधान सेनापति रुक्माङगत कटुवाललाई बर्खास्त गर्न खोज्दा कटुवालले भारतीय प्रधान सेनापति दीपक कपुरलाई पहिलो सूचना दिएको सम्झना किन पातलिँदैै गएको छ नेपाली दिमागबाट ? हामीले त्यसको अन्तर्य किन बुझ्न सकेका छैनौँ ? हामी आवेशमा देशको झन्डा उचालेर चर्का नारा लगाउन त सधैँ तयार हुन्छौँ । तर, त्यसको परिणामस्वरूप हाम्रो आफ्नै झन्डा अपमानित हुन्छ भन्ने सोच्न बिर्सिन्छौँ ।
अहिले विवादमा रहेको नेपाल–भारतको उत्तर–पश्चिम सीमाको कालापानी क्षेत्र सात दशकअघि भारतको सुविधाका लागि भारतलाई दाइजो दिने को थिए ? यसको छिनोफानो नभएसम्म सीमा क्षेत्रमा भएको ‘बल मिच्याइँको’ पनि छिनोफानो हुँदैन । असली बहस त त्यसपछि मात्रै सुरु हुन्छ । हो, राज्य र राजनीतिको अन्तर्य नबुझेका नेपाली जनता अन्योलमा छन् । बाहिरी आवरणमा एक्काइसौँ शताब्दीको चमकधमक देखिए पनि नेपाल प्राचीन अवस्थामै छ । हामी संस्कृतिको अद्भूत मिश्रणबीच बाँचेका छौँ । हामीलाई हाम्रा अस्पतालका डाक्टरहरू कथाका जामुन गुभाजुजत्तिकै चामत्कारिक हुनुपर्छ । जामुन गुभाजुकी श्रीमतीले आफ्नो गोडा चुलोमा दाउराझैँ बालेर खाना बनाउँथिन् रे ! हामी निरन्तर त्यही कथा पढेर हुर्किएका हौँ । ढिलोचाँडो हामीपछिको पिँढीले यो कुरा बुझ्नेछ । उसले यो कुरा बुझ्नै पनि पर्छ । अरू कुरा नबुझे पनि यत्तिचाहिँ बुझ्नुपर्छ, कालापानीमा अरू कसैको कब्जा छ र अरू कसैको दाबी छ भने त्यो ठीकै छ । किनभने, कालापानी हाम्रो हो । यो सानो बस्तीविनाको बस्ती हामीलाई छाडेर कहीँ जानेवाला छैन ।
हाम्रा सेनापतिले छाती फुलाएर कालापानीलगायत देशका अन्य भूभाग जोगाउन सिमानामा काँडेतार लगाउने विचार व्यक्त गरेकाले यो स्तम्भकारमा जोस चढेको होइन । त्यो कालापानी नेपाली स्वामित्वको बस्ती हो । त्यसैले त्यसको अस्तित्व रहन्छ । हाम्रा सेनापति त्यहाँ काँडेतार लगाउन गए भने हाम्रो विनाशको प्रारम्भ पनि त्यहीँबाट सुरु हुन्छ । कवि वासु शशिले आफ्नो प्रसिद्ध कवितामा भनेका छन्– पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ ।
अहिलेको परिस्थितिमा हाम्रो विनाश दक्षिण एसियाकै विनाश हो । यति संवेदनशील अवस्थामा यस्तो दबंग कुरा किन सोचे नेपालका सेनापतिले ? यी सेनापतिको कतिसम्म भरोसा गर्ने जनताले ? हाम्रो पूरै पिँढी आन्दोलन र अविश्वासबीच हुर्किएको हो । त्यतिवेलाको आन्दोलनको एउटा पक्ष प्रजातान्त्रिक अधिकार पुनस्र्थापनाका लागि सक्रिय हुने गथ्र्यो । अर्को पक्ष आन्दोलनमा हुँदाहुँदै पनि सरकारसँग विश्वासको सम्बन्धमा रहने गथ्र्यो । एउटा पक्षलाई अर्को पक्षले भन्थ्यो : ‘दिल्लीमा पानी पर्दा रत्नपार्कमा छाता ओढ्नेहरू ।’ जवाफमा ‘बेइजिङमा पानी पर्दा यहाँ छाता ओढ्नेहरूलाई’ देखाउँथ्यो अर्को पक्षले । अनौठो अवस्था थियो त्यो ।
