भदौ १ देखि बञ्चरेडाँडामा फोहोर लान नदिने स्थानीयको घोषणा

बिहिबार, १२ साउन, २०७९
डिजिटल संस्करण
भदौ १ देखि बञ्चरेडाँडामा फोहोर लान नदिने स्थानीयको घोषणा

फाइल फाेटाे

बञ्चरेडाँडावासीले आगामी भदाै १ देखि काठमाडौं उपत्यकाको फोहोर यहाँ फाल्न नदिने भएका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बञ्चरेडाँडा संघर्ष समितिले भदाै १ देखि सदाका लागि फोहोर विसर्जन अन्त्य गर्ने घोषणा गरेको हो।

यसअघिका सहमति कार्यान्वयन नगरेर सिंहदरबार र बागदरबारले षड्यन्त्र गरेकाले अब सदाका लागि फोहोर विसर्जन कार्य अन्त्य गर्न लागिएको समितिका संयोजक श्रीराम ढुंगानाले पत्रकार सम्मेलनमा बताए। ‘अब आउने दिनमा यो वा त्यो बहानामा हामीले उहाँहरूलाई छुट दिन सक्ने अवस्था छैन। उपत्यकाभित्र यो र अन्य नगरपालिकाका अधिकारीलाई हामी के भन्छौँ भने तपाईंहरूको सत्ताका लागि, तपाईंहरूको विरासतका लागि, तपाईंहरूको अभीष्ट पूरा गर्नका लागि त्यस क्षेत्रका लाखौँ जनतालई अब फोहोरमैलाको बलीवेदीमा चढाएर समाप्त गर्न सकिँदैन,’ ढुंगानाले भने।

नुवाकोट र धादिङका जनताले कुनै अवरोध नगरे पनि पछिल्लो १० दिनदेखि माफियाका नाइकेहरूका कारण काठमाडौंको फोहोर नउठेको उनको आरोप छ। समितिले मानव बस्तीरहित ल्यान्डफिल साइट विकास क्षेत्र वा फोहोरमैला प्रदूषणरहित मानव बस्ती विकास क्षेत्रमध्ये एउटा रोज्न सरकारलाई विकल्पसमेत दिएको छ।

सुझावित समाचार