प्रजातान्त्रिक शासनको आगमनपछि काठमाडौं बसेर हुकुम र हैकमसाथ सरकार चलाउने र प्रतिपक्षमा बस्ने नेताहरूले कहिल्यै नालापानी, कालापानी, सुस्ता, टिस्टा र मानेभञ्ज्याङ सोचेको पाइएन । ०४७ देखि आजसम्मको समयमा नेपालका नेताले भारतबाहेक अरू देशको यात्रा नै गरेनन् । एकताका नेपालका विभिन्न सहरमा दिनहुँजसो नारा लाग्थ्यो–महाकाली नदी साझा हो, पानी आधा–आधा हो । हालै मात्र एउटा तस्बिरमा नहरबाट नेपाल आउने र भारत जाने पानीको बहाव देखाइएको थियो । नेपालतिरको नहरमा आधा होइन, आधा चौथाइ पानीको बहाव पनि देखिएको थिएन । तस्बिर हेर्दा आधा–आधाको नारा खेर गएजस्तो लाग्नु अस्वाभाविक थिएन । एउटा समय त्यो पनि आएको थियो : जब महाकाली बृहत् आयोजनाको परिकल्पना गरिएको थियो । त्यो परिकल्पनाका मुख्य पात्र अहिले प्रधानमन्त्री छन् । अर्का प्रमुख पात्र प्रमुख प्रतिपक्षी नेताको आसनमा छन् ।
देशका नेताहरूमा अभिमान त प्रशस्त देखिन्छ । तर, यो कस्तो अभिमान हो कि क्रय–विक्रयको अवस्थामा समेत उनीहरू आ–आफ्नो दम्भमा चुर्लुम्म डुबेका छन् । मूलधारमा रहेका दलका ठूला–साना सबै तहका नेताले देशका सहरबजारमा रहेका जनताका दुःख र पीडाको अनुभूतिसम्म गर्दैनन् भने तराई, मधेस, काँठ, कछाड, भिरपाखाका समस्या कसरी हेर्न सक्छन् ? उनीहरूको काम खालि बोल्ने मात्र हो । तर, बोलेर मात्रै के हुन्छ ?
कसैले भन्ला, कालापानीको बेसीमा सञ्चालन हुने परियोजनाको असर कसरी कालापानीसम्म आइपुग्ला ? हो, यो अर्को महत्वपूर्ण प्रश्न होे । अब त्यो आयोजना पछिल्लो सिटमा तानिएको छ । टनकपुर जलविद्युत् परियोजनाको पारितोषिक नेपालले पाइसकेको छ । ‘ठुल्दाइ’ले आफ्नो ‘कान्छो भाइ’माथि त्यस्तो खास केही अन्याय वा थिचोमिचो गरेको छैन कि निरन्तर चित्त दुखाइराख्नु परोस् । सरकार बनाउने सर्वदलीय उपक्रम यो कुरा सल्टाउन चाहन्छ भनिदिऊन् प्रधानमन्त्री देउवाले । किनभने, नेपाल चुच्चे नक्साको ह्यांगओभरबाट बाहिर निस्किनु अहिलेको आवश्यकता बनेको छ ।
बितेको ६५ वर्षदेखि ‘कालापानी–लिपुलेक–लिम्पियाधुरा’को ३७० वर्गकिलोमिटर नेपाली स्वामित्वको जमिनसमेत मिचिने हिसाबले भारतले एकलौटी नक्सांकन गरेको कुरा लेख्दै छन् नेपालका सञ्चारमाध्यम । उताबाट आएका समाचारमा भारतीय सैनिकले टाउको लुकाउने पाल नेपालतिरै टाँगेको बताइएको छ । यो असत्य होइन । यसलाई कसरी अप्रमाणित साबित गर्ने ? प्रश्न यति मात्रै हो ।